२०८३ श्रावण १३

जेनजी आन्दोलनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा डेभ्यु फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ । 

आइतबार सार्बजनिक ट्रेलरमा भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथावस्तुमा फिल्म आधारित रहेको संकेत गरेको छ । विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने युवाको सपना पूर नहुँदा उसले कसरी भ्रष्टाचार र बेथितीविरुद्ध आन्दोलन गर्छ भन्ने कथामा फिल्म बनेको अनुमान गर्न सकिन्छ । 

नागराज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मबाट अभिनेता गणेश उप्रेती करिब ९ वर्षपछि कमब्याक गरेका छन् । फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई लगायतको अभिनय रहेको छ ।

आगामी पौष ४ गते प्रदर्शनमा आउन लागेको यो फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् भने बाल कलाकारमा दिप्सन चिलवाल छन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको फिल्मको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले मिलेर लेखेका हुन् ।

Read More

फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

काठमाडौं । पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्ड छन् ।

तीन कलाकार रहे पनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशाका तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् । जहाँ उनको मुहार मात्रै देखिन्छ । यसले उनका जिन्दगीप्रति आशा रहेको देखाउँछ ।

सिनेमामा क्यारेक्टर झल्काउने अर्को उनको लुक्स पनि छ, जहाँ उनको हातमा सिगरेट छ । रेलिङमा उनी अडेस लागेकी छन् । जहाँ उनी तनावमा छिन् । हातका पाँचवटै औलामा औंठी छ । एउटै औँलामा दुईटा औंठी पनि देख्न सकिन्छ ।

अर्को एक ठाउँमा पनि छिन्, बेनिशा । यहाँ उनी महेश त्रिपाठीसँग टेबुलमा छिन् । आमनेसामने रहेकाले यहाँ यी दुईबीच केही संवाद भइरहेको अनुमान लगाउन सकिन्छ । ग्रिस्मा कटुवाललाई पनि पोस्टरमा देखिन्छ । उनी आँखाभरि आँसु बनाएर रोइरहेकी छन् ।

पोस्टरमा निलो लाइट छ, यो कलरले चलचित्रको नामको टोन दिने प्रयास गरेको छ । पोस्टरले आशा र निराशाबीचको कथा अथवा उताचढावपूर्ण जिन्दगीको कथा सिनेमाले भन्ने संकेत गरेको छ ।

बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट प्रदर्शन हुँदै छ । उनको यो डेब्यु निर्देशन हो । ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा  बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहेका छन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् ।

आकाश उखेडा मख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।

Read More

दिलवाले दुल्हनिया ले जायेंगे: रिलिजको ३० बर्षको अवसरमा लण्डनमा राज र सिमरनको कांस्य मूर्ति अनावरण

काठमाडौँ । बलिउडको सुपरहिट फिल्म दिलवाले दुल्हनिया ले जायेंगेको रिलिजको ३० बर्ष पुरा भएको छ । हालै, फिल्ममा मुख्य भूमिका निर्वाह गरेका शाहरुख खान र काजोलले लन्डनमा आफ्नो कांस्य मूर्ति अनावरण गरेका छन् ।

फिल्मको बहुचर्चित पोजमा पुन: निर्माण गरिएको मूर्तिले शाहरुख र काजोललाई आफ्ना पात्र राज र सिमरनको रूपमा चित्रण गरेको छ । मूर्तिको उद्घाटनको समयमा दुई स्टारहरूले सँगै फोटो खिचाएका थिए । 

शाहरुखले भनेका छन्- ‘लन्डनको लेस्टर स्क्वायरमा राज र सिमरनको कांस्य मूर्तिहरू उद्घाटन गर्न पाउँदा धेरै खुशी लागेको छ । दिलवाले दुल्हनिया ले जायेंगेको ३०औं वार्षिकोत्सवको यो उत्सव धेरै विशेष छ । यो फिल्म स्क्वायर ट्रेलमा दृश्यहरूमा चित्रित हुने पहिलो भारतीय फिल्म हो । यो सम्भव बनाउने बेलायतका सबैलाई धन्यवाद । यदि तपाईं कहिल्यै लन्डन जानुहुन्छ भने, राज र सिमरनलाई भेट्न नभुल्नुहोला । हामी चाहन्छौं तपाईं दिलवाले दुल्हनिया ले जायेंगेसँग धेरै सम्झनाहरू बनाउनुहोस् ।’

दिलवाले दुल्हनिया ले जायेंगे आदित्य चोपडाले निर्देशन गरेका थिए । यो फिल्म अझै पनि दर्शकहरूसँग प्रतिध्वनित छ । यसका पात्रहरू राज र सिमरनले हिन्दी सिनेमामा एक अद्वितीय पहिचान बनाएका छन् । यो भारतको सबैभन्दा लामो समयसम्म चल्ने फिल्म हो, जुन अझै पनि मुम्बईको मराठा मन्दिर सिनेमामा हरेक दिन देखाउने गरिन्छ ।

शाहरुख खानले फिल्मको बारेमा भनेका छन्- दिलवाले दुल्हनिया ले जायेंगे रिलिज भएको ३० वर्ष बितिसकेको जस्तो लाग्दैन । यो हिजो जस्तो लाग्छ, तर अझै पनि विश्वास गर्न गाह्रो छ । म संसारभरका मानिसहरूलाई धन्यवाद दिन्छु, जसले राजलाई यति धेरै माया दिए । कसैले कल्पना पनि गरेका थिएनन्, फिल्म मानिसहरूमा यति गहिरो रूपमा प्रतिध्वनित हुनेछ ।’

त्यस्तै अभिनेत्री काजोलले भनेकी छन्- ‘त्यसपछिको हरेक रोमान्टिक फिल्ममा  दिलवाले दुल्हनिया ले जायेंगेको थोरै अंश प्रतिबिम्बित हुन्छ । मेरो लागि, सिमरन कहिल्यै समाप्त नहुने पात्र हुन् । उनी लाखौं केटीहरूको आवाज हुन्, जसले आफ्ना आमाबाबुको आज्ञा पालन गर्छन् तर आफ्नो सपनाहरू त्याग्दैनन् । जब कसैले ‘जा सिमरन, जा’ भन्छ, यो केवल संवाद मात्र हुँदैन, यो साहस र प्रेमको शक्तिको प्रतीक बन्छ ।’

Read More

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’को विशेष कर्पोरेट शोः चलचित्रमा गणित कसरी लागू हुन्छ ?

काठमाडौं । दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ। यही सत्यलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यसहित इम्बार्क अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको छ।

अनम्याथले शिक्षक तथा अभिभावकसहित झण्डै दुईसय जनालाई काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा सामुहिक चलचित्र दृश्यावलोकनको अवसर जुराएको हो।

गणितलाई पुस्तकका सूत्रहरूमा मात्र सीमित नराखी, जीवन र सिर्जनशील उद्योगहरूमा कसरी प्रयोग हुन्छ भन्नेबारे जागरूकता फैलाउँदै आएको इम्बार्क अनम्याथले यसपटक नेपाली चलचित्र ‘परान’ मार्फत गणितीय सोचको वास्तविक उपयोगलाई झनै प्रस्ट पारेको छ।

हालै देश–विदेशमा चर्चा बटुलेको चलचित्र परान ले कथा, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशका कारण दर्शकको मन गहिरोसँग छोएको छ। फिल्मको सफल प्रदर्शनले सिर्जना, कथानक निर्माण, सिनेमाटोग्राफी, समय व्यवस्थापनदेखि दर्शकको मनोविज्ञान बुझ्नसम्म गणितीय अवधारणाहरू प्रयोग हुने रहेछन् भन्ने बुझाउन पनि अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको आयोजकले बताए।

चलचित्र ‘परान’ को कर्पोरेट शो अवलोकनपछि इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भनेः “गणितले नछुने कुनै ठाउँ हुँदैन। चलचित्र निर्माणमै पनि ढाँचागत सोच, व्यवस्था, सम्भाव्यता, गति, अनुपात, कथा–रचना र दर्शक व्यवहार विश्लेषण जस्ता तत्वहरू गहिरोसँग गणितसँग जोडिएका हुन्छन्। परान हेर्दा यी तत्वहरूको उल्लेखनीय उपयोग देखिन्छ, जसले फिल्मलाई अझ प्रभावकारी बनाएको छ।”

उनका अनुसार, इम्बार्क अनम्याथले गणितलाई डर होइन, जीवनसँग जोडिएको उपयोगी कौशलको रूपमा बुझाउने कार्य निरन्तर गरिरहेको बताए।

Read More

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो ।

चलचित्रमा नेपालको सामाजिक परिवेश र घर-घरको कथा भएकाले सबैको मन छुन सफल भएको कम्पनीले जनाएको छ । ‘वार्षिकोत्सवको अवसरमा सबै कर्मचारी एक साथ बसेर चलचित्र हेर्नु आफैँमा सकारात्मक कुरा हो, वर्षौंपछि त्यो अवसर परानले जुराइदिएको हो’,- कम्पनीकी मानव संशाधन व्यवस्थापन विभागकी प्रमुख सृष्टिना मानन्धरले भनिन- ‘सामूहिक रुपमा चलचित्र हेर्दा आफ्नोपन र पारिवारिक माहोल बनेको लाग्यो, यसले कर्मचारीहरूमा पनि सहयोग र समन्वय गर्ने भावनाको विकासमा सहयोग पुग्छ।’

चलचित्र हेरेर भावुक बनेपछि कम्पनीकी सहायक कर्मचारी रुपा देउलाले भनिन- ‘अहिलेको समयमा नेपाली समाजलाई यस्तै सन्देशमूलक चलचित्र चाहिएको छ, आफ्नै घरको कथा भनेकोजस्तै लाग्यो, कलाकारको अभिनय त झनै उत्कृष्ट छ।’ जेनरल सर्भिस डिपार्टमेन्ट लजिस्टिकका सुविन्द्र श्रेष्ठले वरिष्ठ कलाकार नीर शाहको अभिनय र कथाले मन जितेको प्रतिक्रिया दिए ।

एचइआईको कर्पोरेट शोमा निर्देशक दीपक प्रसाद आचार्य र अभिनेत्री अञ्जना बराइली पनि पुगेका थिए । नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ फिल्म जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ ।

Read More

प्रिमियरमा चलचित्र ‘अभिमन्यु: च्याप्टर–१’ को सकारात्मक प्रतिक्रिया

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । सोमबार साँझ ललितपुरस्थित लविम महलको क्यूएफएक्समा हलमा गरिएको प्रिमियरमा सिनेमा हेर्ने दर्शकले ‘अभिमन्यु : च्याप्टर–१’लाई उत्कृष्ट भनेका छन् ।

चलचित्रको सरप्राइजिङ स्टोरी, कथ्य शैली र अभिनयको अधिकांशले तारिफ गरेका छन् । प्रिमियरमा बाक्लो संख्यामा पुगेका कलाकारले सस्पेन्स थ्रिलर ड्रामाले दर्शकलाई बाँधेर राख्ने क्षमता राख्ने बताएका छन् । कौतुहलता सिर्जना गर्ने कथा सिनेमाको बलियो पक्ष भएको भन्दै त्यसमा कलाकारको कामले चलचित्रलाई थप बलियो बनाएको प्रतिक्रिया निर्देशक, कलाकार तथा निर्माताहरूले प्रतिक्रिया दिएका छन् ।

‘अभिमन्यु : च्याप्टर–१’ हेरेपछि अभिनेता दिव्यदेव पन्तले खुलेर तारिफ गरेका छन् । प्रिमियर शोमा सहभागी भएर सिनेमा  हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ‘अभिमन्यु : च्याप्टर–१’को कथावस्तु, निर्देशन र कलाकारहरूको अभिनय अब्बल रहेको प्रतिक्रिया दिए ।

कुराकानीमा दिव्यदेवले फिल्ममा महिला कलाकारहरूको प्रस्तुतिलाई विशेष जोड दिए । उनले भने, “सामान्यतया सिनेमामा महिला पात्रलाई जसरी देखाइन्थ्यो वा कन्भिन्स् गराइन्थ्यो, त्यो परम्परालाई यो फिल्मले तोडेको छ । पर्फर्मेन्सको हिसाबले यो एकदमै उत्कृष्ट छ ।”

फिल्मको मेकिङ पक्षको प्रशंसा गर्दै दिव्यदेवले निर्माता विनोद (विनोद पौडेल)को आँटको कदर गरे । उनले भने, “विनोद दाइले ‘पूर्णबहादुरको सारङ्गी’ मा जस्तै यसमा पनि ‘अन्डररेटेड’ (प्रतिभा भएर पनि ओझेलमा परेका) कलाकारहरूलाई विश्वास गर्नुभएको छ । बजारमा चलेका नाम चलेका स्टार खोज्नुको साटो उहाँले राम्रो कलाकार, राम्रो निर्देशक र बलियो कथामा लगानी गर्नुभएको छ । यसको प्रतिफल ‘अभिमन्यु : च्याप्टर–१’मा देखिन्छ ।”

‘अभिमन्यु : च्याप्टर–१’ किन हेर्ने भन्ने प्रश्नमा दिव्यदेवले दर्शकलाई ढुक्क भएर हलसम्म जान सुझाव दिए । उनले प्रिमियरमा सहभागी भएर औपचारिकताका लागि मात्र तारिफ नगरेको स्पष्ट पार्दै भने, “कलाकारले प्रिमियरमा राम्रो भनिहाल्छन् भन्ने सोच होला, तर म मनैदेखि भन्दैछु, यो फिल्मको कथाले बाँधेर राख्छ । यो फिल्म हेरेर तपाईँहरू पछुताउनुहुन्न ।”

निर्देशक सोभित बस्नेतले नेपाली सिनेमा क्षेत्रमा आएको परिवर्तनलाई विश्लेषण गर्दै भने, “अहिले जति पनि नेपाली चलचित्र बढी चलिराख्या छ, त्यसमा कलाकारको चलचित्र चलिराख्या छन् । योभन्दा पहिला स्टारका चलचित्र चल्थे, अहिले कलाकारका चलचित्र चल्न थाल्या छन् ।” उनले दर्शकले अहिले अनुहार भन्दा पनि अभिनय र प्रतिभालाई प्राथमिकता दिन थालेको बताए ।

‘अभिमन्यु : च्याप्टर–१’को कथावस्तुबारे बोल्दै उनले भने, “मज्जाले लास्टसम्म बाँधेर राख्छ । हरेक क्षण अब के हुन्छ, अब के हुन्छ भन्ने कौतुहलता फिल्ममा देखिन्छ ।”

फिल्मका मुख्य पात्र कामेश्वर चौरसियाको प्रशंसा गर्दै उनले भने, “अभिमन्युमा पनि कामेश्वरजस्तो अत्यन्त राम्रो कलाकार छ, त्यसले गर्दा यो फिल्म चल्नुपर्छ ।” उनले कामेश्वरका विगतका फिल्म रिलिज हुँदा केही घटनाहरू घट्ने गरेको भए पनि यसपटक भने राम्रो हुने विश्वास व्यक्त गरे । साथै, उनले सेभेन सिज सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’ जस्तै यो फिल्म पनि राम्रो बनाएको बताए ।

मोडल तथा अभिनेत्री अलिाशा बास्तोलाले फिल्म हेर्दा आफूलाई भित्रैबाट ‘ब्लकबस्टर’ हुन्छ जस्तो महसुस भएको बताइन् । उनले भनिन्, “हामीले जसरी साउथ इन्डियन फिल्महरू एकदम कौतुहलताका साथ हेर्छौँ, यो फिल्ममा पनि अब के हुन्छ, अब के हुन्छ भन्दै अन्तिमसम्म त्यसरी नै हेरिन्छ ।”

उनले फिल्मको सबै पक्ष ‘अथेन्टिक’ र उत्कृष्ट रहेको बताइन् । सेभेन सिज ब्यानरबाटै आफूले डेब्यु गरेको बताउँदै उनले भनिन्, “मेरो आफ्नै ब्यानर हो, मलाई एकदम मन छ, यसले ‘पूर्णबहादुरको सारङ्गी’ को रेकर्ड तोडोस शुभकामना ।”

अर्की मोडल तथा अभिनेत्री रुषा न्यौपानेले नेपालमा चलिरहेको ट्रेन्डभन्दा फरक फिल्म आएको बताउँदै यो  फिल्म हेरेर दर्शक पछुताउनु नपर्ने ग्यारेन्टी दिँदै हलसम्म आउन आग्रह गरिन् ।  उनको भनाइ थियो “नेपालमा फ्यामिली ड्रामा र सेन्टिमेन्टल फिल्म चलिरहेको बेला यो सस्पेन्स थ्रिलर र महिला केन्द्रित सिनेमा आएको छ। यसले निर्माताहरूलाई नयाँ जनरा एक्सप्लोर गर्न हौसला दिनेछ ।”

फिल्ममा अभिनेत्री लक्ष्मी बर्देवाले निर्वाह गरेको भूमिकाको तारिफ गर्दै उनले भनिन्,”उहाँले त न्याय गर्नुभएकै छ, तर बिइङ एन एक्टर (एक कलाकारको रूपमा) त्यो क्यारेक्टर देख्दा, यो रोल मैले गर्न पाएको भए हुन्थ्यो भन्ने फिल आइरहेको थियो ।”

कमेडीयन भरतमणी पौडेलले फिल्मले दाइजो प्रथाजस्तो गम्भीर सामाजिक विषयवस्तु उठाएको र सस्पेन्सले भरिपूर्ण रहेको प्रतिक्रिया दिए ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यही बिहीबारबाट रिलिज हुनेछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

प्रिमियरपछि चलचित्रका मुख्य अभिनेता कामेश्वर चौरसिया मिडियासामु निकै भावुक देखिए । लामो संघर्षपछि मुख्य भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले भने, “कलाकार बन्नको लागि स्क्रिप्ट नै चाहिदो रहेछ । अहिलेसम्म मैले जति काम गरेँ, सबैले सराहना गर्नुभयो तर लिड क्यारेक्टरको लागि एउटा बलियो लिखित दस्तावेज नै चाहिन्छ । जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ ।”

किरण श्रेष्ठले ‘अभिमन्यु : च्याप्टर–१’मा अनुभवी र दिग्गज कलाकारहरूसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरे । “तपाईंले त सोचेभन्दा राम्रो काम गर्नुभएछ नि ?” भनेर सोध्दा उनले मुस्कुराउँदै स्वीकार गरे र आफ्नो भूमिकाप्रति सन्तुष्टि जनाए । उनले आफूले गरेको मिहिनेत पर्दामा राम्रो देखिएकोमा खुसी व्यक्त गरे ।

अभिनेत्री लक्ष्मी बर्देवाले आफू यो फिल्मको सुटिङ गर्दा सुत्केरी हुने अवस्थामा (प्रेग्नेन्ट) रहेको खुलासा गरिन् । उनले स्क्रिप्ट पढ्दादेखि नै क्यारेक्टर मन परेको र शारीरिक अवस्था जटिल भए पनि फिल्मको टिम र कथावस्तु उत्कृष्ट भएकाले काम गरेको बताइन् । उनले भनिन्, “सुरुमा स्क्रिप्ट पढ्दाभन्दा पर्दामा फिल्म हेर्दा अझ राम्रो बनेको पाएँ ।”

अर्की अभिनेत्री सरिता गिरीले पुरुष प्रधान फिल्महरू बनिरहेको समयमा ‘अभिमन्यु’ महिला केन्द्रित फिल्म बनेको र पुरुष पात्रहरूले त्यसलाई सपोर्ट गरेको देख्दा खुसी लागेको बताइन् । सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।

Read More

निर्देशक राजसँग वैवाहिक बन्धनमा बाधिइन् अभिनेत्री सामन्था

काठमाडौँ । दक्षिण भारतीय सिनेमाकी चर्ची अभिनेत्री सामन्था रुथ प्रभुले वैवाहिक सम्बन्ध शुरु गरेकी छन् ।

अभिनेता नागा चैतन्यसँग सम्बन्ध विच्छेद भएको लगभग चार वर्षपछि, सामन्था रुथ प्रभुले नयाँ जीवन सुरु गरेकी हुन् । 

सामन्थाले सोमबार निर्देशक राज निदिमोरुसँग विवाह गरेको जानकारी दिएकी छन् । सामन्थाले इन्स्टाग्राममा सुन्दर विवाहका तस्बिरहरू सेयर गरेकी छन्, जसमा उनी रातो साडीमा दुलहीको रूपमा सजिएकी देखिन्छिन् । 

सामन्थाले २०१७ मा अभिनेता नागा चैतन्यसँग विवाह गरेकी थिइन् । यद्यपि, २०२१ मा उनीहरूको सम्बन्ध विच्छेद भयो । नागा चैतन्यले पछि गत वर्ष अभिनेत्री शोभिता धुलिपालासँग विवाह गरे । 

त्यस्तै निर्देशक राज निदिमोरुको पनि दोस्रो विवाह हो । राजले २०१५ मा शिमाली डीसँग विवाह गरेका थिए भने २०२२ मा डिभोर्स भएको थियो । राज चर्चित लेखक-निर्देशक जोडी राज एण्ड डिकेका राज हुन् । दुवै जना बलिवुड र दक्षिण भारतमा थ्रिलर सिनेमा र सिरिज निर्माणका लागि चर्चित छन् । दुवैले द फ्यामिली म्यान, फर्जी जस्ता सिरिज निर्माण गरेका छन् ।

Read More

बक्स अफिस रिपोर्ट: परानले कमायो १६ करोडभन्दा बढी

काठमाडौँ । नेपाली बक्स अफिसमा फिल्म परानले दर्शकलाई आकर्षित गर्नेक्रम जारी रहेको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर १३ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म १६ करोड कमाई गरेको छ । परानले अहिलेसम्म १६ करोड १६ लाख ७७ हजार ५५८ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ५ लाख ६९ हजार ७५४ टिकट बेचेको छ ।

त्यस्तै जेरी अन टपले हालसम्म १२ करोड २३ लाख ५२ हजार ३१५ ग्रस कमाई गरेको छ । त्यस्तै जेरी अन टपले अहिलेसम्म ३ लाख ९० हजार ९०४ टिकट बेचेको छ ।

त्यसैगरी जारी-२ ले अहिलेसम्म ६ करोड १९ लाख ३५ हजार ८५३ ग्रस कमाई गरेको छ । त्यस्तै जारी-२ को कुल २ लाख ६ हजार २३९ टिकट बिक्रि भएको छ ।

त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले ३ करोड ७४ लाख ९१ हजार ४६१ ग्रस कमाई गरेको छ । यस अवधिमा मन बिनाको धनले एक लाख ४३ हजार ३३५ टिकट बिक्रि गरेको छ ।

Read More

चलचित्र ‘रोल नम्बर १’ को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘रोल नम्बर १’ को छायांकन सुरु भएको छ । दुई हप्ता लामो वर्कसपपछि निर्माण टिम छायांकनमा निस्किएको थियो ।  

चलचित्रको छायांकन म्याग्दीबाट सुरु भएको निर्माण टिमले जानकारी दिएको छ । करिब डेढ महिनाको सेडुयुल रहेको निर्माता विनोद पौडेलले जानकारी दिए । चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी रहेका छन् ।

यो चलचित्रलाई जोन योञ्जनले निर्देशन गर्दैछन् । कथा पनि उनी स्वयंको रहेको छ । चलचित्र ‘रोल नम्बर १’ भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा बन्ने निर्माता पौडेलले बताए ।

सबैलाई जित्नै पर्ने, नजिते इज्जत नै हुँदैन र कक्षाको प्रथम अथवा फर्स्ट नै विद्वान हो अरु मुर्ख हुन् भन्ने कथा यो उठाउनेछ । यसअघि सार्वजनिक गरिएको फर्स्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो । उसको अगाडि निलो सर्ट लगाएका विद्यार्थी कक्षा कोठाभरी थिए । अगाडि कालोपाटी थियो । नजिकै एक शिक्षिका थिइन् । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहनेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं कार्यकारी निर्माता रहेका छन् । शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रको चिफ एडी फिरोड खड्का छन् । प्रोडक्सन डिजाइनरमा कला संग्रौला, प्रोडक्सन हेड  मनोज जोशी छन् । मदन घिमिरेको सम्पादन रहनेछ ।

Read More

अन्तर्राष्ट्रिय संगीत च्यानल एमटिभी बन्दको घोषणा- एउटा युगको अन्त्य

काठमाडौँ । चर्चित अन्तर्राष्ट्रिय संगीत च्यानल एमटिभी बन्दको घोषणा गरिएको छ । 

मनोरञ्जन कम्पनी प्यारामाउन्ट ग्लोबलले यसको पाँच प्रमुख संगीत च्यानलहरु एमटीभी म्युजिक,एमटीभी बिट्स, एमटीभी ८०, एमटीभी ९०, क्लब एमटिभी र एमटीभी लाइभ आउदो डिसेम्बर अन्त्यदेखि स्थायी रूपमा प्रसारण बन्द गर्ने घोषणा गरेको छ । 

यी च्यानलहरु विश्वभरका विभिन्न मुलुकहरू पहिलो चरणमा बेलायत र आयरल्याण्डमा, त्यसपछि अन्य युरोपेली देशहरु, अस्ट्रेलिया, पोल्याण्ड, ब्राजिल लगायत कतिपय अन्तर्राष्ट्रिय बजारहरुमा बन्द हुने बताइएको छ । 

यो कदमले करिब चार दशक लामो संगीत-च्यानल युगको अन्त्य हुन लागेको छ । एमटीभीले अब केवल आफ्नो मुख्य च्यानल एमटीभी एचडी मात्रै चलाउनेछ, जसले मुख्यतः रियालिटी शो र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गर्नेछ । 

यस बन्दका कारण डिजिटल स्ट्रिमिङ प्लेटफर्महरु जस्तै युट्युब तथा टिकटकको उदय र दर्शकहरुको संगीत-भिडियो हेर्ने शैलीमा आएको परिवर्तनलाई मानिएको छ । अब तुरुन्त आफुलाई मनपर्ने भिडियो, नयाँ गीत खोज्न र हेर्न र शेयर गर्न डिजिटल माध्यम उलब्ध रहेकाले संगीत टिभी च्यानलको सान्दर्भिकता नै सकिएको निष्कर्षसहित यी च्यानल बन्द हुन लागेका हुन् । 

एमटीभीका प्रशंसकहरु र संगीत-प्रेमीहरुका लागि यो एक ‘युगको अन्त्य’ झैं महसुस गरिरहेका छन् । किनकि यी च्यानलहरुले ८०-९० को दशकको संगीत, सङ्गीत भिडियो, लाइभ प्रदर्शन र लोकप्रिय संगीत संस्कृति निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

Read More