काठमाडौं । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत वितरण र स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ।
सेनाका अनुसार मंगलबार साँझ ७ बजेसम्म हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार गरिएको छ। हालसम्म हवाई माध्यमबाट २७३ जना विदेशी नागरिकसहित ३ हजार ८९१ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
यस्तै, धुन्चे, कोलोनी, बेत्रावती र त्रिशूली–३ए क्षेत्रमा हेलिकप्टरमार्फत २ हजार ५०० केजी राहत सामग्री ढुवानी गरिएको छ।
चिलिमे हाइड्रोको टनेल पूर्ण रूपमा पुरिएको अवस्थामा
चिलिमे हाइड्रोमा विदेशीसहित २६ सदस्यीय संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटर प्रवेश गरे पनि त्यसपछि भिरालो भाग सुरु भएको र टनेल पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ।
त्यस्तै, अपर त्रिशूली–१ को हाँकूमा खटिएको संयुक्त टोली करिब १६० मिटर टनेलभित्र पुगेपछि टनेल टालिएको अवस्थामा फेला परेको छ।
त्रिशूली–३एमा तीन एक्स्काभेटरबाट माटो हटाइँदै
त्रिशूली–३एमा टनेल हेड पहिचान गरी तीन वटा एक्स्काभेटर प्रयोग गरेर माटो हटाउने काम भइरहेको सेनाले जनाएको छ।
कम्प्रेसर र रक ब्रेकर प्रयोग गरी इनलेट टनेलमा बनाइएको होलबाट अत्यधिक पानी आएको छ। उक्त स्थानबाट प्रवेश गर्न सम्भव नदेखिएपछि आउटलेटतर्फबाट पुनः होल बनाउने काम जारी रहेको सेनाले जनाएको छ।





