२०८३ भाद्र २८

भोटेकोशी बाढीको कहर : ११ हजार ९९३ जनाको उद्धार, ४ हजार २१६ अझै सम्पर्कविहीन

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । बुधबार साँझसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ भने ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीमा परी हालसम्म १ हजार २०४ जनाको मृत्यु भएको छ ।

बाढीपछि राहत तथा उद्धारसँगै सम्पर्कविहीन नागरिकको खोजीलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी कार्य जारी छ ।

बाढीका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको प्राधिकरणले जनाएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला बाढीबाट प्रभावित भएका छन् ।

बाढीपछि उद्धार तथा क्षतिको अवस्था

विवरणसङ्ख्या
उद्धार गरिएका व्यक्ति११ हजार ९९३
अझै सम्पर्कविहीन४ हजार २१६
बाढीमा मृत्यु हुने१ हजार २०४
परिचालित सुरक्षाकर्मी२१ हजार ३१४
नेपाली सेनाका सुरक्षाकर्मी९ हजार १९९
नेपाल प्रहरीका सुरक्षाकर्मी७ हजार ९१२
सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी४ हजार २०३

प्राधिकरणका अनुसार हालसम्म रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको छ ।

जिल्लागत रूपमा फेला परेका शव

जिल्लाफेला परेका शव
रसुवा११५
नुवाकोट१५५
धादिङ६०
गोरखा६९
नवलपरासी पूर्व२१७
नवलपरासी पश्चिम२०२
तनहुँ३८
चितवन३४८

विपद्को समयमा नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । सेनाले हालसम्म ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ । खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ६९० पटक हवाई उडान गरेको छ भने बुधबार मात्रै ८० वटा हवाई उडान गरेको प्राधिकरणले जनाएको छ । निजी क्षेत्रबाट पनि २९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग गरिएको छ ।

हवाई उद्धार तथा उडानको अवस्था

विवरणसङ्ख्या
हवाई उद्धार गरिएका नेपाली४ हजार ९१
हवाई उद्धार गरिएका विदेशी२७३
कुल हवाई उद्धार४ हजार ३६४
नेपाली सेनाका कुल हवाई उडान६९०
बुधबार गरिएको हवाई उडान८०
निजी क्षेत्रका हवाई उडान२९

दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका स्थानमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्‍याउने काम भइरहेको छ । बाढीपछि विभिन्न क्षेत्रका नागरिक सम्पर्कविहीन रहेको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।

सम्पर्कविहीनको विवरण

समूह/क्षेत्रसम्पर्कविहीन
नेपाली सेना४५
नेपाल प्रहरी२५
सशस्त्र प्रहरी बल नेपाल१३
भन्सार कार्यालय१४
अध्यागमन कार्यालय
रसुवाकरिब ८६५
नुवाकोट१ हजार ५५८
विदेशी नागरिक५८३
पर्यटकसँग गएका नेपाली१६४
जलविद्युत् आयोजनामा कार्यरतकरिब ९००
लाङटाङ राष्ट्रिय निकुञ्ज
क्वारेन्टिइन कार्यालय
जनप्रतिनिधि
स्थानीय तह वा मातहतका कर्मचारी३२
निजी विद्यालय

बाढी प्रभावित नागरिकका लागि सरकारले राहत तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम जारी रहेको छ । सडक सम्पर्क विच्छेद भएका तथा दुर्गम क्षेत्रमा हवाई माध्यमबाट समेत आवश्यक राहत सामग्री पुर्‍याउने प्रयास भइरहेको छ ।

बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुनुका साथै हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको छ । प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा तथा अत्यावश्यक सामग्रीको पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।

बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि राज्यका सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी तथा सम्बन्धित निकाय निरन्तर उद्धार र राहत कार्यमा सक्रिय छन् । सम्पर्कविहीनको सङ्ख्या ठूलो रहेकाले खोजी कार्यलाई अझै तीव्र पारिएको प्राधिकरणले जनाएको छ ।

Read More

रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबारे प्रतिनिधिसभाले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले प्रस्तुत गरेको विशेष प्रस्तावलाई सांसदहरूले सर्वसम्मतिले पारित गरेका हुन्।

विशेष प्रस्तावमार्फत राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम गर्दै तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा राज्यका सबै संयन्त्रलाई परिचालन गर्न सरकारलाई आग्रह गरिएको छ।

प्रस्तावमा बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन, विस्थापित नागरिकको पुनर्स्थापना गर्न तथा घाइतेहरूको उचित उपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको छ।

सभामुख अर्यालले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। उनले विस्थापित नागरिकको उचित व्यवस्थापन तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरे।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका काम जारी छन्।

Read More

भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री शाहको सम्बोधन, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्।

भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार तथा राहतलगायत विषयमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभालाई जानकारी दिने कार्यक्रम रहेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। परियारका अनुसार बैठकमा प्रधानमन्त्रीले समसामयिक विषयसहित भोटेकोशी बाढीको अवस्थाबारे संसद्लाई जानकारी गराउनेछन्।

‘प्रधानमन्त्रीले आज संघीय संसद्को प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ,’ परियारले भने।

१० भदौपछि प्रतिनिधिसभाको बैठक बुधबार पहिलोपटक बस्न लागेको हो।

बैठकमा सभामुख डीपी अर्यालले भोटेकोशी बाढीका सम्बन्धमा विशेष प्रस्ताव पेस गर्ने कार्यक्रमसमेत रहेको छ। प्रस्तावमाथि विभिन्न राजनीतिक दलका नेताहरूले धारणा राख्नेछन्।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा संसद्मा छलफल हुन लागेको हो।

Read More

भोटेकोशी बाढी प्रभावित स्थानीय तहलाई थप ६ करोड ७५ लाख राहत

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध गराइएको ६ करोड ७५ लाख रुपैयाँमा थप ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो।

थप रकम विनियोजन भएसँगै बाढी प्रभावित स्थानीय तहका लागि उपलब्ध गराइने कुल रकम १३ करोड ५० लाख रुपैयाँ पुगेको छ।

निर्णयअनुसार रसुवाका चार स्थानीय तहलाई ४ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइनेछ। उत्तरगया गाउँपालिकालाई १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकालाई २ करोड, कालिका गाउँपालिकालाई ६० लाख र आमाछोदिङमो गाउँपालिकालाई ४० लाख रुपैयाँ छुट्याइएको छ।

त्यस्तै, नुवाकोटका चार स्थानीय तहलाई ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। विदुर नगरपालिकालाई ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ५० लाख, किस्पाङ गाउँपालिकालाई ५० लाख र तारकेश्वर गाउँपालिकालाई १ करोड रुपैयाँ उपलब्ध गराइनेछ।

धादिङका चार स्थानीय तहका लागि १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ। गल्छी गाउँपालिकालाई ६० लाख, सिद्धलेक गाउँपालिकालाई ४० लाख, गजुरी गाउँपालिकालाई ४० लाख र बेनिघाट रोराङ गाउँपालिकालाई ४० लाख रुपैयाँ दिइनेछ।

यसैगरी, गोरखाको गण्डकी गाउँपालिकालाई ४० लाख तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई ४०–४० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार र पुनर्स्थापनाका काम जारी छन्।

निर्णय :

हेर्नुहोस् निर्णय :

Read More

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसोपछि मध्यम वर्षाको सम्भावना, उद्धारमा थप चुनौती

काठमाडौं भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा दिउँसोपछि वर्षाको सम्भावना छ।

विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटीस्थित मौसम मापन केन्द्रमा ६०.२ मिलिमिटर मापन भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा समेत मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।

बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले वर्षाका कारण टनेलमा पानी भरिँदा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्यमा थप चुनौती देखिएको बताएका छन्।

उनका अनुसार रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिएपछि पानी तान्ने पम्पसमेत डुबेको छ। सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेका छन्।

“बिहानैदेखि खोजी सुरु गरिएको छ । रातभरको वर्षाले पानी तान्ने पम्प छोपिएपछि सुरक्षाकर्मीले त्यसलाई निकाल्ने काम गरिरहेका छन्,” उनले भने।

जल तथा मौसम विज्ञान विभागले अझै तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले प्रभावित क्षेत्रमा थप समस्या आउन सक्ने जनाएको छ। वर्षाका कारण खोज तथा उद्धारसँगै अन्य व्यवस्थापन कार्यमा समेत चुनौती बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाइएको प्राधिकरणले जनाएको छ।

Read More

भोटेकोशी बाढीमा एक हजार १२७ शव फेला, चार हजार ८५८ बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म एक हजार १२७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा नौ जना रहेका छन्।

बाढीपछि विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहेको छ। उद्धार तथा खोजतलासका क्रममा फेला परेका शवको पहिचान, कानुनी प्रक्रिया पूरा गर्ने तथा परिवारलाई हस्तान्तरण गर्ने कामसमेत अघि बढिरहेको प्रहरीले जनाएको छ।

एक हजार ११३ शवको लाशजाँच मुचुल्का

प्रहरीका अनुसार फेला परेका एक हजार १२७ शवमध्ये एक हजार ११३ वटाको लाशजाँच मुचुल्का सम्पन्न भएको छ। हालसम्म ९५ वटा शव पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई हस्तान्तरण गरिएको छ।

पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ। शवको पहिचान खुलाउन विभिन्न माध्यमबाट विवरण संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सात हजारभन्दा बढी प्रहरी परिचालन

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ५४१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

बेपत्ता भएका चार हजार ८५८ जनाको खोजी कार्यसमेत जारी रहेको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले सम्भावित स्थानमा खोजतलासलाई निरन्तरता दिइरहेका छन्।

जोखिममा रहेका परिवारको स्थानान्तरण

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जनाएको छ। प्रभावित नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै स्थानीय तह, अन्य सरकारी निकाय तथा स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा खोजी कार्य भइरहेको छ।

अवरुद्ध सडक खुलाउने काम जारी

बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ। उद्धार टोलीको आवागमन तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन सहज होस् भन्ने उद्देश्यले अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

Read More

बाढीपहिरोले देशका सडक यातायात प्रभावित

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले बुधबार बिहान ६ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको छ। कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडकमा जोखिमको अवस्था हेरेर सीमित समयका लागि मात्र सवारी सञ्चालन गर्न दिइएको छ। लगातारको वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

बागमती प्रदेश

बागमती प्रदेशका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक–काठमाडौं चल्ने सम्पूर्ण सवारीसाधनमा रातिको समयमा सञ्चालनमा रोक लगाइएको छ। विवरणअनुसार साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन गर्न पाइने छैन भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सडकको अवस्था हेरी यातायात सञ्चालन गरिनेछ।

रसुवा

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीको जोखिम र सडकको अवस्थालाई ध्यानमा राख्दै मुख्य सडकखण्डसमेत अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको प्रहरीले जनाएको छ।

नुवाकोट

नुवाकोटमा बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्ड, पासाङल्हामु सडकखण्ड तथा विदुर–लच्याङ सडक प्रभावित भएका छन्। तीमध्ये केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। वर्षा जारी रहेकाले सडकको अवस्था थप बिग्रन सक्ने सम्भावना रहेको छ।

धादिङ

धादिङमा पृथ्वी लोकमार्गअन्तर्गत बेनीघाट–रोराङ गाउँपालिका तथा गजुरी क्षेत्रमा पहिरोका कारण सडक प्रभावित भएको छ। पछिल्लो विवरणअनुसार बेनीघाट–रोराङ क्षेत्रमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। सडकमा पहिरो खस्ने क्रम तथा वर्षाको अवस्थाका कारण यातायात सञ्चालनमा थप समस्या आउन सक्ने भएकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको लमजुङमा पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पहिरोका कारण सम्बन्धित सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ। सडक खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण तत्काल यातायात सहज हुन कठिनाइ हुन सक्ने जनाइएको छ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको मुगुमा पनि पहिरोका कारण सडक यातायात अवरुद्ध भएको छ। छायाँनाथ रारा नगरपालिका–४ ताल्चा क्षेत्रमा मुगु–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। पहिरोका कारण सडक बन्द भएपछि स्थानीय तथा लामो दूरीका यात्रु प्रभावित भएका छन्।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको बैतडीमा पहिरोका कारण गोठालापानी–झुलाघाट सडकखण्ड प्रभावित भएको छ। दशरथचन्द नगरपालिका क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। वर्षा जारी रहेकाले पहिरोको जोखिम अझै कायम रहेकाले सडकमा यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रहरीले वर्षा, बाढी तथा पहिरोका कारण सडकको अवस्था निरन्तर परिवर्तन हुन सक्ने जनाएको छ। त्यसैले यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र आवागमन गर्न आग्रह गरिएको छ। जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न तथा सडक अवरुद्ध भएको अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्नसमेत प्रहरीले अनुरोध गरेको छ।

Read More

भोटेकोशी र त्रिशूली नदीमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि दुवै नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि जोखिम कायमै रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो।

बाढी पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ र डोल्पा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

त्यस्तै, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा पनि बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।

नुवाकोट र रसुवाबाट बहने साना नदी तथा खोलामा भने पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Read More

२५ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम

काठमाडौं ।आज देशका विभिन्न २५ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ।

नेपाल बाढी सूचनाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताइएको छ। नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैगरी, नुवाकोट र रसुवामा भने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्नुका साथै आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाइएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

Read More

भोटेकोशी बाढीपछि फेला परेका २८० शवको फरेन्सिक परीक्षण र डीएनए नमुना संकलन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको फरेन्सिक परीक्षण तथा डीएनए नमुना संकलन गरी चितवनको देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ १० गते रातिदेखि सुरक्षाकर्मीले त्रिशूली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याएर संरक्षण गरिएको थियो। भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डीएनएलगायत जैविक नमुना संकलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव संकलन गरिएको छ। तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन्।

संकलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका तथा १२६ वटा पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन्।

प्रहरीका अनुसार भविष्यमा पहिचान गर्न सकिने गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार देवघाटस्थित व्यवस्थापनस्थलमा शवहरू सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो।

भदौ १३ गते ९६ शव, भदौ १४ गते १०३ शव र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

उनका अनुसार नदी किनारमा शव खोजी गर्ने कार्य अझै दैनिक रूपमा जारी छ। नदीबाट फेला परेका शवलाई भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण तथा डीएनए नमुना संकलन गरेपछि देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको छ।

Read More