२०८३ भाद्र २८

बाढीका कारण ग्यास आपूर्ति प्रभावित, जुनसुकै कम्पनीको सिलिन्डर साटेर लिन सकिने

काठमाडौँ । बाढीका कारण आपूर्ति प्रणाली प्रभावित हुँदा काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेको छ। यस्तो अवस्थामा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।

मन्त्री यादवले काठमाडौँ उपत्यकाभित्र लागू हुने गरी जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउन निर्देशन दिएकी हुन्। उनका अनुसार कुनै एक कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट (इन्टरचेञ्ज) गरी उपभोक्तालाई ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ।

मन्त्रीको सचिवालयले बुधबार जारी गरेको जानकारीअनुसार यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले नियमित रूपमा प्रयोग गर्दै आएको ब्रान्डको सिलिन्डर तत्काल उपलब्ध नभए पनि अन्य कम्पनीको सिलिन्डरमार्फत सहज रूपमा ग्यास प्राप्त गर्न सक्नेछन्।

प्राकृतिक विपद्का रूपमा आएको बाढीका कारण उत्पन्न आपूर्ति समस्यालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको सचिवालयले जनाएको छ।

Read More

रसुवा र तातोपानी नाका बन्द भएपछि मुस्ताङ भन्सारको राजस्व बढ्यो

काठमाडौँ । रसुवागढी–केरुङ नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका सक्रिय बनेको छ। यसको प्रत्यक्ष प्रभाव मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको छ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवा र तातोपानी दुवै नाका अवरुद्ध भएपछि कोरला नाका तत्कालका लागि वैकल्पिक व्यापारिक मार्ग बनेको हो। भन्सार कार्यालयका अनुसार भदौ १० देखि २३ गतेसम्म मात्रै रु. ५६ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ।

यस अवधिमा कोरला नाकाबाट आएका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिए। उनका अनुसार दैनिक १५ वटासम्म विद्युतीय सवारी र १० वटाभन्दा बढी मालवाहक कन्टेनर नेपाल भित्रिएका छन्।

चालु आर्थिक वर्षको साउनदेखि भदौ १० गतेसम्म भने १६३ वटा विद्युतीय सवारी र १३३ वटा मालवाहक कन्टेनरको जाँचपासबाट रु. ५२ करोड ८० लाख राजस्व उठेको थियो।

भन्सार कार्यालयका अनुसार चालु आवमा हालसम्म कुल राजस्व सङ्कलन रु. १ अर्ब ८ करोड ८० लाख पुगेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङ भन्सारले रु. ६ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो।

Read More

बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो, ५ हजार ३३६ अझै बेपत्ता

काठमाडौं । भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण मृत्यु भएका १ हजार ३५७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये १०२ जनाको सनाखत भइसकेको छ।

प्राधिकरणका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, तनहुँमा ३८ र चितवनमा ३६३ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये कतिपयमा आंशिक मानव अंग मात्रै रहेको प्राधिकरणले जनाएको छ।

बाढीपछि अझै ५ हजार ३३६ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा ५८७ जना विदेशी नागरिक रहेका छन्।

हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको छ। खोज तथा उद्धारका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

Read More

दक्षिण दिल्लीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौं । दक्षिण दिल्लीको सत्य निकेतन क्षेत्रमा बहुमतले भवन भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। आइतबार दिउँसो भएको दुर्घटनापछि भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको दिल्ली सरकारका एक अधिकारीले बताएका छन्।

आधिकारिक स्रोतका अनुसार आइतबार दिउँसो करिब १ः३० बजे भवनको बेसमेन्टमा मर्मतसम्भारको काम भइरहेका बेला संरचना अचानक भत्किएको थियो। दुर्घटनामा मृत्यु हुनेमध्ये केही विद्यार्थीसमेत रहेको जनाइएको छ।

भवन भत्किँदा घाइते भएका अन्य ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भग्नावशेषमा थप मानिस पुरिएको हुनसक्ने आशंकामा सुरक्षाकर्मी तथा उद्धार टोलीले खोजी कार्यलाई तीव्रता दिएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

Read More

सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँ बढ्यो

काठमाडौं । सोमबार घटेको सुनचाँदीको मूल्य मंगलबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १०० रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ४२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

जेन्जी सहिद दिवस

काठमाडौं । आज देशभर ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनले नेपालको राजनीतिक घटनाक्रममा ठूलो परिवर्तन ल्याएको थियो। आन्दोलन चर्किएपछि तत्कालीन सरकार विघटन भएको थियो भने त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको योगदान, साहस र बलिदानको स्मरण तथा सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। आन्दोलनमा जीवन गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न कार्यक्रम आयोजना गरिने भएका छन्।

सरकारले यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सरकारले ‘जेन्जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्मान र स्मृतिलाई संस्थागत गर्ने उद्देश्यले सहिद दिवसका रूपमा यो दिन मनाउने निर्णय गरेको हो।

Read More

भोटेकोशी बाढीपीडितलाई सुरक्षित ठाउँमा सार्न सरकारको तयारी, जग्गा खोज्न समिति गठन

काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा बाढीका कारण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। सरकारले अस्थायी बसोबास र दीर्घकालीन पुनःस्थापनाका लागि उपयुक्त जग्गा पहिचान गर्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन** गरेको हो।

समितिले बाढीबाट घरजग्गा गुमाएका, पुरानै स्थानमा बस्न जोखिम रहेका तथा जोखिमकै बीच प्रभावित क्षेत्रमा बसिरहेका परिवारको वास्तविक विवरण संकलन गर्नेछ।

त्यसपछि स्थानीय तह, भूमि प्रशासन र नापी कार्यालयको समन्वयमा पुनःस्थापनाका लागि सम्भावित जग्गा पहिचान गरी स्थलगत अध्ययन गरिनेछ। पहिचान भएका स्थानमा बाढी–पहिरोको जोखिम, भौगोलिक अवस्था, बसोबासको उपयुक्तता र आवश्यक पूर्वाधारबारे प्रारम्भिक मूल्याङ्कनसमेत गरिने मन्त्रालयले जनाएको छ।

समितिले आवश्यक कानुनी प्रक्रिया र पुनःस्थापनाका लागि उपयुक्त विकल्पसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउनेछ। सरकारको यो कदमले विपद्पछि अस्थायी आश्रयमा रहेका परिवारलाई सुरक्षित र व्यवस्थित रूपमा पुनःस्थापना गर्ने तयारी अघि बढेको संकेत गरेको छ।

Read More

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समिति बैठकले प्रहरी नियमावलीबमोजिम उपलब्ध हुने सेवा–सुविधाका अतिरिक्त राहतस्वरूप मृतक प्रहरी कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटीबापतको ऋण मिनाहा गर्ने निर्णयसमेत गरेको छ। साथै, मृतकका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय भएको प्रहरीले जनाएको छ।

त्यस्तै, मृतक प्रहरी कर्मचारीका सन्ततिलाई नेपाल प्रहरी स्कुलमा शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीपछि हालसम्म २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।

Read More

इरानमाथि थप आक्रमण गर्ने ट्रम्पको चेतावनी, अमेरिकी हमलामा १८ जनाको मृत्यु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आक्रमण गर्ने चेतावनी दिएका छन् । आफूले चाहेको जुनसुकै समयमा इरानमा आक्रमण गर्न सक्ने धम्कीका बीच अमेरिकी हमलामा परी इरानमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

पछिल्लो अमेरिकी आक्रमणमा कम्तीमा १०८ जना घाइते भएका छन् । अमेरिका र इरानबीच जुलाईयताकै सबैभन्दा ठूलो आक्रमण–प्रत्याक्रमण भइरहेका बेला ट्रम्पले बुधबार थप आक्रमणको चेतावनी दिएका हुन् ।

अमेरिकी सेनाले इरानको दक्षिणी तट नजिकका सहर तथा आसपासका क्षेत्रमा आक्रमण गरेको थियो । त्यसक्रममा बुधबार कुहेस्तक सहरस्थित एउटा विवाह समारोह भइरहेको घरमा समेत मिसाइल प्रहार भएको थियो । उक्त आक्रमणको जवाफमा इरानले बहराइन, इराक र जोर्डनलगायत पश्चिम एसियाली देशमा रहेका अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको थियो ।

‘गए राति हामीले उनीहरूलाई निकै कडासँग प्रहार गर्‍यौँ,’ ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भनेका थिए । उनका अनुसार ती आक्रमणमा स्ट्रेट अफ होर्मुजमा इरानले निर्माण गरिरहेका सबै नयाँ उपकरण ध्वस्त भएका छन् ।

‘गए रातिको आक्रमण निकै कडा थियो । र हामीले अर्को यस्तै आक्रमणको तयारी गरिरहेका छौँ,’ ट्रम्पले भने । उनले यस्ता आक्रमण आफूले चाहेको जुनसुकै समयमा गर्न सकिने पनि स्पष्ट पारे ।

बुधबार भएको अमेरिकी आक्रमणमा मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेको इरानी स्वास्थ्य मन्त्री मोहम्मद–रेजा जफारघन्डीले बताएका छन् । कुहेस्तकको विवाह समारोह भइरहेको घरमा भएको आक्रमणमा चार वर्षीय बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको उनले बताए ।

कुहेस्तकमा भएको आक्रमणलाई इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले ‘युद्ध अपराध’ को संज्ञा दिएका छन् ।

Read More

ग्यास अभाव हुन नदिन एसटिसीले निजी प्लान्टबाट सिलिन्डर भर्न थाल्यो

काठमाडौं । पृथ्वीराजमार्ग अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’ भर्न थालेको छ । धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि कर्पोरेशनको जुगेखोलास्थित एलपीजी प्लान्टमा ग्यासका बुलेट पुग्न नसकेपछि वैकल्पिक व्यवस्थामार्फत ग्यास आपूर्ति गर्न थालिएको हो ।

कर्पोरेशनले मनोज र बाबा ग्यासका सहज स्थानमा रहेका प्लान्टसँग सहकार्य गरी आफ्ना खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ । कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाले उपभोक्तालाई ग्यास अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको बताए । उनका अनुसार पहिलो चरणमा शुक्रबारसम्म ती दुई निजी प्लान्टमा भरिएका एसटिसी सिलिन्डर काठमाडौँ आइपुग्नेछन् ।

कर्पोरेशनले आफ्नो प्लान्टका लागि आउन नसकेका केही ग्यास बुलेटसमेत निजी कम्पनीका प्लान्टतर्फ डाइभर्ट गरेको जनाएको छ । नेपाल आयल निगमबाट कर्पोरेशनले सीमित कोटा पाउँदै आएको छ । निगमले भारतीय आयल कर्पोरेशनबाट ३ हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेकोमा करिब २ प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र कर्पोरेशनको भागमा पर्ने जनाइएको छ ।

कर्पोरेशनका अनुसार हाल मासिक ५५ हजारदेखि ६० हजारको हाराहारीमा ‘एसटिसी सिलिन्डर’ खपत हुँदै आएको छ । ग्यास वितरणलाई सहज बनाउन कर्पोरेशनले कुपन प्रणाली लागू गरेको छ । कुपन वितरण गर्दा नै उपभोक्तालाई ग्यास प्राप्त गर्ने दिन सुनिश्चित गरिने झाले बताए ।

यस्तै, कर्पोरेशनले आयोडिनयुक्त नुनको आपूर्ति सहज राख्न ६ महिनालाई पुग्ने मौज्दात रहेको जनाएको छ । भदौ १७ गतेसम्म कर्पोरेशनका भण्डारणमा १ लाख २७ हजार ३६१ मेट्रिकटन नुन मौज्दात रहेको झाले जानकारी दिए । देशभर वार्षिक २ लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुने गरेको छ भने कर्पोरेशनले गत आर्थिक वर्षमा करिब २ लाख १० हजार टन नुन बिक्री गरेको थियो ।

चिनीको मूल्य बढिरहेका बेला कर्पोरेशनले बजार हस्तक्षेप गर्दै प्रतिकिलो १०० रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । निजी क्षेत्रबाट चिनी प्रतिकिलो १३५ रुपैयाँसम्म बिक्री भइरहेका बेला कर्पोरेशनले भदौ ९ गते ६०० टन चिनी आयात गरेको थियो । पछिल्लो समय कर्पोरेशनले ३ हजार टन चिनी बजारमा पठाइसकेको जनाएको छ ।

कर्पोरेशनले चामल, दाल, गेडागुडी र तेललगायत खाद्यान्नको मूल्य पनि स्थिर राख्न प्रयास गरिरहेको जनाएको छ । सहायक प्रमुख कार्यकारी अधिकृत झाले विपद् तथा असहज परिस्थितिमा दैनिक अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नु कर्पोरेशनको मुख्य उद्देश्य रहेको बताए ।

Read More