काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ १५ गते बिहान ९ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।
प्राधिकरणका अनुसार बाढीमा बगाएका शव विभिन्न जिल्लामा फेला परेका छन्। चितवनमा २७२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये केही मानव अङ्ग मात्र रहेको तथा पहिचान हुन नसकेका शवलाई विभिन्न २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ।
बाढीमा परी हालसम्म २६७ जना घाइते भएका छन्। तीमध्ये १५६ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा ६ वटा विशेष सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ।
विपद्का कारण अझै ४ हजार २४७ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा रसुवाका ८६५, नुवाकोटका १ हजार ५५८, जलविद्युत् आयोजनामा कार्यरत ९३३ र ५९२ जना विदेशी नागरिक रहेका छन्। यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ८३ जना तथा भन्सार र अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीनको सूचीमा छन्।
२० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
खोज तथा उद्धार कार्यका लागि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। हालसम्म नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २० हजार ८१९ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्।
नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म ४११ पटक उडान गरी १० हजार ४५१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ३४४ नेपाली र २५२ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ।
प्रभावित जिल्लामा करोडौँ रुपैयाँ राहत
सरकारले राहत वितरणलाई समेत तीव्रता दिएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ।
त्यस्तै, प्रभावित १५ वटा स्थानीय तहका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
स्थल तथा हवाई मार्गबाट प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने काम भइरहेको छ। हालसम्म ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।
भदौ १४ गते मात्रै रसुवाका लागि ५ वटा पोर्टेबल जेनेरेटर, औषधि तथा स्वास्थ्य सामग्री पठाइएको थियो। नुवाकोटमा भने १६ वटा सवारीसाधन तथा हेलिकप्टरमार्फत राहत सामग्री परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा इन्धनको मौज्दात पर्याप्त
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा हाल इन्धनको मौज्दात पर्याप्त रहेको छ। त्यहाँ २५ हजार लिटर डिजेल, २१ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाई इन्धन मौज्दात रहेको जनाइएको छ।




