२०८३ श्रावण १४

नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन- उपेन्द्र यादव

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको एक इन्च पनि भूमि नमिचेको बताएका छन् ।

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले नेपाल र भारतबीच सीमा सम्बन्धी विषय ऐतिहासिक तथ्य, नक्सा तथा अन्तर्राष्ट्रिय मान्यताका आधारमा समाधान हुनुपर्ने धारणा व्यक्त गर्दै नेपाल आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति स्पष्ट रहेको र कुनै पनि छिमेकी राष्ट्रको भूमि अतिक्रमण नगरेको बताएका हुन् ।

उनले भने- ‘नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन । सीमासम्बन्धी विवाद भएका क्षेत्रहरू ऐतिहासिक दस्तावेज, सन्धि तथा प्रमाणका आधारमा समाधान हुनुपर्छ ।’

उनले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ र मैत्रीपूर्ण बनाउन दुवै देशले आपसी सम्मान, समानता र विश्वासको आधारमा संवाद अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

साथै यादवले राष्ट्रियता, संघीयता, समावेशी लोकतन्त्र तथा वर्तमान राजनीतिक परिस्थिति बारेमा बोल्दै देशका सबै समुदायको अधिकार सुनिश्चित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको टिप्पणी गरेका थिए ।

Read More

विश्वकपमा आजराती नेदरल्याण्डस र जापानबीच भिडन्त

काठमाडौं । जारी फिफा विश्वकप फुटबल अन्तर्गत नेदरल्यान्ड्स र जापानबीच समूह ‘एफ’ को पहिलो खेल आज राति एटी एन्ड टी स्टेडियममा हुदैछ । दुवै टोली प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन् ।

यो खेलमा नेपाली समय अनुसार आज राति १: ४५ बजेदेखि शुरु हुदैछ ।

नेदरल्यान्ड्स टोली चोटका कारण केही मुख्य खेलाडीबिना मैदानमा उत्रन बाध्य छ । आर्सनलका डिफेन्डर जुरियन टिम्बर, एक्सेभियर सिमन्स र जेर्डी साउटेन चोटका कारण टिममा छैनन् । मेम्फिस डिपे पुरानो ह्यामस्ट्रिङ समस्यासँग संघर्ष गरिरहेका छन् भने माथियास डे लिग्ट पनि फिटनेस समस्याका कारण शंकामा छन् । यद्यपि डेनजेल डम्फ्रीज फर्किएका छन् र रक्षापंक्तिलाई बल दिएका छन्। मिकी भान डे भेन र कप्तान भर्जिल भान डाइक सेन्टर ब्याकमा देखिने सम्भावना छ ।

जापान टोली पनि ठूलो झट्कामा परेको छ । कप्तान वाटारु एन्डो चोटका कारण बाहिरिएका छन् र अन्तर्राष्ट्रिय फुटबलबाट संन्याससमेत घोषणा गरेका छन् । काओरु मितोमा र ताकुमी मिनामिनो पनि चोटका कारण अनुपस्थित छन् । यसले जापानको आक्रमण कमजोर बनाएको छ । तर ताकेफुसा कुबो र रित्सु दोआनले टोलीको सिर्जनात्मक जिम्मेवारी सम्हाल्नेछन् भने अयासे उएदा अग्रपंक्तिमा रहनेछन् । नेदरल्यान्ड्स पछिल्ला खेलाडीहरूको चोटका बाबजुद प्रशिक्षक रोनाल्ड कोमानको नेतृत्वमा बलियो सुरुवात गर्ने प्रयासमा छन् । उता जापान प्रशिक्षक हाजिमे मोरियासुको टोली लगातार ६ मैत्रीपूर्ण जितसहित उत्कृष्ट लयमा प्रतियोगितामा आएको छ ।

दुवै टोलीबीचको पछिल्लो भेट सन् २०१३ नोभेम्बर १६ मा भएको थियो, जहाँ खेल २–२ को बराबरीमा सकिएको थियो ।

नेदरल्यान्ड्सको टिम

बार्ट भेरब्रुगेन, रोबिन रोएफ्स, मार्क फ्लेक्केन, लुत्सरेल गेरत्रुइडा, भर्जिल भान डाइक, नाथन एके, जान पल भान हेके, मिकी भान डे भेन, डेनजेल डम्फ्रीज, जोर्रेल हातो, क्विन्टेन टिम्बर, मार्टेन डे रोन, र्यान ग्राभेनबेर्च, माट्स वीफर, तिज्जानी रेइन्डर्स, गुस तिल, ट्युन कोपमाइनर्स, फ्रेन्की डि जोंग, जस्टिन क्लुइवर्ट, वाउट वेघोर्स्ट, मेम्फिस डिपाए, कोडी गाक्पो, नोआ लाङ, डोनियल मालेन, ब्रायन ब्रोबे र क्रेन्सियो समरभिल ।

जापानको टिम 

जियोन सुजुकी, केसुके ओसाको, तोमोकी हायकावा, युकिनारी सुगावारा, शोगो तनिगुची, को इताकुरा, युतो नागातोमो, त्सुयोशी वातानाबे, अयुमु सेको, हिरोकी इतो, ताकेहिरो तोमियासु, जुनोसुके सुजुकी, वाटारु एन्डो, आओ तनाका, रित्सु दोआन, दाइची कामादा, युइतो सुजुकी, काइशु सानो, ताकेफुसा कुबो, केसुके गोटो, दाइजन माइदा, केइतो नाकामुरा, जुन्या इतो, अयासे उएदा, कोकी ओगावा र केन्तो शिगोआइ ।

Read More

विश्वकपमा आजराती अनुभवी जर्मनी र नयाँ कुरासाओ आमने सामने

काठमाडौँ । जुलियन नागेल्समानको नेतृत्वमा रहेको जर्मनी २०२६ को विश्वकप उपाधि जित्ने मुख्य दाबेदारमध्ये भने राखिएको छैन । तर युवा खेलाडीले भरिएको यो टोलीसँग पर्याप्त अनुभव पनि छ, जसले गर्दा उनीहरू दबाबभन्दा बाहिर रहेर लामो यात्रा गर्न सक्ने टोलीका रूपमा हेरिएको छ ।

अर्कोतर्फ कुरासाओले पहिलो पटक विश्वकपमा स्थान बनाएको छ। अनुभवी प्रशिक्षक डिक एड्भोकाटको नेतृत्वमा यो सानो टापु राष्ट्रले ऐतिहासिक छनोट यात्रा पूरा गर्दै विश्वकपमा प्रवेश गरेको हो । जनसंख्याका हिसाबले विश्वकै सानो देशमध्ये पर्ने कुरासाओको यो उपलब्धिले विश्वभर धेरैलाई प्रेरित गरेको छ । टोलीका धेरै खेलाडी नेदरल्याण्ड्सको एरेडिभिसीमा खेल्छन् र उनीहरू अप्रत्याशित नतिजा निकाल्न सक्षम मानिन्छन् ।

जर्मनीका लागि आक्रमणमा काइ हाभेर्ट्ज राम्रो लयमा देखिएका छन् । उनलाई लेरोय साने, जमाल मुसियाला र फ्लोरियन भिर्ट्ज जस्ता खेलाडीले अवसर सिर्जना गरेर सहयोग गर्ने अपेक्षा छ । गोलरक्षकमा अनुभवी म्यानुएल नोयर पुनः फिट भएका छन् । मध्यभागको जिम्मा कप्तान जोशुवा किमिखले सम्हाल्नेछन् । तर टोलीका लागि ठूलो झट्का भने ल्यानार्ट कार्लको चोट हो। बायर्न म्युनिखका यी युवा खेलाडी प्रतियोगिताअघि नै बाहिरिनु जर्मनीका लागि ठूलो क्षति मानिएको छ।

कुरासाओले छनोट चरणमा जमैका र ट्रिनिडाड र टोबेगो जस्ता टोलीलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । त्यसैले उनीहरूलाई कमजोर आँक्न मिल्दैन । टोलीका धेरै खेलाडी नेदरल्याण्ड्सको एरेडिभिसीमा खेल्छन् । कप्तान लेआन्ड्रो बाकुना टोलीको मुख्य आधार हुन् भने उनका भाइ जुनिन्हो बाकुनाको भूमिका पनि महत्वपूर्ण रहनेछ ।

म्यानचेस्टर युनाइटेडको युवा प्रणालीबाट आएका ताहिथ चोङ मध्यभागबाट आक्रमणमा तीव्र खतरा सिर्जना गर्न सक्छन् । कुरासाओले अवसर पाएमा प्रतिआक्रमणमा खेल बदल्ने प्रयास गर्नेछ  ।

जर्मनी सम्भावित सुरुआती टोली

म्यानुएल नोयर. जोशुवा किमिख, जोनाथन टा, निको श्लोटरबेक, डाभिड राउम, लिओन गोरेट्स्का, अलेक्जान्डर पाभ्लोभिच, लेरोय साने, जमाल मुसियाला, फ्लोरियन भिर्ट्ज, काइ हाभेर्ट्ज ।

कुरासाओ सम्भावित सुरुआती टोली

एलोय रुम, जुरलेन गारी, रिचेड्ली बेजोयर, आर्मान्डो ओबिस्पो. शेरेल फ्लोरानुस, लेआन्ड्रो बाकुना, लिभानो कोमेनेन्सिया, डेभेरोन फोनभिल, जुनिन्हो बाकुना, युर्गेन लोकेडिया, ताहिथ चोङ ।

Read More

बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको क्रममा आज बेइजिङ पुगेका छन् ।

उनलाई विमानस्थलमा दूतावासकी कार्यवाहक राजदुत रोशन खनाल र चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

त्यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले नेपालमा वैदेशिक लगानी प्रवर्द्धनका विषयमा चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागिता जनाउनेछन् । सो अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा छलफल गर्नेछन् ।

चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको १२ सयले बढेर तोलाको २ लाख ९३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर तोलाको ४८९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४८४० मा कारोबार भएको थियो ।

Read More

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जादै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि असार ३ गतेसम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जादैछन् । हालै सम्पन्न भारत भ्रमणपछि मन्त्री खनाल चीन जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

त्यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले नेपालमा वैदेशिक लगानी प्रवर्द्धनका विषयमा चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागिता जनाउनेछन् । सो अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा छलफल गर्नेछन् ।

चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Read More

चर्चित सेफ सन्तोष साह पक्राउ

काठमाडौं । चर्चित नेपाली सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गएराती महोत्तरीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा दिएको चेक बाउन्स (चेक अनादर) भएको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको हो । 

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउपछि साहलाई आवश्यक कानुनी प्रक्रियाका लागि काठमाडौं ल्याउने तयारी गरेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Read More

सर्वोच्चको आदेशपछि ट्रेड युनियन खारेज सम्बन्धि सरकारको निर्णय कार्यान्वयनको बाटो खुल्यो

काठमाडौँ । कर्मचारी संगठन (ट्रेड युनियन) खारेजीसम्बन्धी सरकारी निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ । 

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेपछि अब सरकार निर्णय कार्यान्वयन गर्न बाटो खुलेको हो । 

संवैधानिक इजलासको बहुमत निर्णयअनुसार यसअघि जारी गरिएको अन्तरिम आदेश कायम नरहने र मुद्दा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरिएको छ । इजलासमा प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहभागी थिए । निर्णयमा प्रधानन्यायाधीश शर्मा, न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको राय एकतर्फी रहेको थियो भने न्यायाधीश सुवेदी र पौडेलले फरक मत राख्दै अन्तरिम आदेश निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । 

यसअघि बैशाख २० र २७ गते भएको बहसपछि वैशाख २८ मा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको थियो । तर, शुक्रबारको निर्णयसँगै उक्त आदेश निष्क्रिय भएको छ । तीनै न्यायाधीशले अध्यादेशको संवैधानिकता परीक्षण सम्बन्धमा अन्य रिटसमेत विचाराधीन भएका कारण सबैको एकसाथ सुनुवाइ हुने गरी साथै राख्न आदेश गरेका छन् । 

इजलासले मुद्दामा थप निष्पक्ष बहसका लागि एमिकस क्युरी (अदालतको सहयोगी) झिकाउन पनि आदेश दिएको छ । साथै, नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनमार्फत दुई–दुईजना एमिकस क्युरी उपस्थित गराउन आग्रह गरिएको छ ।

गत वैशाख २५ मा नेपाल निजामती संगठन केन्द्रीय कार्यसमितिका तर्फबाट भवानी दाहालसमेत पाँचजनाले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए । 

केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा १० मा निजामती सेवा ऐनमा रहेको निजामती कर्मचारीको ट्रेड युनियन र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको विषय हटाइएको थियो । वैशाख २० गते जारी अध्यादेशअनुसार वैशाख २२ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्ने भनी सूचना निकालेको थियो । 

Read More

काभ्रेमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु

काठमाडौँ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमो बुद्ध नगरपालिका–२, बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १५ जनालाई उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालहरूमा पठाइएको प्रहरीले जनाएको छ । 

बा ३ ख ८३९८ नम्बरको उक्त बस बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गर्दा बुच्चाकोट क्षेत्रमा सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

Read More

नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ३४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ४ अंकले घटेर २७२४.०३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर ४ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ मा कारोबार भएको थियो । 

आज म्युचुअल फण्ड, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सोपान फार्मा र अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १०.६६ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी सेन्ट्रल फाइनान्सको २५ करोड ५३ लाख बराबरको कारोबार भएको छ भने सिटी होटल्सको २४ करोड ८६  लाख बराबरको कारोबार भएको छ ।

Read More