काठमाडौं । बाढीपहिरो प्रभावित नेपालमा खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन भारतले थप जनशक्ति, उपकरण र औषधि पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार नेपालका लागि भारतबाट पाँचौँ राहत विमान उडेको हो। उक्त विमानमा ११ सदस्यीय विशेष उद्धार टोली, खोज तथा उद्धारमा प्रयोग हुने अत्याधुनिक उपकरण र ५.५ टन अत्यावश्यक औषधि पठाइएको छ।
जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालका लागि पाँचौँ विमान प्रस्थान गरेको जानकारी दिँदै त्यसमा उद्धार टोली, विशेष उपकरण र औषधि रहेको बताएका छन्।
नेपालमा पछिल्लो समय बाढी र पहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि भारतले चरणबद्ध रूपमा राहत सहयोग उपलब्ध गराउँदै आएको छ। यसअघि भारतले नेपाललाई राहत सामग्री, खाद्यान्न तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराइसकेको जनाएको छ।




