काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोशी नदीमा मिसिँदा रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।
बाढीमा परी हालसम्म ९०३ जनाको मृत्यु भएको छ। तर, बाढीमा परेर कति जना बेपत्ता भएका छन् भन्ने यकिन तथ्याङ्क अझै सार्वजनिक हुन सकेको छैन। सरकारी निकायहरूले सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिको विवरण संकलन र प्रमाणीकरण गरिरहेका छन्।
नेपाल–चीन सीमामा रहेको चीनतर्फको भन्सार कार्यालय तथा केरुङ बजार क्षेत्रमा पुगेका नेपाली नागरिकमध्ये ९८ जना बेपत्ता भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।
रसुवामा सञ्चालित जलविद्युत् आयोजनामा कार्यरत विदेशी नागरिक तथा घुम्न पुगेका विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरूको वास्तविक संख्या भने नेपाल सरकारले अझै सार्वजनिक गर्न सकेको छैन।
रसुवामा निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना कोरियनसहित ३३२ जना ६ दिनदेखि सम्पर्कविहीन रहेको प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आयोजनाको सुरुङभित्र करिब ३०० जना फसेका छन्। उनीहरूको अवस्थाबारे अहिलेसम्म यकिन विवरण सार्वजनिक हुन सकेको छैन।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने रसुवागढी नाका, टिमुरेस्थित भन्सार कार्यालय र स्याफ्रुवेशी क्षेत्र बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। यी क्षेत्रमा घर भएका स्थानीय, सरकारी कर्मचारी तथा व्यापारिक प्रयोजनका लागि सामान लिन पुगेका धेरै मानिस सम्पर्कविहीन रहेको बताइएको छ।
सरकारले सम्पर्कविहीन व्यक्तिबारे जानकारी भए उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ। मोबाइलको रिङटोनलगायत विभिन्न माध्यमबाट सम्भावित बेपत्ताको विवरण संकलन गर्ने प्रयास भइरहेको छ।
काठमाडौँ र नुवाकोट हुँदै रसुवातर्फ कुन समयमा कति मानिस पुगेका थिए भन्ने यकिन विवरण राख्ने प्रणाली नहुँदा सम्पर्कविहीन व्यक्तिको वास्तविक संख्या पहिचान गर्न कठिनाइ भएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्।
रसुवाको इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी रसुवागढीमा कार्यरत २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। त्यस्तै, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना सुरक्षाकर्मी तथा रसुवागढी भन्सार कार्यालयका १५ जना कर्मचारी पनि सम्पर्कमा आएका छैनन्।
रसुवागढी अध्यागमन कार्यालयमा कार्यरत ३ जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको जनाइएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अनुसार रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ४ हजार २४७ जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क भने फरक छ। प्रहरीका अनुसार ४ हजार ६०८ जना नागरिक सम्पर्कविहीन छन्।
प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले आफन्त तथा अन्य स्रोतबाट प्राप्त सूचनालाई प्रमाणीकरण गरेर मात्रै सम्पर्कविहीन व्यक्तिको संख्या यकिन गर्ने गरिएको बताएका छन्।
बेपत्ताको सूची सार्वजनिक गर्न भइरहेको ढिलाइबारे डीआईजी काफ्लेले आपत्कालीन अवस्थामा प्राप्त हुने प्रारम्भिक सूचनालाई क्रमशः प्रमाणीकरण गर्दै वास्तविक विवरण तयार गर्नुपर्ने अवस्था रहेको बताएका छन्।
विपद् प्राधिकरणका अनुसार रसुवाका ८६५ जना र नुवाकोटको नदी तटीय क्षेत्रका १ हजार ५५८ जना सम्पर्कविहीन छन्। त्यस्तै, जलविद्युत् आयोजनाबाट ९३३ जना, मकवानपुर घर भएर रसुवा पुगेका ६५ जना तथा विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली नागरिक बेपत्ता रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।
लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना तथा रसुवास्थित क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
प्रत्यक्षदर्शी तथा प्रभावित परिवारहरूले रसुवाका विभिन्न क्षेत्रमा अझै धेरै मानिस सम्पर्कविहीन रहेको आशंका गरेका छन्। तर, सुरक्षाकर्मी र सरकारी कर्मचारीबाहेक अन्य व्यक्तिको सम्पर्कविहीन अवस्थाबारे सरकारसँग अझै पूर्ण र यकिन विवरण उपलब्ध छैन।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रहरी र विपद् प्राधिकरणले सम्पर्कविहीन व्यक्तिको सूची प्रमाणीकरण तथा अद्यावधिक गरिरहेको बताएका छन्।
बाढीका कारण विभिन्न क्षेत्रमा अलपत्र परेका १० हजार ४५१ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। प्रभावितहरूको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको हो।
विपद् प्राधिकरणका अनुसार हवाई उद्धारका लागि हालसम्म ४११ पटक हेलिकप्टर उडान गरिएको छ। विपद्को छैटौँ दिन सोमबार पनि प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।
Read More