२०८३ भाद्र २९

बाढीका कारण नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावित नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्।

बाढीबाट प्रत्यक्ष प्रभावित विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन्। यस्तै, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका प्रभावित क्षेत्रका शैक्षिक संस्थामा समेत पठनपाठन स्थगित गरिएको छ।

बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावक बेपत्ता भएका छन्। विद्यालय भवन, सडक तथा पुलमा समेत क्षति पुगेपछि आवतजावत कठिन भएकाले तत्काल विद्यालय सञ्चालन गर्न नसकिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार जनजीवन सामान्य बन्दै गएपछि र नदी वारपार गर्न सहज भएपछि मात्र पठनपाठन पुनः सञ्चालन गरिनेछ।

विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढीको पूर्वसूचना प्राप्त भए पनि क्षतिको अवस्था अनुमान गरिएभन्दा निकै ठूलो छ। “केही विद्यालयले उच्च सतर्कता अपनाएकाले ठूलो दुर्घटना हुनबाट जोगियो,” उनले भने, “अहिलेको असामान्य अवस्थामा भौतिक उपस्थितिमै तत्काल पठनपाठन सञ्चालन गर्न सम्भव छैन। केही समयपछि वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्ने योजना बनाउँदैछौँ।”

त्रिशूली नदीमा आएको बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगर क्षेत्रका ८३ विद्यालयमध्ये एक दर्जनभन्दा बढी विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढीका कारण विद्यालयका भौतिक संरचना, शैक्षिक सामग्री तथा अन्य सम्पत्तिमा समेत करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक विवरण छ।

Read More

बाढीपहिरो प्रभावित नेपालमा भारतको थप सहयोग

काठमाडौं । बाढीपहिरो प्रभावित नेपालमा खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन भारतले थप जनशक्ति, उपकरण र औषधि पठाएको छ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार नेपालका लागि भारतबाट पाँचौँ राहत विमान उडेको हो। उक्त विमानमा ११ सदस्यीय विशेष उद्धार टोली, खोज तथा उद्धारमा प्रयोग हुने अत्याधुनिक उपकरण र ५.५ टन अत्यावश्यक औषधि पठाइएको छ।

जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालका लागि पाँचौँ विमान प्रस्थान गरेको जानकारी दिँदै त्यसमा उद्धार टोली, विशेष उपकरण र औषधि रहेको बताएका छन्।

नेपालमा पछिल्लो समय बाढी र पहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि भारतले चरणबद्ध रूपमा राहत सहयोग उपलब्ध गराउँदै आएको छ। यसअघि भारतले नेपाललाई राहत सामग्री, खाद्यान्न तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराइसकेको जनाएको छ।

Read More

बाढी प्रभावित तीन जिल्लामा सशस्त्र प्रहरीका १२ अस्थायी बेस

काठमाडौं । बाढी तथा पहिरो प्रभावित धादिङ, नुवाकोट र रसुवामा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले १२ वटा अस्थायी बेस सञ्चालनमा ल्याएको छ।

सशस्त्र प्रहरीका अनुसार धादिङमा दुई, नुवाकोटमा छ र रसुवामा चार बेस स्थापना गरिएका छन्। धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा रसुवाका त्रिशूली हाइड्रो–३ए, त्रिशूली हाइड्रो–३बी, स्याफ्रुबेँसी र बोगटिटारमा बेस राखिएका छन्।

उद्धारलाई थप प्रभावकारी बनाउन मलेखु र तारकेश्वरमा मेडिकल टोलीसमेत परिचालन गरिएको छ। प्रत्येक बेसमा १५ देखि ३५ जनासम्म उद्धारकर्मी खटाइएको छ भने विशेष तालिमप्राप्त जनशक्तिलाई पनि परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धार टोलीले ड्रोन, तालिमप्राप्त कुकुर, गोताखोर, रोप रेस्क्यु तथा स्विफ्ट वाटर रेस्क्यु उपकरण प्रयोग गरिरहेको छ। साथै मेडिकल फर्स्ट रेस्पोन्डर, डेड बडी म्यानेजमेन्ट र मास क्याजुअल्टी भेहिकललगायत विशेष टोलीसमेत परिचालन गरिएको छ।

प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई थप तीव्र बनाउन आवश्यकता अनुसार थप जनशक्ति र उपकरण परिचालन गरिने सशस्त्र प्रहरीले जनाएको छ।

Read More

अमेरिका–इरान तनाव चर्कियो, अमेरिकी सैन्य अखडामा तेहरानको जवाफी आक्रमण

काठमाडौं । अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ। जवाफमा इरानले इराक र जोर्डनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ।

दक्षिणी इरानको सिरिकमा अमेरिकी आक्रमणको छर्रा विवाह समारोह भइरहेको घरमा खस्दा एक बालकसहित चार जनाको मृत्यु भएको इरानी रेड क्रसले जनाएको छ। घटनामा ५० भन्दा बढी घाइते भएका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार सिरिक आक्रमणपछि जोर्डनको अकबास्थित अमेरिकी मरीन बेसमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो। जोर्डनले १३ क्षेप्यास्त्र रोकेको र १० वटा नष्ट गरेको जनाएको छ। आक्रमणबाट मानवीय क्षति नभएको बताइएको छ।

कुवेतले पनि इरानी क्षेप्यास्त्रको प्रतिकार गरिरहेको जनाएको छ भने बहराइनमा समेत विस्फोट भएको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजमाथि आक्रमणको प्रयास भएपछि आईआरजीसीका सैन्य संरचनामाथि कारबाही गरिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले थप आक्रमण गरे त्यसको जवाफ अझ कडा हुने चेतावनी दिएका छन्।

इरानी सञ्चारमाध्यमले चाबहार, कोनारक र जिरोफ्टका विमानस्थलसहित केही क्षेत्रमा अमेरिकी आक्रमण भएको दाबी गरेका छन्।

यसअघि अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक हमला गरेका थिए। त्यसपछि इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडामाथि जवाफी आक्रमण गरेको थियो।

तनाव बढिरहेका बेला इरानी राष्ट्रपति मासौद पेजेस्कियानले अमेरिका समझदारीमा फर्किए इरान पनि वार्ताका लागि तयार रहेको बताएका छन्।

Read More

चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ को व्यवस्थापन, पहिचानका लागि डीएनए परीक्षण तीव्र

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म आइपुगेका शवको खोजी, पहिचान र व्यवस्थापन जारी छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म चितवनमा ३४८ शव फेला परेका छन्, जसमध्ये ३३५ शवको व्यवस्थापन भइसकेको छ।

व्यवस्थापन गरिएका शवमध्ये १२९ जनाको लिङ्गसमेत पहिचान हुन सकेको छैन। पहिचान खुल्न नसकेका शवको डीएनए नमूना सुरक्षित राखेर भरतपुर महानगरपालिका–१ देवघाटस्थित जङ्गल क्षेत्रमा खाडल बनाएर व्यवस्थापन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवमध्ये १२ जनाको सनाखत भएको छ भने एक शव व्यवस्थापन गर्न बाँकी छ।

शव व्यवस्थापनका लागि स्थान अभाव भएपछि शनिबारदेखि डीएनए नमूना संकलन गरी देवघाटको जङ्गल क्षेत्रमा शव व्यवस्थापन गर्न थालिएको हो। शनिबार ९६, आइतबार १०३, सोमबार ८१ र मंगलबार ५५ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

व्यवस्थापन गरिएका शवमा लिङ्ग पहिचान नभएका १२९, पुरुष १०७, महिला ७३, बालिका १५ र बालक ११ जना छन्। शवबाट संकलित डीएनए नमूना सुरक्षित राखिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

सनाखत भएका शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षणपछि परिवारलाई बुझाइएको छ। नदी किनारमा थप शव फेला पर्ने क्रम भने जारी छ। खोजी तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

डीएनए नमूना संकलन

हराइरहेका व्यक्तिको पहिचानका लागि चितवनमा आफन्तबाट डीएनए नमूना संकलन थालिएको छ। जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहकार्यमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घ परिसरमा मंगलबारदेखि नमूना संकलन सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नमूना संकलन भइरहेको छ।

शवसँग पहिलो तहको नाता पर्ने बुबा, आमा, छोरा वा छोरीमध्ये उपलब्ध एक जनाको रगतको नमूना डीएनए परीक्षणका लागि लिइनेछ। नमूना दिन आउने व्यक्तिले आधिकारिक परिचयपत्र र दुई प्रति पासपोर्ट आकारका फोटो ल्याउनुपर्ने प्रहरीले जनाएको छ।

नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलका अनुसार शवबाट मुख्यतः दाँत र हड्डीको नमूना लिएर डीएनए प्रोफाइल तयार गरिन्छ। त्यसपछि आफन्तबाट संकलित नमूनासँग तुलना गरी पहिचान गर्ने प्रक्रिया अघि बढाइन्छ।

पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमूनाबाट समेत परीक्षण गर्न सकिने पोखरेलले बताए। नेपालमा उपलब्ध प्रयोगशाला क्षमता र आवश्यकताअनुसार विदेशी सहयोगसमेत परिचालन गरी करिब १२ हप्ता अर्थात् तीन महिनाभित्र परीक्षण तथा डीएनए म्याचिङ पूरा गर्ने लक्ष्य राखिएको छ।

देश तथा विदेशबाट नमूना

चितवनबाहिर रहेका आफन्तले आफू बसेको जिल्लाको जिल्ला प्रहरी कार्यालयमार्फत डीएनए नमूना दिन सक्ने व्यवस्था गरिएको छ।

विदेशमा रहेका आफन्तले सम्बन्धित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत नमूना उपलब्ध गराउन सक्नेछन्। नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत डीएनए प्रोफाइलको ‘सफ्ट कपी’ पठाएर पनि पहिचान प्रक्रियामा सहभागी हुन सकिने प्रहरीले जनाएको छ।

देवघाटमा श्रद्धाञ्जली

देवघाटस्थित अस्थायी शव व्यवस्थापन क्षेत्रमा मंगलबार साँझ दीप प्रज्ज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, अस्पतालका प्रमुख तथा सर्वसाधारणको सहभागिता थियो। विभिन्न समुदायका नागरिकले दीप प्रज्ज्वलन गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

रामजानकी बालिका आश्रम देवघाटका कन्याहरूले गीता पाठ गरेका थिए भने विभिन्न धार्मिक समुदायका प्रतिनिधिले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीप प्रज्ज्वलन गर्दै दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरे।

देवघाटमा गरिएको व्यवस्थापन अन्तिम संस्कार नभई मृतकको पहिचान नखुलेसम्मका लागि गरिएको अस्थायी व्यवस्थापन मात्र भएको स्पष्ट पारिएको छ। उक्त क्षेत्रलाई १२ वर्षसम्म अस्थायी शव व्यवस्थापनस्थलका रूपमा प्रयोग गरिने जनाइएको छ।

Read More

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसोपछि मध्यम वर्षाको सम्भावना, उद्धारमा थप चुनौती

काठमाडौं भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा दिउँसोपछि वर्षाको सम्भावना छ।

विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटीस्थित मौसम मापन केन्द्रमा ६०.२ मिलिमिटर मापन भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा समेत मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।

बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले वर्षाका कारण टनेलमा पानी भरिँदा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्यमा थप चुनौती देखिएको बताएका छन्।

उनका अनुसार रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिएपछि पानी तान्ने पम्पसमेत डुबेको छ। सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेका छन्।

“बिहानैदेखि खोजी सुरु गरिएको छ । रातभरको वर्षाले पानी तान्ने पम्प छोपिएपछि सुरक्षाकर्मीले त्यसलाई निकाल्ने काम गरिरहेका छन्,” उनले भने।

जल तथा मौसम विज्ञान विभागले अझै तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले प्रभावित क्षेत्रमा थप समस्या आउन सक्ने जनाएको छ। वर्षाका कारण खोज तथा उद्धारसँगै अन्य व्यवस्थापन कार्यमा समेत चुनौती बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाइएको प्राधिकरणले जनाएको छ।

Read More

भोटेकोशी बाढीमा एक हजार १२७ शव फेला, चार हजार ८५८ बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म एक हजार १२७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा नौ जना रहेका छन्।

बाढीपछि विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहेको छ। उद्धार तथा खोजतलासका क्रममा फेला परेका शवको पहिचान, कानुनी प्रक्रिया पूरा गर्ने तथा परिवारलाई हस्तान्तरण गर्ने कामसमेत अघि बढिरहेको प्रहरीले जनाएको छ।

एक हजार ११३ शवको लाशजाँच मुचुल्का

प्रहरीका अनुसार फेला परेका एक हजार १२७ शवमध्ये एक हजार ११३ वटाको लाशजाँच मुचुल्का सम्पन्न भएको छ। हालसम्म ९५ वटा शव पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई हस्तान्तरण गरिएको छ।

पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ। शवको पहिचान खुलाउन विभिन्न माध्यमबाट विवरण संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सात हजारभन्दा बढी प्रहरी परिचालन

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ५४१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

बेपत्ता भएका चार हजार ८५८ जनाको खोजी कार्यसमेत जारी रहेको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले सम्भावित स्थानमा खोजतलासलाई निरन्तरता दिइरहेका छन्।

जोखिममा रहेका परिवारको स्थानान्तरण

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जनाएको छ। प्रभावित नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै स्थानीय तह, अन्य सरकारी निकाय तथा स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा खोजी कार्य भइरहेको छ।

अवरुद्ध सडक खुलाउने काम जारी

बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ। उद्धार टोलीको आवागमन तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन सहज होस् भन्ने उद्देश्यले अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

Read More

भोटेकोशी बाढीपछि पोखरा ल्याइएका १०२ शवमध्ये २१ को सनाखत

काठमाडौं । रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ। मंगलबार पहिचान खुलेका शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो।

पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच शव रहेका छन्।

पहिचान हुन बाँकी शवको थप परीक्षण

शवगृहमा रहेका पाँच शवमध्ये एकभन्दा बढी परिवारले तस्बिर हेरेर आफ्नो आफन्त भएको दाबी गरेकाले थप परीक्षण गर्न बाँकी रहेको बरालले बताए। पहिचान सुनिश्चित गर्न सबै शवको डिएनए नमुना संकलन गरिएको उनले जानकारी दिए।

“लामो समय शवगृहमा राख्दा दुर्गन्ध फैलनाका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको हो। सबै शवको डिएनए लिएका छौँ। परिवारको डिएनए मिलेको अवस्थामा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिन्छ,” बरालले भने।

विभिन्न जिल्लाबाट ल्याइएका शव व्यवस्थापन

धादिङबाट २२, गोरखाबाट सात, नवलपरासीबाट २५ र तनहुँबाट प्राप्त २२ शव व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ। बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट उद्धारका क्रममा भेटिएका शवलाई परीक्षण तथा पहिचानका लागि पोखरा ल्याइएको थियो।

सिसौघारीमा सुरक्षित रूपमा शव व्यवस्थापन

पहिचान हुन नसकेका शवलाई गहिरो खाडलमा हावा नछिर्ने प्लास्टिकको झोलामा राखेर सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत नम्बर दिई माटोले पुरिएको छ।

शव व्यवस्थापन गरिसकेपछि प्रत्येक स्थानमा गमला राखेर सम्बन्धित शवको सङ्केत नम्बर उल्लेख गरिएको ‘स्ट्यान्ड’ बनाइएको छ। यसबाट भविष्यमा डिएनए परीक्षण वा अन्य प्रक्रियाबाट पहिचान खुलेमा सम्बन्धित शवको स्थान पहिचान गर्न सहज हुने प्रशासनले जनाएको छ।

Read More

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठकमा समसामयिक तथा महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची रहेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ। बैठकमा रसुवामा आएको बाढी तथा पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा छलफल गरिने कार्यसूची रहेको छ। बाढीपहिरोका कारण पर्यटन पूर्वाधार, पर्यटकीय गन्तव्य तथा पर्यटन व्यवसायमा परेको असरका विषयमा समितिले छलफल गर्नेछ।

विधायन व्यवस्थापन समितिको बैठक मध्याह्न सवा १२ बजे बस्नेछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ। समितिले विधेयकका विभिन्न प्रावधानमाथि छलफल गरी आवश्यक सुझाव तथा संशोधनका विषयमा समेत विचार गर्नेछ।

Read More

प्रतिनिधिसभामा आज भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने

काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची रहेको छ।

भोटेकोशी बाढीबारे विशेष प्रस्ताव

बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नेछन्। गत भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत क्षेत्र प्रभावित भएका थिए। बाढीका कारण धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रसमेत प्रभावित भएका छन्।

सङ्घीय संसद् सचिवालयले उपलब्ध गराएको विशेष प्रस्तावमा बाढीका कारण ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै धेरैको मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति प्रतिनिधिसभाले गहिरो दुःख प्रकट गर्ने उल्लेख गरिएको छ।

विशेष प्रस्तावमा बाढीका कारण घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने उल्लेख छ।

प्रतिनिधिसभाको बैठकमा बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था तथा राहत र उद्धारका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

Read More