काठमाडौं । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध गराइएको ६ करोड ७५ लाख रुपैयाँमा थप ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो।
थप रकम विनियोजन भएसँगै बाढी प्रभावित स्थानीय तहका लागि उपलब्ध गराइने कुल रकम १३ करोड ५० लाख रुपैयाँ पुगेको छ।
निर्णयअनुसार रसुवाका चार स्थानीय तहलाई ४ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइनेछ। उत्तरगया गाउँपालिकालाई १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकालाई २ करोड, कालिका गाउँपालिकालाई ६० लाख र आमाछोदिङमो गाउँपालिकालाई ४० लाख रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, नुवाकोटका चार स्थानीय तहलाई ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। विदुर नगरपालिकालाई ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ५० लाख, किस्पाङ गाउँपालिकालाई ५० लाख र तारकेश्वर गाउँपालिकालाई १ करोड रुपैयाँ उपलब्ध गराइनेछ।
धादिङका चार स्थानीय तहका लागि १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ। गल्छी गाउँपालिकालाई ६० लाख, सिद्धलेक गाउँपालिकालाई ४० लाख, गजुरी गाउँपालिकालाई ४० लाख र बेनिघाट रोराङ गाउँपालिकालाई ४० लाख रुपैयाँ दिइनेछ।
यसैगरी, गोरखाको गण्डकी गाउँपालिकालाई ४० लाख तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई ४०–४० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार र पुनर्स्थापनाका काम जारी छन्।
निर्णय :
हेर्नुहोस् निर्णय :





