२०८३ भाद्र २८

रवि लामिछाने र चिनियाँ राजदूत माओ मिङबीच भेट, विपद् व्यवस्थापनमा सहकार्यबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता भएको छ।

लामिछानेको बूढानीलकण्ठस्थित निवासमा बुधबार दिउँसो भएको भेटमा राजदूत माओले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

भेटमा उनले खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्मका काममा चीन नेपालसँगै रहेको बताए। नेपाललाई आवश्यक जुनसुकै सहयोग उपलब्ध गराउन चीन तयार रहेको जानकारी पनि उनले गराएको लामिछानेको सचिवालयले जनाएको छ।

राजदूत माओले विपद् लगत्तैदेखि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक जनशक्ति तथा सहयोग नेपाल पठाउँदै आएको र आवश्यकता रहेसम्म सहयोग जारी राख्ने बताएका थिए।

भेटमा लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा थप सहकार्यका लागि आग्रह गरे।

भेटमा नेपालमा विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत तथा पुनर्निर्माणका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।