काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा दिउँसोपछि वर्षाको सम्भावना छ।
विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटीस्थित मौसम मापन केन्द्रमा ६०.२ मिलिमिटर मापन भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा समेत मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।
बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले वर्षाका कारण टनेलमा पानी भरिँदा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्यमा थप चुनौती देखिएको बताएका छन्।
उनका अनुसार रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिएपछि पानी तान्ने पम्पसमेत डुबेको छ। सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेका छन्।
“बिहानैदेखि खोजी सुरु गरिएको छ । रातभरको वर्षाले पानी तान्ने पम्प छोपिएपछि सुरक्षाकर्मीले त्यसलाई निकाल्ने काम गरिरहेका छन्,” उनले भने।
जल तथा मौसम विज्ञान विभागले अझै तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले प्रभावित क्षेत्रमा थप समस्या आउन सक्ने जनाएको छ। वर्षाका कारण खोज तथा उद्धारसँगै अन्य व्यवस्थापन कार्यमा समेत चुनौती बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाइएको प्राधिकरणले जनाएको छ।




