२०८३ श्रावण २३

एन्फाको साधारण सभा माघ २८ मा झापामा, कार्यसमितिको निर्वाचन पनि हुने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन माघ २८ गते हुने भएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको अध्यक्षतामा बुधबार बसेको बैठकले एन्फाको साधारण सभा आउदो माघ २८ गते झापामा सम्पन्न गर्ने र संघको विधानको धारा ३१ को ‘त’ को निर्वाचनको व्यवस्था बमोजिम कार्यसमितिको अग्रिम निर्वाचन समेत गर्ने निर्णय पारित गरेको हो ।

एन्फाले आर्थिक वर्ष २०८२/८३ को लेखा परिक्षण गर्नको लागि आठवटा मध्येमा संघको लेखापरिक्षण तथा अनुपालक समितिको सिफारिस बमोजिम सुबोध एसोसिएट्सलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

Read More

सातदोबाटोमा फुटसलको उत्सव, नेपाल टोस्टमास्टर्स सिजन-३ सम्पन्न

काठमाडौँ । सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलको फुटसल मैदानमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन-३ सम्पन्न भएको छ।

डिस्ट्रिक्ट ४१ अन्तर्गतको डिभिजन ‘ए’ ले आयोजना गरेको यस प्रतियोगिता खेल मात्र नभई समुदाय, सहकार्य र आपसी सद्भावको उत्सव बनेको थियो।

प्रतियोगितामा नेपालका विभिन्न स्थानबाट आएका १२ टिम र १२० भन्दा बढी खेलाडी सहभागी भएका थिए। अनुभवी सदस्यदेखि नयाँ सदस्यसम्म सबै खेलाडीहरू प्रतिस्पर्धा र मित्रताको साझा भावनाले जोडिएका देखिन्थे। दिनभर मैदानमा स्वस्थ प्रतिस्पर्धा, आपसी सम्मान, हौसला र टिमवर्कको सुन्दर झलक देखियो।

प्रतिस्पर्धाको अन्तिम चरणमा ललितपुर लायन्स र ८८४९ एफसीबीच रोमाञ्चक फाइनल खेल सम्पन्न भयो। कडा प्रतिस्पर्धापछि ललितपुर लायन्स विजेता बन्दै च्याम्पियन ट्रफी उचाल्न सफल भयो। व्यक्तिगत विधातर्फ ८८४९ एफसीका अभिनव श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए भने बिभिएस नाइट्सकी सोनी चौरासिया उत्कृष्ट महिला खेलाडी बनिन्। त्यस्तै, ललितपुर लायन्सका सुजल साहिले सर्वाधिक गोलकर्ताको उपाधि हात पारे।

कार्यक्रमको सफलतामा क्यानन, वाल आर्टिस्ट्री इम्पेरो, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, फोन स्टोर र प्रिमियर इन्टरनेशनल स्कुल प्रायोजकको रूपमा रहेका थिए। साथै डाबर नेपाल, भिजनसाइन, नेपाल मेडिसिटी र भिजन क्रिएसन रणनीतिक साझेदारको रूपमा जोडिएका थिए। आयोजकका अनुसार स्वयंसेवकहरूको सक्रिय योगदानले प्रतियोगितालाई आत्मीय, समावेशी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता अब एक लोकप्रिय वार्षिक कार्यक्रमको रूपमा स्थापित हुँदै गएको छ। यसले खेलमार्फत मात्र होइन, सदस्यहरूबीच मित्रता, समुदाय निर्माण, नेतृत्व विकास र टिमवर्कको महत्व बुझ्ने अवसर पनि प्रदान गर्दै आएको छ। खेल मैदानमै नेतृत्व र सहकार्य कस्तो हुनुपर्छ भन्ने सन्देश दिएको यस प्रतियोगिताले समुदायलाई अझ नजिक ल्याउने काम गरेको सहभागीहरूको भनाइ छ।

Read More

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेमियन मार्टिनको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ । अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेमियन मार्टिन कोमामा गएका छन् । मेनिन्जाइटिसको कारण अस्पताल भर्ना भएका मार्टिन कोमामा गएको अस्ट्रेलियन मिडियाले उल्लेख गरेका छन् ।

५४ वर्षीय मार्टिन शुक्रबार अचानक बिरामी परेपछि उनलाई  क्वीन्सल्याण्डमा अस्पताल भर्ना गरिएको थियो । मार्टिनले अस्ट्रेलियाका लागि चार एशेज सिरिज खेलेका थिए । २००६ मा तेस्रो टेस्ट अघि उनले अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी अस्ट्रेलियाका दुई विश्वकप विजेता टोलीका सदस्य पनि थिए ।

क्रिकेट अस्ट्रेलियाका सीईओ टोड ग्रिनबर्गले मार्टिनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मार्टिनको परिवारको तर्फबाट उनका नजिकका साथी तथा पूर्व क्रिकेटर एडम गिलक्रिस्टले मार्टिन अस्पतालमा उपचार गराइरहेको जानकारी दिएका छन् ।

सिड्नी मर्निङ हेराल्डको रिपोर्ट अनुसार, मार्टिन आगामी दिनहरूमा कोमाबाट बाहिर निस्कने आशा गरिएको छ । मेनिन्जाइटिस एक संक्रमण हो, जसले हाम्रो मस्तिष्क र मेरुदण्ड वरपरको सुरक्षात्मक तह (झिल्ली) को सूजन निम्त्याउछ ।

Read More

टी-२० विश्वकप खेल्ने ओमानको टिम घोषणा

काठमाडौँ । ओमानले आइसीसी टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । ओमानले जतिन्दर सिंहको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । 

विश्वकपमा समुह बी मा रहेको ओमानको समुहमा अस्ट्रेलिया, आयरल्याण्ड, श्रीलंका र जिम्बाबे रहेका छन् । ओमानले आफ्नो विश्वकप यात्रा फेब्रुअरी ९ मा जिम्बाबेसँग खेलेर शुरु गर्ने छ ।

ओमानको विश्वकप टिममा जतिन्दर सिंह (कप्तान), विनायक शुक्ला, मोहम्मद नदीम, शकील अहमद, हम्माद मिर्जा, वासिम अली, करण सोनावले, शाह फैसल, नदीम खान, सुफयान महमूद, जय ओडेद्रा, शफिक जान, आशिष ओडेदारा, जितेन रामानन्दी र हसनैन अली शाह ।

Read More

आर्सनल विजयी, चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले शानदार जित हासिल गरेको छ भने म्यानचेस्टर युनाइटेड, चेल्सी बराबरीमा रोकिएका छन् ।

गएराती सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रियल मागालहाएज, मार्टिन जुबीमेन्डी, लीन्द्रो ट्रोसार्ड र गाब्रियल जिससले एक एक गोल गरेका थिए । त्यसैगरी एस्टन भिल्लाका लागि एक गोल ओली वाटकिन्सले गरेका थिए ।

यो जितपछि आर्सनल १९ खेलमा ४५ अंकसहित शिर्ष स्थानमा कायम रहेको छ भने एस्टन भिल्लाको १९ खेलमा ३९ अंक छ र लिगमा तेस्रो स्थानमा रहेको छ । 

गएराती नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेड वोल्भ्ससँग १-१ गोलको बराबरीमा रोकिएको छ भने चेल्सी बोर्नमाउथसँग २-२ गोलले बराबरीमा रोकिएको छ । त्यस्तै न्यूक्यासल युनाईटेडले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ भने एभार्ट नले नोट्टीङघम फोरेस्टलाई २-० ले पराजित गरेको छ ।

Read More

बराबरीमा रोकियो अल नासर

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर बरावरीमा रोकिएको छ ।  गएराती सम्पन्न खेलमा अल नासर अल इत्तिफाकसँग २-२ गोलको बराबरीमा रोकिएको हो । 

१-० ले पछि परेको अवस्थामा अल नासरले २-१ को अग्रता लिए पनि अल इत्तिफाकले गोल गर्दै खेल बराबरी गरेको थियो । 

अल इत्तिफाकका लागि दुवै गोल जर्जिनियो विजनाल्डोले गरेका थिए भने अल नासरका लागि जोआओ फेलिक्स र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।  

यो बराबरीपछि अल नासरको ११ खेलमा ३१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै अल इत्तिफाकको ११ खेलमा १६ अंक रहेको छ र हाल आठौँ स्थानमा रहेको छ ।

Read More

विश्वकप अघि श्रीलंकाले मालिंगालाई दियो बलिङ सल्लाहकारको जिम्मेवारी

काठमाडौँ । श्रीलंकाले अर्को वर्ष हुने टी-२० विश्वकप अगाडि पूर्व फास्ट बलर लसिथ मालिंगालाई महत्वपूर्ण भूमिका सुम्पेको छ । मालिंगालाई फास्ट बलिङ सल्लाहकारको रूपमा कोचिङ स्टाफमा नियुक्त गरिएको छ । श्रीलंका क्रिकेट (एसएलसी) ले नियुक्तिको जानकारी दिदै मालिंगा जनवरी २५, २०२६ सम्म छोटो अवधिको सल्लाहकारको रूपमा काम गर्ने बताएको छ ।

मालिंगा २००७ देखि २०१४ सम्म श्रीलंकाली टोलीको हिस्सा थिए । टोली २००७ र २०११ मा एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो र उनी त्यो टोलीको हिस्सा थिए । टी-२० क्रिकेटमा, श्रीलंकाले २००९ र २०१२ संस्करणमा उपविजेता बनेको थियो भने २०१४ मा मिरपुरमा भारतलाई हराएर उपाधि जितेको थियो । त्यस अवधिमा मालिंगाको योगदानले उनलाई एक किंवदन्तीको रूपमा स्थापित गरेको थियो, विशेष गरी डेथ ओभरहरूमा उनको बलिङ । श्रीलंकाले फेब्रुअरी ८ मा आयरल्याण्ड विरुद्ध २०२६ को टी-२० विश्वकपमा आफ्नो अभियान सुरु गर्ने तालिका छ । त्यसपछि समूह चरणमा अष्ट्रेलिया, ओमान र जिम्बाब्वेसँग खेल्नेछ ।

आफ्नो अन्तर्राष्ट्रिय करियरको अतिरिक्त, मलिंगासँग प्रशिक्षकको अनुभव पनि छ । उनले आईपीएलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स जस्ता फ्रान्चाइजीहरूसँग काम गरेका छन्, जसले टोलीलाई थप फाइदा पुर्‍याउनेछ । २०१४ मा टी-२० विश्वकप जितेदेखि, श्रीलंकाले त्यो सफलता दोहोर्याउन संघर्ष गरिरहेको छ र पछिल्ला तीन संस्करणहरूमा नकआउट चरणमा पुग्न असफल भएको छ ।

मलिंगाको नियुक्तिलाई टोलीको प्रतिस्पर्धात्मकता पुनर्स्थापित गर्ने र विश्वव्यापी मञ्चमा आफ्नो अग्रता पुन: प्राप्त गर्ने व्यापक प्रयासको एक हिस्साको रूपमा हेरिएको छ । श्रीलंका २०२६ को टी-२० विश्वकपको संयुक्त आयोजक हो। यो विश्वव्यापी प्रतियोगिता भारत र श्रीलंकाले सह-आयोजना गर्ने हो ।

Read More

रोनाल्डोदेखि डेम्बेलेसम्मले जिते ग्लोबल सकर अवार्ड

काठमाडौँ । यसबर्षको ग्लोबल सकर अवार्ड प्रदान गरिएको छ । दुबईमा आयोजित विशेष कार्यक्रममा विश्व फुटबलमा २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका फुटबलरलाई ग्लोबल सकर अवार्ड प्रदान गरिएको हो ।

फ्रान्स र पीएसजीका फरवार्ड उसमान डेम्बेले बर्षको उत्कृष्ट फुटबलरको अवार्डबाट सम्मानित भएका छन् । त्यस्तै महिला उत्कृष्ट खेलाडीमा स्पेन र बार्सिलोनाकी फरवार्ड एइताना बोनमति बनेकी छन् ।

त्यस्तै ग्लोबल सकरको उत्कृष्ट प्रशिक्षकको अवार्ड पीएसजीका प्रशिक्षक लुइस इनरिकले पाएका छन् ।

त्यस्तै पिएसजीका पोर्चुगल र पीएसजीका भिटीन्हाले बर्षको उत्कृष्ट मिडफिल्डरको अवार्ड जितेका छन् भने  स्पेन र बार्सिलोनाका लामिन यमलले बर्षको उत्कृष्ट फरवार्डको अवार्ड जितेका छन् । त्यस्तै डेसिरे डुएले उत्कृष्ट इमर्जिङ खेलाडीको अवार्ड जितेका छन् ।

त्यसैगरी अल नासरबाट खेलिरहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मिडल इस्टको उत्कृष्ट खेलाडीको अवार्ड दिइएको छ । त्यस्तै ग्लोबल सकर अवार्डमा पोर्चुगलले उत्कृष्ट राष्ट्रिय टिमको अवार्ड जितेको छ । यस अवार्ड कार्यक्रममा टेनिस खेलाडी नोभाक जोकोभिचलाई ग्लोब स्पोर्ट्स अवार्ड प्रदान गरिएको थियो ।

Read More

भेरोनाविरुद्ध एसी मिलानको शानदार जित

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एसी मिलानले भेरोनाविरुद्ध शानदार जित हासिल गरेको छ ।

आइतबार सम्पन्न खेलमा एसी मिलानले भेरोनाविरुद्ध ३-० गोल अन्तरले जित हासिल गरेको हो । एसी मिलानको जितमा क्रिस्टोफर एनकुनकुले २ गोल गरेका थिए भने क्रिस्टियन पुलासिकले एक गोल गरेका थिए ।

यो जितपछि एसी मिलान लिगको शिर्ष स्थानमा उक्लिएको छ । मिलानको १६ खेलमा ३५ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको इन्टर मिलानको १५ खेलमा ३३ अंक रहेको छ । त्यसैगरी भेरोनाको १६ खेलमा १२ अंक रहेको छ र लिगमा १८औं स्थानमा झरेको छ ।

Read More

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यही पुस २३ गते पोखराको न्युरोडस्थित पोखरा सभागृहमा आयोजना हुने भएको छ । यसअघि जेनजी आन्दोलनका कारण स्थगित भएको अवार्ड कार्यक्रम पोखरामा हुने भएको हो  

  आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्ट्स अवार्डका लागि आइतबारदेखि खेलाडीको भोटिङ पनि पुन: सुरू गरिएको जानकारी दिएको छ । अवार्ड कार्यक्रमको पिपल्स च्वाइस विधाको रोकिएको भोटिङ आइतबारदेखि नै सुरू भएको हो । 

सबै विधाको मनोनयन यसअघि नै भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा विजय सिन्जाली, पूजा महतो, हिमाल सुनारी, रेखा पौडेल र इभाना थापा रहेका छन् ।  

अवार्ड समारोहमा १० विधामा खेलाडी, प्रशिक्षक र उत्कृष्ट एसियाली पत्रकारले अवार्ड प्राप्त गर्नेछन् । 

जसमा परुष, महिला र युवातर्फ वर्षको उत्कृष्ट, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेका छन् । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेताले मोटरसाइकल प्रदान गरिदैछ । त्यस्तै अन्य विधाका विजेताले एक लाख पुरस्कार पाउनेछन ।

Read More