काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा दलीय आधारमा मन्तव्य राख्दै प्रचण्डले संकटका बेला सरकार जनताको साथमा उभिनुपर्ने बताए। उनले भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिको सामना गर्न तीनै तहका सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा आमनागरिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्नेमा जोड दिए।
“भोटेकोशी महाविपत्तिको सामना गर्न सबै तहको सरकार, जनप्रतिनिधि, नागरिक समाज र आमनागरिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्छ,” उनले भने, “सुरक्षाकर्मी परिचालनले मात्रै पुग्दैन, सँगसँगै जनपरिचालन पनि गर्नुपर्छ।”
प्रचण्डले संघ, प्रदेश र स्थानीय सरकारसँगै जनप्रतिनिधिलाई समेत विपद्का बेला थप सक्रिय बनाउनुपर्ने बताए।
२०७२ सालको भूकम्पलगायत राष्ट्रिय संकटका बेला आफूहरूले विपक्षीका रूपमा सरकारलाई साथ दिएको स्मरण गर्दै उनले बाढीपछि खोज, उद्धार र राहत वितरणमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए।
“बाढीपछिको उद्धारमा कमी–कमजोरी देखिए त्यसलाई सच्याएर जानुपर्छ। राहत, तत्काल पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सरकार गम्भीर बन्नुपर्छ,” प्रचण्डले भने।
राष्ट्रिय एकता, समन्वय र सहकार्यको नेतृत्व गर्ने अवसर सरकारसँग रहेको भन्दै उनले यसतर्फ सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी गम्भीर हुनुपर्ने बताए।
प्रचण्डले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढ्दै गएको उल्लेख गर्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषयलाई थप सशक्त रूपमा उठाउनुपर्नेमा समेत जोड दिए।


