२०८३ श्रावण २४

अस्ट्रेलिया एसेज सिरिजमा ४-१ ले विजयी

काठमाडौँ । अस्ट्रेलियाले एसेज सिरिज ४-१ ले जितेको छ । सिरिजको को पाँचौं तथा अन्तिम टेस्टमा अस्ट्रेलियाले ५ विकेटले जितेर सिरिज ४-१ ले जितेको हो ।

टेस्टको पाँचौं दिन इङल्याण्डले दिएको १६० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर पुरा गरेको हो ।  

यसअघि इङल्याण्डले आफ्नो दोस्रो इनिंगमा ३४२ रन बनाएर अलआउट भएपछि अस्ट्रेलियाले १६० रनको लक्ष्य पाएको थियो । अस्ट्रेलियाले पहिलो इनिंगमा ५६७ रन बनाएर अलआउट भएको थियो । यस क्रममा स्टिभ स्मिथले १३८ र ट्राभिस हेडले १६३ रन बनाएका थिए । 

यस टेस्टमा इङल्याण्डले पहिला ब्याटिंग गर्दै जो रुटको १६० रनको शतकीय पारीको मद्धतले ३८४ रन बनाएको थियो । 

५ खेलको सिरिज अस्ट्रेलियाले शुरुका तीन टेस्ट लगातार जितेर सिरिज आफ्नो नाममा गरेको थियो भने चौथो टेस्ट इङल्याण्डले जितेको थियो । यो सिरिज सकिएसँगै अस्ट्रेलियाका ब्याट्सम्यान उसमान ख्वाजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले यसअघि नै यो टेस्ट आफ्नो क्यारियरको अन्तिम टेस्ट भएको घोषणा गरेका थिए ।  

Read More

बार्सिलोना स्पेनिस सुपरकोपाको फाइनलमा

काठमाडौँ । बार्सिलोना स्पेनिस सुपरकोपाको फाइनलमा पुगेको छ ।

साउदी अरेबियामा जारी स्पेनिस सुपर कोपाको सेमिफाइनलमा बार्सिलोनाले एथलेटिक क्लबलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

गएराती सम्पन्न खेलमा बार्सिलोनाका लागि राफिन्हा र फेरान टोरेजले २-२ र रूनी बार्डघजीले एक गोल गरेका थिए ।

अब बार्सिलोनाले प्रतियोगिताको फाइनलमा आज राति हुने दोस्रो सेमीफाइनल खेल रियल म्याड्रिड र एटलेटिको म्याड्रिडबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल जनवरी ११ मा हुने छ ।

Read More

फुलह्यामसँग चेल्सी स्तब्ध

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी पराजित भएको छ । गएराती सम्पन खेलमा फुलह्यामले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

फुलह्यामको जितमा राउल जीमेनेज र ह्यारी विल्सनले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल लियाम डेलापले गरेका थिए । यस खेलमा खेलको २२औं मिनेटमा मार्क कुकूरेलाले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।

यो हारपछि चेल्सीको २१ खेलमा ३१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ । त्यस्तै फुलह्यामको पनि २१ खेलमा ३१ अंक भएको छ र नवौं स्थानमा उक्लिएको छ ।

त्यस्तै गएराती नै भएका खेलमा म्यानचेस्टर युनाईटेड बर्नलीसँग २-२ को बराबरीमा रोकिएको छ भने न्यूक्यासलले लिड्स युनाईटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै टोटनह्याम बोर्नमाउथसँग ३-२ ले पराजित भएको छ भने म्यानचेस्टर सिटी ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

Read More

भारतमा हुने क्योकूशिन र फुलकन्ट्याक्ट कराते प्रतियोगितामा ४० खेलाडी सहभागी हुदै

काठमाडौँ । भारतको कोलकोत्तमा हुने खुल्ला फूलकन्ट्याक्ट क्योकूशिन कराते च्याम्पियनसिप र आसाममा हुने चौथो अन्तर्राष्ट्रिय ओपन फुलकन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडीहरुलाई विदाई गरिएको छ । 

परिषदका सदस्य सचिव राम चरित्र मेहताले एक कार्यक्रममा खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेका हुन् । 

दुबै च्याम्पियनसिप पुस २६ र  २७ गते सन्चालन हुदैछन् । कोलकोत्तामा हुने च्याम्पियनसिपमा ७ जना महिला र १० जना पुरुष खेलाडी सहित २२ जना सहभागी हुने छन भने आसामको च्याम्पियनसिपमा २० जना पुरुष र ११ जना महिला खेलाडी सहित ४० जना सहभागी हुने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ  ।

Read More

अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलको समीकरण पुरा

काठमाडौँ । जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

राउण्ड १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्न ८ देशको टुंगो लागेको हो । अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुग्ने देशमा माली, सेनेगल, इजिप्ट, आइभरी कोष्ट, क्यामरुन, मोरक्को, अल्जेरिया र नाइजेरिया रहेका छन् ।

अब क्वाटरफाइनलमा माली र सेनेगल, इजिप्ट र आइभरी कोष्ट, मोरक्को र क्यामरुन तथा अल्जेरिया र नाइजेरिया खेल्दैछैन । क्वाटरफाइनलका खेल जनवरी ९ र १० मा हुने छन् ।

अफ्रिका कप अफ नेसन्सका सेमिफाइनलका खेल जनवरी १४ र फाइनल जनवरी १८ मा हुने तालिका रहेको छ ।

Read More

प्रेमिकासँग विवाहको तयारीमा शिखर धवन

काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्व स्टार ओपनर शिखर धवन आफ्नो जीवनको नयाँ चरण सुरु गर्न लागेका छन् ।

मिडिया रिपोर्टका अनुसार, शिखर धवनले फेब्रुअरीमा आफ्नी प्रेमिका सोफी शाइनसँग विवाह गर्न लागेका हुन् । विवाह फेब्रुअरीको तेस्रो हप्तामा दिल्ली-एनसीआरमा हुने बताइएको छ । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, विवाहको तयारी तीव्र गतिमा भइरहेको छ । 

सोफी शाइन एक आयरिश नागरिक हुन् र हाल शिखर धवन फाउन्डेसनमा काम गर्छिन । यो फाउन्डेसन शिखर धवनको खेलकुद तथा सामाजिक भेन्चर्स समूहको परोपकारी शाखा हो । सोफीलाई सामाजिक कार्यमा गहिरो रुचि छ र केही समयदेखि धवनको व्यावसायिक र व्यक्तिगत यात्राको अभिन्न अंग रहिआएको छ ।

रिपोर्टका अनुसार, शिखर धवन र सोफी शाइनको केही वर्षअघि दुबईमा भेट भएको थियो । सुरु भएको मित्रता बिस्तारै प्रेममा परिणत भयो । यी दुई विगत एक वर्षदेखि सँगै बस्दै आएका छन् र आफ्नो भविष्यको बारेमा गम्भीर छन् । सोफीलाई आईपीएल २०२४ को खेलहरूमा पनि शिखरसँग देखिएको थियो ।

आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को समयमा शिखर धवनलाई सोफी शाइनसँग स्ट्यान्डमा देख्दा यो सम्बन्ध पहिलो पटक चर्चामा आएको थियो । पछिल्ला समयमा सामाजिक सञ्जालमा दुईका तस्बिर र भिडियो आइरहेका छन् ।

हालैको सार्वजनिक सम्मेलनको क्रममा, शिखर धवनले नाम नलिई आफु सम्बन्धमा रहेको र नयाँ जीवन शुरु गर्न लागेको बताएका थिए ।

शिखर धवनको पहिले अष्ट्रेलियामा बस्ने आयशा मुखर्जीसँग विवाह भएको थियो । यस सम्बन्धबाट उनीहरूको ११ वर्षीय छोरा जोरावर धवन छन् । सम्बन्ध विच्छेद पछि, शिखर लामो समयसम्म आफ्नो व्यक्तिगत जीवनको बारेमा मौन रहेका थिए । धवनले आयशाले उनलाई आफ्नो छोरा जोरावरलाई भेट्न नदिएको आरोप लगाएका थिए ।

Read More

इजिप्ट र नाइजेरिया अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा

काठमाडौँ । इजिप्ट र नाइजेरिया जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न खेलमा इजिप्टले बेनिनलाई ३-१ गोल अन्तरले पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।  निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेल ३० मिनेट अतिरिक्त खेलाइएको थियो ।

इजिप्टको जितमा मारवान अट्टीया, यासर इब्राहिम र मोहमद सलाहले एक एक गोल गरेका थिए । त्यस्तै बेनिनका लागि एक गोल जोडेल डोससोउले गरेका थिए ।

त्यसैगरी गएराती नै सम्पन्न अर्को खेलमा नाइजेरियाले मोजाम्बिकलाई ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । नाइजेरियाको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरेका थिए भने अडेमोला लूकम्यान र अकोर एडमसले एक एक गोल गरेका थिए ।   

अब क्वाटरफाइनलमा इजिप्ट र नाइजेरियाले प्रतिष्पर्धा गर्ने छन् । जारी प्रतियोगितामा यसअघि माली, सेनेगल, मोरक्को र क्यामरुन क्वाटरफाइनलमा पुगिसकेका छन् ।

राउण्ड १६ अन्तर्गत आज अल्जेरिया र डिआर कंगो तथा आइभरी कोष्ट र बुर्किना फासो खेल्दैछन् । 

Read More

रियल बेटिसविरुद्ध रियल म्याड्रिडको फराकिलो जित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल बेटिसविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा गोन्जालो गार्सियाले ह्याट्रिक गरेका थिए । त्यस्तै राउल असेन्सियो र फ्रान गार्सियाले एक एक गोल गरेका थिए । त्यसैगरी रियल बेटिसका कुचो हेर्नानडेजले एक गोल गरेका थिए । यस खेलमा रियल म्याड्रिड आफ्ना स्टार खेलाडी किलीयन एम्बाप्पे बिना खेलेको थियो ।

यो जितपछि रियल म्याड्रिडको १९ खेलमा ४५ अंक भएको छ र शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ४ अंकले पछाडी रहेको छ । त्यसैगरी रियल बेटिसको भने १८ खेलमा २८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।

Read More

मोरक्को र क्यामरुन अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा

काठमाडौँ । मोरक्को र क्यामरुन जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न खेलमा मोरक्कोले तान्जानियालाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । मोरक्कोको जितमा खेलको ६४औं मिनेटमा ब्राहिम डियाजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

त्यसैगरी अर्को खेलमा क्यामरुनले दक्षिण अफ्रिकालाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । 

अब क्वाटरफाइनलमा मोरक्को र क्यामरुनले प्रतिष्पर्धा गर्ने छन् । राउण्ड १६ अन्तर्गत आज इजिप्ट र बेनिन तथा नाइजेरिया र मोजाम्बिक खेल्दैछन् । जारी प्रतियोगितामा यसअघि माली र सेनेगल क्वाटरफाइनलमा पुगिसकेका छन् ।

Read More

लिड्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लिड्स युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

लिड्स युनाइटेडका लागि खेलको ६२औं मिनेटमा ब्रेनडेन आरोनसनले गोल गर्दै शुरुवाती अग्रता  दिलाएका थिए । त्यसपछि म्यानचेस्टर युनाइटेडका लागि खेलको ६५औं मिनेटमा माथेस चुन्हाले बराबरी गोल गरेका थिए ।

यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको २० खेलमा ३१ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यस्तै लिड्सको २० खेलमा २२ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

Read More