२०८३ श्रावण २२

इन्टर मियामी एमएलएस कपको फाइनलमा

काठमाडौँ । इन्टर मियामी मेजर लिग सकर (एमएलएस) कपको फाइनलमा पुगेको छ । आइतबार बिहान इन्टर मियामीले न्यूयोर्क सिटीलाई ५-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।  

इन्टर मियामीको जितमा टाडेओ आलेन्डले ह्याट्रिक गरेका थिए भने माटेओ सिल्भेटी र टेलास्को सेगोभियाले एक एक गोल गरेका थिए । त्यस्तै न्यूयोर्क सिटीका लागि जस्टिन हाकले एक गोल गरेका थिए । 

यो जितपछि इन्टर मियामी पहिलो पटक एमएलएस कपको फाइनलमा खेल्ने भएको छ । 

इन्टर मियामीले एमएलएस कपको फाइनल वेस्टर्न कन्फेरेन्सको विजेतासँग खेल्ने छ । इन्टर मियामीले अब फाइनलमा सान डिएगो र भान्कोभर ह्वाइटक्याप्सबीचको विजेतासँग खेल्ने छ ।

Read More

संस्कृति स्पोर्ट्स सम्मानद्वारा गुलशन झा सम्मानित

काठमाडौँ । संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी गुलशन झा सम्मानित भएका छन् ।

खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको कदरस्वरूप झालाई नगद १ लाख १ हजार रुपैँया नगदसहित सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता ले सम्मानपत्र र नगद रकम हस्तान्तरण गर्दै गुलशन झाले खेलकुद क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे । उनले युवा पुस्तालाई खेलकुदमार्फत अनुशासित, सक्षम र आत्मनिर्भर बनाउन यस्तो सम्मानले थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विशेष अतिथि खेलकुद पत्रकार मञ्चका प्रमुख उपाध्यक्ष प्रज्जवल वली को पनि उपस्थिति रहेको थियो । वलीले खेलकुद प्रतिभालाई प्रोत्साहन गर्ने संस्कृतिको निरन्तरता प्रशंसनीय रहेको बताउँदै संस्कृति स्कुलको भूमिकाको खुलेर प्रशंसा गरे ।

हरेक वर्ष खेलकुद पत्रकार मञ्च र संस्कृति स्कुलले संयुक्त छनौट गर्दै सहकार्य गरेको आयोजकले जनाएको छ ।

संस्कृति स्कुलले यसअघि पनि विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । यसअघि पहिलो संस्करणमा धाविका सन्तोषी श्रेष्ठ, दोस्रो संस्करणमा क्रिकेट खेलाडी कुशल मल्ल र तेस्रो संस्करणमा पलेशा गोवर्धन लाई संस्कृति स्पोर्ट्स सम्मान प्रदान गरिसकेको छ ।

साथै उक्त अवशरमा संस्कृति स्कुल का अध्यक्ष रन्जीत आचार्यले खेलकुद क्षेत्रमार्फत राष्ट्रको पहिचानलाई विश्वस्तरमा चिनाउने प्रतिभाहरूलाई निरन्तर हौसला प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read More

एनपीएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदैछ । आज कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच दिउसो ३: ३० बजेदेखि खेल हुदैछ ।

जारी एनपीएलमा कर्णाली याक्सले ४ खेलमा केवल एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ५ खेलमा ३ खेल जितेको छ भने २ खेलमा हार बेहोरेको छ ।

सोमपाल कामीको कप्तानीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल,  मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन् ।

त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।

Read More

क्यान र एमसीसीले एनपीएलमा फ्रेन्चाइजीलाई स्पिरिट अफ क्रिकेट अवार्ड दिने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्न एकसाथ आएका छन् ।

यो सम्मान निष्पक्षता, सम्मान र खेलको वास्तविक सारलाई उत्कृष्ट उदाहरण दिने फ्रान्चाइजीलाई प्रदान गरिनेछ ।

मङ्सिर १ गतेदेखि शुरु भएको एनपीएलको फाइनल मङ्सिर २७ गते हुने तालिका छ भने अहिलेसम्म आधा प्रतियोगिता सकिएको छ ।

Read More

एसीसी यू–१९ प्रिमियर कप: नेपालले सेमिफाइनलमा आज मलेसियाको सामना गर्दै

काठमाडौँ । एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले मलेसियाको सामना गर्दैछ ।

एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगिता अन्तर्गतको यो खेल नेपाली समय अनुसार बिहान १०: १५ बजेदेखि शुरु हुने छ । 

नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हासिल गर्दै नेपालले सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो। नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई ११९ रनको फराकिलो अन्तरले हराएको थियो ।

त्यस्तै आजै अर्को सेमिफाइनलमा युएई र ओमान खेल्दैछन् । 

१४ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष तीन देश एसीसी पुरुष यू-१९ एशिया कपमा छनौट हुने छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १४ सदस्यीय टिम यो प्रतियोगिता खेल्न युएई पठाएको छ । नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (विकेटकिपर), निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, किब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल र भान्स क्षेत्री रहेका छन् ।

Read More

एनपीएलमा आज पनि दुई खेल हुदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुदैछन् ।

आज पहिलो खेल पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । जारी एनपीएलमा पोखरा एभेन्जर्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको  लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यसैगरी आज दोस्रो खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेल दिउसो साढे ३ बजेदेखि शुरु हुदैछ । जारी एनपीएलमा सुदूरपश्चिम रोयल्स अपराजित रहदै लगातार चार खेल जितेर शिर्ष स्थानमा रहेको छ भने डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार तीन खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ ।

दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

त्यसैगरी अनिल शाहको कप्तानीमा रहेको जनकपुरमा आसिफ सेख, ललित राजबंशी जस्ता राष्ट्रिय टिमका खेलाडी छन् भने इमरान ताहिर, वाने प्रनिल, लाहिरु मिलान्था जस्ता विदेशी खेलाडी रहेका छन् ।    

Read More

एनपीएल: कर्णालीमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।

रोमाञ्चक खेलमा विराटनगरले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो । विराटनगरको जितमा बसिर अहमदले अविजित ६२ रनको शानदार पारी खेलेका थिए । त्यस्तै नारायण जोशीले २५, साहिल पटेलले १९ र साम हीजलेटले १६ रन बनाएका थिए ।

त्यस्तै कर्णालीका सोमपाल कामी र गुलशन झाले २-२ विकेट लिएका थिए भने पवन सराफ, नन्दन यादव, विलियम बोसिस्टोले एक एक विकेट लिएका थिए ।    

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ३ विकेट गुमाउदै १६० रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पन्चलले सर्बाधिक ६३ रन बनाए भने विलियम बोसिस्टोले अविजित ४८, गुलशन झाले २० र नाजिबुल्लाह जद्रानले १२ रन बनाए । त्यस्तै विराटनगरका बलर मर्चेन्ट डि लान्ग र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

यो जितपछि विराटनगरको ५ खेलमा ८ अंक भएको छ भने कर्णालीले ४ खेलमा तेस्रो हार बेहोरेको छ ।

Read More

राखेपका सदस्य सचिव घिसिङको बिदाई

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई बिदाइ गरेको छ ।

शुक्रबार राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सचिव डा. हरिप्रसाद लम्सालले सदस्य–सचिव टंकलाल घिसिङलाई मायाको चिनो प्रदान गरी बिदाइ गरेका हुन् । सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले आफ्नो चार वर्षे कार्यकालको प्रतिवेदन र राखेपले प्रकाशन गरेको पुस्तक हस्तान्तरण गरेका थिए ।

घिसिङको चार बर्षेकार्यकाल आजदेखि सकिदैछ । घिसिङलाई तत्कालिन मन्त्रिपरिषदले २०७८ मङ्सिर १३ गते नियुक्त गरेको थियो ।

Read More

एनपीएल: कर्णालीले यस जित्यो, विराटनगरले पहिला बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ ।

कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै विराटनगरले पहिला बलिङ गर्ने भएको छ ।

जारी एनपीएलमा कर्णाली याक्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने २ अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै विराटनगर किंग्सले ४ खेलमा ३ जित र एक हारसहित ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Read More

एनपीएल: चितवनमाथि काठमाडौँ ५३ रनले विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।

काठमाडौँले दिएको १४३ रनको लक्ष्य पछाएको चितवनले १७.२ ओभरमा अलआउट हुदै ८९ रन मात्र बनाएको थियो ।

चितवनका लागि देव खनाल र रवि भोपाराले २१-२१ रन बनाएका थिए भने सोहेल तनवीरले १८ रन बनाएको थियो । त्यस्तै काठमाडौँका बलर रशिद खानले ३ विकेट लिएका थिए भने करण केसी, मिलिन्द कुमार र शाहब आलमले २-२ विकेट लिएका थिए ।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.४ ओभरमा अलआउट हुदै १४२ रन बनाएको थियो ।

त्यस्तै काठमाडौँका लागि जोन सिम्पसनले सर्बाधिक ६० रन बनाए भने मिलिन्द कुमारले ३८ रन बनाए । त्यस्तै चितवनका बलर सोहेल तनवीरले सर्बाधिक ४ विकेट लिए भने रञ्‍जित कुमार र कमल सिंह ऐरील २-२ विकेट लिए ।

यो जितपछि काठमाडौँले ४ खेलमा २ जित र २ हारसहित ४ अंक बटुलेको छ भने चितवनले ४ खेलमा २ खेल र २ हार बेहोरेको छ ।

Read More