२०८३ श्रावण ११

चलचित्र परान ले दियो नेपाली सिनेमा पुनरुत्थानको संकेत, दर्शक र कर्पोरेट हाउस दुवैको भरोसा बढ्दै

काठमाडौँ । नेपाली चलचित्र उद्योग केही वर्षयता कथावस्तु, प्रदर्शन र दर्शक विश्वसनीयताका कारण लगातार संकटमा थियो। गम्भीर लेखनको अभाव, कमजोर निर्देशन र अनावश्यक ‘एक्सन-निर्भर’ शैलीले धेरै फिल्महरू बजारमा टिक्न नसक्ने अवस्था बनायो। यही पृष्ठभूमिमा प्रदर्शनमा आएको ‘परान’ ले पछिल्ला वर्षहरूमा दुर्लभ देखिएको दर्शकको निरन्तर आकर्षण हासिल गर्दै उद्योगलाई पुनः आशावादी बनाइदिएको छ।

दर्शकको निरन्तर रुचि-बजारमा सकारात्मक सूचक
रिलिज भएको दुई हप्ताभन्दा लामो समय भइसक्दा पनि ‘परान’ का हलहरूमा दर्शकको उपस्थिति उल्लेख्य छ।
सामाजिक सञ्जालमा यसको चर्चाले फिल्मले भावनात्मक सम्पर्क स्थापना गर्न सफल भएको देखिन्छ। ग्रामीणदेखि शहरी संरचना, युवादेखि वृद्धसम्ममा प्रतिक्रिया आएका देखिन्छन्ज-सले फिल्मको वर्ग–वर्गीय पहुँच सुदृढ भएको संकेत गर्छ।

कर्पोरेट क्षेत्रको सहभागिता-विश्वासको नयाँ आयाम
पछिल्ला वर्षमा कर्पोरेट हाउसहरू नेपाली फिल्मलाई समर्थन गर्न हिच्किचाउने प्रवृत्ति थियो। तर ‘परान’ ले यो धारणा केही हदसम्म तोडेको छ।
टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालि ले कर्पोरेट शो आयोजना गर्दै आफ्ना कर्मचारी र परिवारसहित फिल्म हेर्नु कर्पोरेट क्षेत्रका लागि ब्रान्ड–कल्चर र सामाजिक सहभागितामा आधारित नयाँ मोडेल को संकेत मानिन्छ।

जगतदम्बा मोटर्सका प्रतिनिधिहरूले फिल्मले नेपाली समाजकै यथार्थ बोकेको बताउनु, उद्योगले सामाजिक सन्देशयुक्त सामग्री तर्फ मोडिन थालेको मानिएको छ।

थीम र प्रस्तुति-स्थानीय जीवनअनुभूतिको पुनर्व्याख्या
फिल्म एक बाबुको भावनात्मक यात्रालाई केन्द्रमा राख्छ, जसले जीवनको उत्तरार्धमा सन्तानसँगको दूरी, माया र सम्बन्धको संवेदनशील आयाम प्रस्तुत गर्छ।

वरिष्ठ कलाकार नीर शाह को प्रमुख भूमिका र अभिनयले फिल्मको विश्वसनीयता र प्रभावकारिता बढाएको दर्शकहरूको प्रतिक्रिया छ।

Read More

बलिवुडकी प्रख्यात अभिनेत्री कामिनी कौशलको निधन

काठमाडौँ । आफ्नो समयकी प्रख्यात बलिवुड अभिनेत्री कामिनी कौशलको मुम्बईस्थित आफ्नै घरमा निधन भएको छ ।

९८ वर्षकी कामिनी कौशल उमेरसँगै सम्बन्धित रोगबाट पीडित थिइन् । कामिनी कौशलको जन्म फेब्रुअरी २५, १९२७ मा लाहोर (अविभाजित भारत) मा भएको थियो । उनको वास्तविक नाम उमा कश्यप थियो । उनले धेरै बलिवुड फिल्ममा मुख्य अभिनेत्रीको रूपमा काम गरेकी थिइन् । 

कामिनी कौशलले १९४० को दशकको मध्यदेखि १९६० को दशकको सुरुवातसम्म धेरै चलचित्रहरूमा मुख्य नायिकाको रूपमा काम गरेकी थिइन् । पछिल्ला वर्षहरूमा, उनले धेरै चलचित्रहरूमा आफूलाई एक बलियो चरित्र अभिनेत्रीको रूपमा स्थापित गरेकी थिइन् र कैयौं टिभी सिरियलहरूमा समेत काम गरिन् ।

कामिनी कौशलले निर्देशक चेतन आनन्दको अत्यधिक प्रशंसित चलचित्र ‘नीचा नगर’ बाट डेब्यू गरिन् । कामिनी कौशलले दो भाइ, शहीद, जिद्दी, शबनम, पारस, नमूना, आरजू, बिराज बहू, झांझर, आब्रू, बडे सरकार, जेलर, नाइट क्लब र गोदान जस्ता फिल्महरूमा मुख्य अभिनेत्रीको रूपमा काम गरेकी थिइन् । आफ्नो समयमा, उनले अशोक कुमार, दिलीप कुमार, राज कपूर र देव आनन्द जस्ता कलाकारहरूसँग नायिकाको रूपमा काम गरेकी थिइन् । कामिनी कौशल अन्तिम पटक २०२२ मा रिलिज भएको आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएकी थिइन् ।

उनले ‘कबीर सिंह’ मा शाहिद कपूरकी हजुरआमा र ‘चेन्नई एक्सप्रेस’ मा शाहरुख खानकी हजुरआमाको भूमिका निर्वाह गरेकी थिइन् । कामिनी कौशलका तीन छोरा मध्ये, उनका छोरा राहुल सूद उनीसँगै बस्थे र उनको हेरचाह गर्थे, तर उनको कोभिड-१९ को समयमा मृत्यु भएको थियो ।

Read More

गोप्यरुपमा युक्रेनको खेरसन शहर पुगिन हलिवुड अभिनेत्री एन्जेलिना जोली

काठमाडौँ । हलिउड अभिनेत्री तथा मानव अधिकारकर्मी एन्जेलिना जोलीले दक्षिणी युक्रेनी शहर खेरसनको अप्रत्याशित भ्रमण गरेकी छन् । यो क्षेत्र हाल बारम्बार रूसी ड्रोन आक्रमणहरूको सामना गरिरहेको छ । खेरसन पुगेर जोलीले बाल अस्पताल र प्रसूति वार्डमा बिरामीहरूलाई भेटेकी छन् ।

सोक्रममा एन्जेलिना जोलीले युक्रेनी बुलेटप्रुफ भेस्ट र हेलमेट लगाएर अस्पतालमा बिरामीहरू र स्वास्थ्यकर्मीहरूसँग अन्तर्क्रिया गरिरहेको सार्बजनिक तस्बीरमा देखिएको छ । एउटा तस्बिरमा, उनी एक युक्रेनी सिपाहीसँग पनि देखिएकी थिइन्, जसको पहिचान सुरक्षा कारणले गोप्य राखिएको थियो ।

युक्रेनी मिडिया रिपोर्टहरूका अनुसार, जोली स्थानीय अंगरक्षकहरूसँग थिइन् । उनको एक अंगरक्षकलाई युक्रेनी सेनाले जबरजस्ती भर्ती गरेको दाबी गरिएको छ, त्यसपछि जोली व्यक्तिगत रूपमा भर्ती कार्यालय गइन् र उनको रिहाइ सुनिश्चित गरेकी थिइन् ।

खेरसनलाई २०२२ मा रूसले छोटो समयको लागि कब्जा गरेको थियो । शहर अझै पनि दैनिक गोलाबारी र ड्रोन आक्रमणहरूको सामना गरिरहेको छ । यद्यपि, एन्जेलिना जोली वा युक्रेनी सरकारले आधिकारिक रूपमा यो भ्रमणको पुष्टि गरेको छैन ।

जोलीले २०१२ देखि २०२२ सम्म संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको विशेष दूतको रूपमा काम गरेकी थिइन् । रुस-युक्रेन युद्ध सुरु भएको केही महिनापछि उनले ल्भिभमा शरणार्थीहरूसँग पनि भेट गरेकी थिइन् ।

Read More

आफ्नो फिल्मलाई कम शो दिएको भन्दै टंक बुढाथोकीले भने- ‘म हार्दैछु’

काठमाडौँ । फिल्म ‘मन बिनाको धन’ का निर्देशक टंक बुढाथोकीले आफु हार्दै गरेको टिप्पणी गरेका छन् ।

बुढाथोकीले शुक्रबारदेखि रिलिज हुने फिल्म ‘मन बिनाको धन’ लाई सिनेमा हलले कम शो दिएको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भनेका छन्-  म हार्दैछु , मलाइ हराउन धेरै लागे , सधै लागे ….ठीकै छ… सिनेमाघर सञ्चालकहरूले ‘लाइ नपत्याए पनि, हामीलाई हजुरहरुले पत्याउनु भएको छ । भोली बाट प्रदर्शन हुने हाम्रो चलचित्र ‘मन बिनाको धन” को शो एक्दमै कम दिने , कति पय ठाउमा नदिने निर्णयले दुःख लागेको छ, म हार्दैछु म सङ्गै अशोक ले पनि हार्दैछ्न । न्याय तपाईंहरूकै हातमा छ ।

‘कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको फिल्ममा सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ र रवीन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा लगायतको पनि अभिनय रहेको छ । फिल्ममा निर्देशक टंक बुढाथोकी स्वयंको कथा तथा संगीत छ भने शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको छ ।

कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत र मित्र डि. गुरुङको सम्पादन रहेको छ । बिष्णु माया मैनाली निर्माता रहेको फिल्ममा जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह-निर्मातामा छन् ।

Read More

कानुनी झमेलामा परे सलमान खान, विज्ञापनबाट भ्रम फैलाएको आरोप

काठमाडौँ । पान मसलाको विज्ञापनलाई लिएर सलमान खान समस्यामा परेका छन् ।

भाजपा नेता तथा राजस्थान उच्च अदालतका वकिल इन्दर मोहन सिंह हनीले अभिनेताविरुद्ध मुद्दा दायर गरेका छन् । उजुरीमा सलमान खानले युवाहरूलाई भ्रमित पार्ने गरी माउथ फ्रेसनर ब्रान्डको विज्ञापन गरेको उल्लेख छ । मुद्दाको सुनुवाइ नोभेम्बर २७ मा हुने बताइएको छ ।

उजुरीकर्ता इन्दर मोहन सिंह हनीले सलमान खान धेरै मानिसहरूका लागि आदर्श भएको भन्दै उनको विरुद्ध कोटा उपभोक्ता अदालतमा उजुरी दायर गरेको बताएका छन् । अन्य देशहरूमा, सेलिब्रेटीहरू वा फिल्म स्टारहरूले चिसो पेय पदार्थको पनि समर्थन गर्दैनन्, तर सेलिब्रेटीहरुले सुर्तीजन्य पदार्थ र पान मसला जस्ता उत्पादनहरूको प्रचार गर्ने गरेको बताए ।

उनले पान मसला उत्पादन गर्ने कम्पनी राजश्री पान मसला र सलमान खानले आफ्नो उत्पादनलाई केसर-आधारित अलैंची र केसर-आधारित पान मसला भनेर वर्णन गरेर भ्रामक विज्ञापन गरेको आरोप लगाएका छन् । उनले केसरको मूल्य प्रति किलोग्राम लगभग ४ लाख पर्ने र ५ रुपैयाको उत्पादनमा समावेश गर्न नसकिने उनको जिकिर छ । उनले यस्ता झूटा दाबीहरूले युवाहरूलाई पान मसला उपभोग गर्न प्रोत्साहित गर्ने र मुखको क्यान्सरको प्रमुख कारण बन्ने उनको दाबी छ । उजुरीपछि, कोटा उपभोक्ता अदालतले सलमान खानलाई नोटिस जारी गर्दै उनको जवाफ मागेको छ ।

Read More

आमिर खानको फिल्म ‘रंगिला’ ३० बर्षपछि फेरी रिलिज हुदै

काठमाडौँ । बलिवुड अभिनेता आमिर खान, उर्मिला मातोंडकर र ज्याकी श्राफ अभिनित सुपरहिट फिल्म “रंगीला” सिनेमाघरमा फर्कने तयारीमा छ । रिलिज भएको ठीक ३० वर्षपछि, ‘रंगीला’ सिनेमाघरमा फर्किँदैछ । यस पटक, दर्शकहरूले फिल्मलाई नयाँ फोरके एचडी पुनर्स्थापित संस्करणमा हेर्न सकिने छ ।

राम गोपाल वर्मा निर्देशित ‘रंगीला’ नोभेम्बर २८ मा सिनेमाघरमा पुन: रिलिज हुनेछ । १९९५ मा सिनेमाघरमा रिलिज भएको ‘रंगीला’, जसमा एआर रहमानको संगीत थियो, शहरी आकांक्षा र सपनाहरू चित्रण गरिएको थियो ।

‘रंगीला’ एक प्रेम त्रिकोण हो । यस फिल्ममा, उर्मिला मातोंडकरको पात्र, मिली, नायिका बन्न चाहन्छिन्, जबकि आमिर खानको पात्र, मुन्ना, एक अनाथ हुन् जो मिलीको साथी हुन्छन् । मुन्ना चलचित्रको टिकट ब्ल्याकमा बेच्ने काम गर्छन् । मिली सुरुमा जुनियर कलाकारको रूपमा काम गर्छिन् । पछि, ज्याकी श्राफको पात्र, एक प्रख्यात अभिनेता राज कमलको सहयोगमा, उनले ‘रंगीला’ नामक फिल्ममा नायिकाको भूमिकाको लागि मिलीलाई अडिसनको व्यवस्था गर्छन् । मिली अगाडि बढ्दै जाँदा, राज कमल र मुन्ना दुवै उनीसँग प्रेममा पर्छन् । यसले प्रेम त्रिकोण सुरु हुन्छ ।

‘रंगीला’ रिलिज भएपछि बक्स अफिसमा सफल भयो । फिल्मका गीतहरू पनि धेरै लोकप्रिय भए । फिल्मले सर्वश्रेष्ठ संगीत निर्देशक, राम गोपाल वर्माको लागि सर्वश्रेष्ठ कथा र ज्याकी श्राफको लागि सहायक अभिनेताको लागि फिल्मफेयर पुरस्कार पनि जितेको थियो । 

Read More

फिल्म ‘वरिष्ठ बलराम’ ले पाँच दिनमा कमायो दुई करोड

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ले कात्तिक १० गतेसम्म दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिए । ‘हालसम्म हाम्रो चलचित्रले पाँच दिनमा दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ,’ निर्माता तामाङले भने, ‘अहिले पनि उच्च अकुपेन्सीमा हाम्रो चलचित्र चलिरहेको छ ।’

भावनात्मक सम्बन्ध र स्थानीयस्तरमा हुने दादागिरीलाई दर्शकले मन पराइरहेको उनले जानकारी दिए । ‘रगतको मात्रै होइन भावनात्मक सम्बन्ध पनि त्यति नै प्रगाढ हुन्छ भन्ने सिनेमाको सन्देश दर्शकले निकै धेरै मन पराइरहनु भएको छ,’ निर्माता तामाङले भने, ‘स्थानीय स्रोतसाधनको दोहन र लभस्टोरी पनि मन पराइदिनु भएको छ ।’

दयाहाङ राई र विजय बराललाई फरक तरिकाले प्रस्तुत गरेको पनि दर्शकले खुलेर तारिफ गरिरहेको उनले बताए ।  

चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।

मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ । 

Read More

भारतीय चर्चित युट्युबर भुवन बाम धर्मा प्रोडक्सनबाट बलिवुडमा डेभ्यु गर्दै

काठमाडौँ । भारतीय चर्चित युट्युबर भुवन बामले बलिउडमा धर्मा प्रोडक्सनको फिल्ममा काम गर्ने भएका छन् ।

भुवनले धर्माको फिल्म ‘कुकु की कुण्डली’ मा देखिने भएका हुन् । भुवनले हालै धर्मा प्रोडक्सनसँग सम्झौतामा हस्ताक्षर गरेका छन् र आधिकारिक रूपमा आफ्नो डेब्यूको घोषणा गरेका छन् । भुवनले भनेका छन्- ‘साथीहरू, सपना देख्नुस, ती साकार हुन्छन् । तपाईंहरूको सहयोग बिना यो सम्भव हुने थिएन । मलाई सधैं तपाईंको आशीर्वाद चाहिन्छ ।’

भुवन बाम यस फिल्ममा वामिका गब्बीसँगै देखिनेछन् । यो फिल्म शरण शर्माले निर्देशन गर्दैछन्, जसले यसअघि जान्हवी कपूर अभिनीत फिल्महरू ‘मिस्टर एण्ड मिसेस माही र ‘गुञ्जन सक्सेना: द कारगिल गर्ल’ निर्देशन गरिसकेका छन् ।

बलिउडमा डेब्यू गर्नुअघि, भुवन बमले जियो हटस्टारको श्रृंखला ‘ताजा खबर’ बाट ओटीटी र अभिनयमा डेब्यू गरेका थिए ।

‘कुकु की कुण्डली’ फिल्मको अतिरिक्त, भुवन बमले अमेजन प्राइम भिडियोको आगामी शृंखला, ‘द रिभोलुसनरी’ मा पनि अभिनय गर्नेछन्, जुन २०२६ मा रिलिज हुने तालिका छ । 

जनवरी २२, १९९४ मा जन्मेका भुवन बामले २०१५ मा आफ्नो युट्युब च्यानल सुरु गरे। उनले ‘टिट्टु मामा, बब्लु, बन्चोडदास, अद्रक बाबा, मिस्टर होला, र पापा माकिचु’ जस्ता पात्रहरू खेल्दै प्रसिद्धि हासिल गरे । 

उनको बढ्दो लोकप्रियताको कारण, भुवनलाई दिव्या दत्तसँग छोटो फिल्म प्लस माइनसमा कास्ट गरियो, जसको लागि उनले फिल्मफेयर पुरस्कार पनि प्राप्त गरेका थिए ।

Read More

बलिवुडका चर्चित अभिनेता सतिश शाहको निधन

काठमाडौँ । बलिवुडका चर्चित अभिनेता सतिश शाहको निधन भएको छ ।

७४ बर्षिय अभिनेता शाहको शनिबार दिउसो निधन भएको हो । उनी पछिल्लो समय मृगौलासम्बन्धि रोगबाट पिडित थिए । 

कमेडीदेखि गम्भीर भूमिकाका लागि परिचित शाहले कैयौं टिभी सिरियलमा काम गरेका छन् । ‘भगवान परशुराम’ बाट आफ्नो करियर सुरु गरेका थिए । उनको पहिलो प्रमुख भूमिका १९८१ को फिल्म ‘उमराव जान’ मा दिलावरको रूपमा आयो । त्यसपछि उनी १९८३ को फिल्म ‘जाने भी दो यारों’ मा कमिश्नर डी’ मेलोको भूमिकाबाट घरपरिवारको नाम बनेका थिए । उनले ‘हम आपके है कौन’ मा डाक्टरको भूमिका होस् वा ‘अकेले हम अकेले तुम’ मा गुलबदन कुमारको भूमिका होस्, सतीशले ९० को दशकमा धेरैजसो चलचित्रहरूमा हास्य भूमिका खेलेका थिए । जसमा ‘जुडवा’, ‘साजन चले ससुराल’, ‘घरवाली बहरवाली’ र ‘अनारी नम्बर वान’ जस्ता चलचित्र थिए ।

उनले शाहरुख खानसँग चलते चलते, सलमान खानसँग मुझसे शादी करोगी र आमिर खानसँग अकेले हम अकेले तुम जस्ता चलचित्रहरूमा पनि अभिनय गरेका थिए । आफ्नो करियरमा सतीशले तीनै खानसँग धेरै फिल्ममा काम गरे। उनी पछिल्लो पटक २०१४ मा फिल्म ‘हमशकल्स’ मा देखिएका थिए ।

त्यस्तै ‘घर जमाई’ र ‘साराभाई भर्सेस साराभाई’ जस्ता टिभी कार्यक्रमहरूमा देखा पर्दै र ‘कमेडी सर्कस’ मा निर्णायकको रूपमा देखा पर्दै, सतीशले टेलिभिजन संसारमा आफ्नो छाप छोडेका थिए ।

Read More

मोफसलका दर्शक भेट्न पुग्यो ‘वरिष्ठ बलराम’ को टिम

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’को टिम मोफसल पुगेको छ । दर्शक भेट्न भन्दै कलाकारसहितको टिम मोफसल पुगेको हो ।

काठमाडौंका दर्शकसँगको साक्षात्कारपछि ‘वरिष्ठ बलराम’का कलाकार विजय बराल, समृद्धि अर्याल र निर्देशक सुरेन्द्र पौडेल मोफसलका दर्शक भेट्न निस्किएको हो । शुक्रबारदेखि ‘वरिष्ठ बलराम’को टिम पश्चिम नेपालका विभिन्न हलमा पुगेको छ । हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ ।

निर्देशक पौडेलले धेरै शो हाउसफूल भएका र हाउसफूल नभएका शोमा पनि ७० प्रतिशतभन्दा माथि अकुपेन्सी रहेको जानकारी दिए । तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ ले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सीमा प्रदर्शन भइरहेको छ ।

रिलिजको पहिलो दिन देखिनै यो चलचित्रले हाउसफूल दर्शकहरूको साथ पाउँदै आइरहेको छ भने कतिपय हलहरूमा  ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी हासिल गरेको छ । राजधानीदेखि बाहिरी सहरका सिनेमा हलहरूमा समेत दर्शकको भीड देखिएको छ । ‘वरिष्ठ बलराम’को अकुपेन्सी राम्रो भएपछि केही हलहरूले आज शनिवारलाई शोमा समेत थप गरेका थिए ।

पहिलो दिन बिहानैदेखि धेरै शोहरू हाउसफूल हुनु र दोस्रो दिन पनि सिनेमा हलमा दर्शकको उपस्थिति उच्चसँगै हाउसफूल हुनुले चलचित्रको राम्रो वर्ड अफ माउथ बनेको बुझाउँछ । दयाहाङ राई र विजय बराल स्टारर यो चलचित्रले पहिलो दिनदेखि नै दर्शकको सकारात्मक रिभ्यु पाएसँगै चलचित्रको निर्माण पक्ष व्यापारप्रति आशावादी देखिएको छ ।

चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।

मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको हो ।

Read More