२०८३ कार्तिक १६

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गको खोजी

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीरमा आइतबार बिहानदेखि सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ। त्रिशूली नदीले सडकको जग निरन्तर कटान गरिरहेका कारण तत्काल सडक मर्मत गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेपछि वैकल्पिक मार्गको अध्ययन सुरु गरिएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भासिने क्रम जारी छ। सडकको करिब १०० मिटर भाग भासिनुका साथै चिरिएको छ। जोखिम बढेपछि पैदलयात्रासमेत रोकिएको छ।

उनका अनुसार तत्काल सडक निर्माण वा मर्मत गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन। त्यसैले विज्ञहरूको टोलीले वैकल्पिक मार्गको अध्ययन सुरु गरेको छ।

पश्चिम खण्ड प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीले सडक तत्काल सञ्चालन गर्न नसकिने अवस्था आएपछि वैकल्पिक मार्गको खोजी थालिएको बताइन्। उनका अनुसार नदीको कटानका कारण सडकको भित्तोसहित आसपासको भूभागमा समेत चिरा परेको छ।

“खोलाले कटान गरिरहेको छ। कति झर्छ भन्ने यकिन भन्न सकिने अवस्था छैन,” अधिकारीले भनिन्।

सडकको भित्तोमाथि रहेको डाँडाको अवस्थासमेत अध्ययन भइरहेको उनले जानकारी दिइन्। विषयविज्ञबाट विस्तृत अध्ययन गराएपछि कसरी काम अघि बढाउने भन्ने टुंगो लाग्ने उनको भनाइ छ।

डाँडामाथि बस्तीसमेत रहेकाले सडकको भित्तो काटेर तत्काल मर्मत गर्न सम्भव नभएको अधिकारीले बताइन्। “भित्तो काट्न मिल्दैन। माथितिर बस्ती छ। अहिले हामी तत्काल चलाउन सक्दैनौँ,” उनले भनिन्।

सडक तत्काल सञ्चालन गर्न नसकिने भएपछि धादिङको बेनीघाट–आरुघाट–गोरखा, गल्छी–धादिङको सुनौलो बजार–धादिङबेसी–सल्यानटार–गोरखालगायतका वैकल्पिक सडकको अध्ययन भइरहेको छ।

पृथ्वी राजमार्गबाट त्रिशूली नदी पार गरी अन्य राम्रो सडक प्रयोग गर्दै गन्तव्यतर्फ जान सकिने सम्भावित मार्गको खोजी भइरहेको अधिकारीले बताइन्। तत्काल मर्मत गरेर सञ्चालन गर्न सकिने सडक पहिचान गरी प्रयोगमा ल्याउने तयारी भइरहेको छ।

पूर्वबाट आउने सवारीसाधनले मकवानपुरतर्फका वैकल्पिक सडक प्रयोग गर्न सक्ने भए पनि पश्चिम तथा पोखरातर्फ जाने सवारीसाधनका लागि गोरखातर्फबाट वैकल्पिक मार्ग खोजी भइरहेको छ।

पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई जोड्ने महत्वपूर्ण ‘लाइफलाइन’ सडकका रूपमा रहेको छ। यस सडकमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन्। राजधानीमा ग्यासका बुलेटलगायत ठूला सवारीसाधनसमेत यही मार्गबाट आवतजावत गर्ने भएकाले कृष्णभीरमा सडक अवरुद्ध हुँदा यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने देखिएको छ।

केही वर्षअघिसम्म पहिरो तथा सडक भासिने समस्याले निकै दुःख दिएको कृष्णभीरमा मर्मतसम्भार तथा पहिरो रोकथामका काम गरिएपछि पछिल्ला वर्षहरूमा समस्या देखिएको थिएन। तर, त्रिशूली नदीको निरन्तर कटानका कारण पुनः सडक जोखिममा परेको हो।

Read More

पुवाखोलामा २३० फिट लामो बेलिब्रिज जडान सुरु

काठमाडौं। इलामको पुवाखोलामा बेलिब्रिज पुल जडानको काम सुरु गरिएको छ। २३० फिट लम्बाइ र १४ फिट चौडाइको उक्त बेलिब्रिज जडान सुरु भएको हो।

सङ्घीय सरकारको २ करोड २० लाख ३४ हजार २३१ रुपैयाँ लागतमा बेलिब्रिज जडान गर्न लागिएको हो। सडक डिभिजन कार्यालय, इलामका प्राविधिक अर्जुन घिमिरेका अनुसार पुल दुई साताभित्र जडान गरी सञ्चालनमा ल्याउने तयारी छ।

इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने उक्त पुल जडानका लागि भारतबाट प्राविधिक टोली नेपाल आइपुगेको छ।

पुल जडानका लागि आवश्यक सिभिल संरचना गत आर्थिक वर्षमै तयार भइसकेको थियो। भारत सरकारको अनुदानस्वरूप नेपालले उक्त बेलिब्रिज प्राप्त गरेको हो।

बेलिब्रिज जडानको काम सुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन्। पुल सञ्चालनमा आएपछि उक्त सडक मेची राजमार्गको वैकल्पिक मार्ग बन्न सक्ने इलाम नगरपालिका–९ का प्रकाश नेपालले बताए।

बेलिब्रिज निर्माण सम्पन्न भएपछि वर्षायाममा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मेची राजमार्गको वैकल्पिक सडकका रूपमा लिइएको उक्त सडक इलामदेखि बिर्तामोडसम्म करिब ५० किलोमिटर दूरीको छ। इलाम खण्डअन्तर्गत माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी १७ किलोमिटरमध्ये १४ किलोमिटर सडक निर्माणाधीन रहेको छ।

Read More

प्रधानमन्त्री बालेन शाह र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री शाहलाई भेट्न लामिछाने केहीबेरअघि सिंहदरबार पुगेका हुन्। भेटका क्रममा रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा फसेका नागरिकको उद्धार, राहत तथा प्रभावित क्षेत्रमा गर्नुपर्ने आवश्यक व्यवस्थापनका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

लामिछानेले आइतबार बाढी प्रभावित क्षेत्रका विभिन्न पालिकाका प्रमुख तथा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसँग भेट गरी प्रभावित क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपायबारे जानकारी लिएका थिए।

उक्त भेटपछि लामिछानेले बाढी प्रभावित नागरिकको उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक पहलका विषयमा प्रधानमन्त्री शाहसँग छलफल गरेका हुन्।

Read More

बाढीको प्रभाव सेयर बजारमा, नेप्से ४३ अंकले घट्यो

काठमाडौं। प्राकृतिक विपद्को प्रभाव सेयर बजारमा समेत देखिएको छ। रसुवामा आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाका संरचनामा क्षति पुगेपछि लगानीकर्तामा बढेको चिन्ताले बजारमा ठूलो गिरावट आएको हो।

भदौ १० गते आएको भीषण बाढीबाट रसुवा र नुवाकोटमा सञ्चालित ६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। त्यसको प्रभाव साताको पहिलो कारोबार दिन सोमबारको सेयर बजारमा देखिएको हो।

सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा झरेको छ। यस दिन ३४७ वटा स्क्रिप्सको ९३ लाख २२ हजार १८५ कित्ता सेयर ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार ८७८ रुपैयाँमा खरिदबिक्री भएको छ।

यस दिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १३.१६ प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य १४.९८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको करिब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको १५ करोड, रिलायन्स स्पिनिङ मिल्स र चिलिमे हाइड्रोपावरको १२/१२ करोड तथा एसवाइ प्यानल नेपालको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार कारोबारमा आएका कम्पनीमध्ये २१ वटा स्टक्सको मूल्य बढेको छ भने २५३ वटाको घटेको छ। चार वटा स्टक्सको मूल्य भने स्थिर रहेको छ।

समूहतर्फ म्युचुअल फन्ड उपसमूहबाहेक अन्य सबै समूहका उपसूचक नकारात्मक देखिएका छन्।

Read More

गगन थापाद्वारा बाढी प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। बाढीका कारण भएको क्षति तथा प्रभावित नागरिकको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन थापा सोमबार ती क्षेत्रमा पुगेका हुन्।

नेपाली कांग्रेस नुवाकोटका नेता जगदिश्वरनरसिंह केसीका अनुसार महामन्त्री थापाले धादिङको गल्छीस्थित पुल पार गरेपछि कोल्पुटारलगायत बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए।

धादिङका प्रभावित क्षेत्रको अवस्था बुझेपछि थापा नुवाकोट पुगेका थिए। नुवाकोटमा उनले तारुकाघाट, दर्शनदार, देविघाट र गौरीबेसीलगायतका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा थापाले बाढीबाट भएको भौतिक क्षति, खेतीयोग्य जमिनको अवस्था तथा विस्थापित परिवारले भोगिरहेका समस्याबारे जानकारी लिएको नेता केसीले बताए।

विभिन्न प्रभावित क्षेत्रको निरीक्षणपछि थापा नुवाकोटको हात्तिगौडा कोलोनीस्थित होल्डिङ सेन्टरमा पुगेका थिए। त्यहाँ उनले विस्थापित भएर बसेका नागरिकहरूको अवस्था तथा उनीहरूका लागि उपलब्ध गराइएको गाँस र बासको व्यवस्थापनबारे जानकारी लिएको नेता केसीले बताए।

Read More

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेनाको टोली फर्कियो

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजीका लागि खटिएको नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

सुरुङभित्र खोजी गर्दा कुनै पनि व्यक्ति फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा परिचालित उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीपछि आयोजनाको सुरुङभित्र कामदारहरू फसेको हुनसक्ने आशंका गरिएको थियो। त्यसपछि नेपाली सेनाको टोली इन्जिनियर तथा ड्रोन टोलीसहित खोजीमा परिचालन भएको थियो।

सेनाको टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर खोजी गरेको थियो। त्यस क्रममा ड्रोनसमेत प्रयोग गरेर सुरुङका विभिन्न क्षेत्रमा निरीक्षण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

खोजीका क्रममा सुरुङभित्र कुनै पनि मानवीय उपस्थिति फेला नपरेपछि त्यहाँ मानिस फसेको आशंका तत्कालका लागि टरेको जनाइएको छ।

सुरुङभित्र कोही पनि व्यक्ति नरहेको पुष्टि भएपछि नेपाली सेनाको उद्धार टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो।

Read More

भोटेकोशी बाढीको कहर : ९०३ जनाको मृत्यु, ४ हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोशी नदीमा मिसिँदा रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

बाढीमा परी हालसम्म ९०३ जनाको मृत्यु भएको छ। तर, बाढीमा परेर कति जना बेपत्ता भएका छन् भन्ने यकिन तथ्याङ्क अझै सार्वजनिक हुन सकेको छैन। सरकारी निकायहरूले सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिको विवरण संकलन र प्रमाणीकरण गरिरहेका छन्।

नेपाल–चीन सीमामा रहेको चीनतर्फको भन्सार कार्यालय तथा केरुङ बजार क्षेत्रमा पुगेका नेपाली नागरिकमध्ये ९८ जना बेपत्ता भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

रसुवामा सञ्चालित जलविद्युत् आयोजनामा कार्यरत विदेशी नागरिक तथा घुम्न पुगेका विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरूको वास्तविक संख्या भने नेपाल सरकारले अझै सार्वजनिक गर्न सकेको छैन।

रसुवामा निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना कोरियनसहित ३३२ जना ६ दिनदेखि सम्पर्कविहीन रहेको प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आयोजनाको सुरुङभित्र करिब ३०० जना फसेका छन्। उनीहरूको अवस्थाबारे अहिलेसम्म यकिन विवरण सार्वजनिक हुन सकेको छैन।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने रसुवागढी नाका, टिमुरेस्थित भन्सार कार्यालय र स्याफ्रुवेशी क्षेत्र बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। यी क्षेत्रमा घर भएका स्थानीय, सरकारी कर्मचारी तथा व्यापारिक प्रयोजनका लागि सामान लिन पुगेका धेरै मानिस सम्पर्कविहीन रहेको बताइएको छ।

सरकारले सम्पर्कविहीन व्यक्तिबारे जानकारी भए उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ। मोबाइलको रिङटोनलगायत विभिन्न माध्यमबाट सम्भावित बेपत्ताको विवरण संकलन गर्ने प्रयास भइरहेको छ।

काठमाडौँ र नुवाकोट हुँदै रसुवातर्फ कुन समयमा कति मानिस पुगेका थिए भन्ने यकिन विवरण राख्ने प्रणाली नहुँदा सम्पर्कविहीन व्यक्तिको वास्तविक संख्या पहिचान गर्न कठिनाइ भएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्।

रसुवाको इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी रसुवागढीमा कार्यरत २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। त्यस्तै, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना सुरक्षाकर्मी तथा रसुवागढी भन्सार कार्यालयका १५ जना कर्मचारी पनि सम्पर्कमा आएका छैनन्।

रसुवागढी अध्यागमन कार्यालयमा कार्यरत ३ जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको जनाइएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अनुसार रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ४ हजार २४७ जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क भने फरक छ। प्रहरीका अनुसार ४ हजार ६०८ जना नागरिक सम्पर्कविहीन छन्।

प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले आफन्त तथा अन्य स्रोतबाट प्राप्त सूचनालाई प्रमाणीकरण गरेर मात्रै सम्पर्कविहीन व्यक्तिको संख्या यकिन गर्ने गरिएको बताएका छन्।

बेपत्ताको सूची सार्वजनिक गर्न भइरहेको ढिलाइबारे डीआईजी काफ्लेले आपत्कालीन अवस्थामा प्राप्त हुने प्रारम्भिक सूचनालाई क्रमशः प्रमाणीकरण गर्दै वास्तविक विवरण तयार गर्नुपर्ने अवस्था रहेको बताएका छन्।

विपद् प्राधिकरणका अनुसार रसुवाका ८६५ जना र नुवाकोटको नदी तटीय क्षेत्रका १ हजार ५५८ जना सम्पर्कविहीन छन्। त्यस्तै, जलविद्युत् आयोजनाबाट ९३३ जना, मकवानपुर घर भएर रसुवा पुगेका ६५ जना तथा विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली नागरिक बेपत्ता रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना तथा रसुवास्थित क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

प्रत्यक्षदर्शी तथा प्रभावित परिवारहरूले रसुवाका विभिन्न क्षेत्रमा अझै धेरै मानिस सम्पर्कविहीन रहेको आशंका गरेका छन्। तर, सुरक्षाकर्मी र सरकारी कर्मचारीबाहेक अन्य व्यक्तिको सम्पर्कविहीन अवस्थाबारे सरकारसँग अझै पूर्ण र यकिन विवरण उपलब्ध छैन।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रहरी र विपद् प्राधिकरणले सम्पर्कविहीन व्यक्तिको सूची प्रमाणीकरण तथा अद्यावधिक गरिरहेको बताएका छन्।

बाढीका कारण विभिन्न क्षेत्रमा अलपत्र परेका १० हजार ४५१ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। प्रभावितहरूको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको हो।

विपद् प्राधिकरणका अनुसार हवाई उद्धारका लागि हालसम्म ४११ पटक हेलिकप्टर उडान गरिएको छ। विपद्को छैटौँ दिन सोमबार पनि प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।

Read More

नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा हवाईमार्फत राहत, उद्धारलाई तीव्रता

काठमाडौँ । सरकारले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत खाद्यान्न, नुन, तेललगायत अत्यावश्यक सामग्री पुर्‍याउँदै राहत तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती, सडक तथा पुलमा क्षति पुर्‍याएपछि प्रभावित नागरिकसम्म स्थलमार्गबाट पुग्न कठिन भएको भन्दै हवाईमार्गबाट राहत सामग्री ढुवानी भइरहेको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्।

सरकारले आपत्कालीन अवस्था घोषणा गरी जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सरकारी संयन्त्र परिचालन गरेको छ। राहत तथा उद्धारका लागि निजी हवाई कम्पनीका हेलिकप्टरसमेत प्रयोग भइरहेका छन्।

एकै दिन २०० भन्दा बढी उडान

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार आइतबार मात्रै प्रभावित क्षेत्रमा २०० भन्दा बढी हेलिकप्टर उडान भएका छन्।

उनका अनुसार सुरक्षा निकाय र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नुवाकोटको बट्टारसम्म स्थलमार्गबाट राहत सामग्री पुर्‍याएर त्यहाँबाट प्रभावित क्षेत्रमा हवाईमार्फत ढुवानी भइरहेको छ। यही क्रममा गोसाइँकुण्ड पदमार्गमा अलपत्र परेका करिब २०० तीर्थयात्रीको उद्धारसमेत भइरहेको छ।

सरकारले समन्वयात्मक र एकीकृत ढङ्गबाट उद्धार, राहत वितरण, पुनःस्थापना तथा पुनर्निर्माणलाई प्राथमिकता दिएको अधिकारीले बताए।

काठमाडौँमा रहेका बाढीपीडितलाई पनि राहत माग

यसैबीच, रसुवा र नुवाकोटका बाढीका कारण विस्थापित भएर काठमाडौँ पुगेका परिवारले आफूहरूका लागि समेत राहत व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

तारकेश्वर नगरपालिका–८ गैरीगाउँ–शान्तिटोलमा रसुवा बाढीबाट विस्थापित करिब ९० परिवार अस्थायी आश्रयस्थलमा बसिरहेको उत्तरगयाका बाढी प्रभावित शिव लामिछानेले जानकारी दिए।

उनका अनुसार स्वयम्भूस्थित यलो गुम्बामा आश्रय लिएर बसेका बाढीपीडित परिवारले समेत सरकारबाट राहतको अपेक्षा गरेका छन्।

Read More

भोटेकोशी बाढीपछि सेनाको उद्धार तीव्र, ३ हजार ५९६ जनाको उद्धार

काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हवाई तथा स्थलमार्गबाट खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ। भदौ १० गतेदेखि हालसम्म सेनाले ३ हजार ५९६ जनाको उद्धार गरेको छ, जसमा ३३८ जना विदेशी नागरिक रहेका छन्। स्थलमार्गबाट मात्रै २०० जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

टनेलमा खोज तथा उद्धार जारी

टनेलभित्र फसेका व्यक्तिको खोजीका लागि सेनाले विशेष अभियान सञ्चालन गरिरहेको छ। त्रिशूली–३ए जलविद्युत् आयोजनाको टनेलमा अवरोध हटाउन राति करिब २ बजे ‘कन्ट्रोल ब्लास्ट’ गरिएको छ। दुईवटा एक्स्काभेटर करिब १० मिटर तलसम्म लगेर प्वाल बनाउने तथा टनेलभित्र जमेको पानी, हिलो र लेदो हटाउने काम भइरहेको छ।

त्रिशूली–३बी आयोजनाको टनेलमा विज्ञसहितको सेनाको टोलीले खोज तथा उद्धार जारी राखेको छ।

विदेशी नागरिकसहितको संयुक्त उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलमा करिब १०० मिटर प्रवेश गरी खोजी गर्दा हिलोमाटोले पुरिएको अवस्थामा दुईवटा शव फेला पारेको छ। दुवै शव बाहिर निकालिएको सेनाले जनाएको छ।

यस्तै, अपर त्रिशूली–१ को टनेलमा करिब ३०० मिटरभित्र प्रवेश गरी खोजी गर्दा थप एक शव फेला परेको छ। लाङटाङ टनेलमा सर्चलाइट प्रयोग गरी खोज तथा उद्धार कार्य जारी रहेको छ।

स्थलमार्गबाट पनि खोजी र राहत

सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गरी स्थानीयको अवस्था बुझ्ने र उद्धार आवश्यकताको मूल्याङ्कन गरिरहेको छ। स्याफ्रुबेसी क्षेत्रमा राहत तथा राशन वितरण तथा लाङटाङ हाइड्रो क्षेत्रमा रेकी र पेट्रोलिङसमेत गरिएको छ।

नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्रबाट हालसम्म २ हजार ६३२ जनाले स्वास्थ्य सेवा पाएका छन्।

९ हजारभन्दा बढी सैनिक परिचालन

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीका प्रभावित क्षेत्रसम्म ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारमा सहयोग गरिरहेका छन्।

सेनाका अनुसार हालसम्म २३ हजार १९४ किलोग्रामभन्दा बढी राहत सामग्री हवाईमार्गबाट धुन्चेलगायत प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।

Read More

आमाछोदिङमो गाउँपालिका सडक र सञ्चारविहीन, १६५ जना सम्पर्कविहीन

काठमाडौँ । बाढीपहिरोका कारण रसुवाको उत्तरी क्षेत्रमा रहेको आमाछोदिङमो गाउँपालिका देशका अन्य भूभागबाट पूर्ण रूपमा विच्छेद भएको छ। भोटेकोशी र ल्हेन्दे खोलामा आएको बाढी तथा पहिरोले सडक, पैदलमार्ग र झोलुङ्गे पुल बगाएपछि गाउँपालिकामा आवतजावत ठप्प भएको हो।

गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रारम्भिक विवरणमा कम्तीमा १६५ जना सम्पर्कविहीन छन्। सञ्चार सेवा अवरुद्ध रहेकाले दुर्गम बस्तीबाट विवरण आउन बाँकी रहेको र सम्पर्कविहीनको संख्या करिब २०० पुग्न सक्ने उनले बताए।

बाढीले बस्ती कटान गरी बगाएकाले सम्पर्कविहीनमध्ये केही व्यक्ति बाढीमा परेको हुनसक्ने आशंका गरिएको छ। सञ्चार र यातायात अवरुद्ध हुँदा घाइतेको अवस्था बुझ्न तथा उद्धार र राहत प्रभावकारी रूपमा परिचालन गर्नसमेत कठिनाइ भएको गाउँपालिकाले जनाएको छ।

विद्युत् र सञ्चार सेवा ठप्प

विपद् सुरु भएको पाँच दिनभन्दा बढी समय बितिसक्दा पनि गाउँपालिकामा विद्युत् र सञ्चार सेवा सुचारु हुन सकेको छैन। विद्युत् नहुँदा मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ भने बाह्य क्षेत्रसँग सम्पर्क टुट्दा कुन बस्तीमा कति क्षति भयो भन्ने यकिन विवरण संकलन गर्न कठिन भएको छ।

खाद्यान्न संकटको जोखिम

यातायात अवरुद्ध भएपछि गाउँपालिकामा खाद्यान्न संकटको जोखिम बढेको छ। स्थानीयले घरमा सञ्चित खाद्यान्न आपसमा बाँडेर गुजारा चलाइरहेका छन्।

अध्यक्ष तामाङका अनुसार आगामी दुई–तीन दिनभित्र सडकमार्गबाट खाद्यान्न ढुवानी गर्न नसके वा हवाईमार्गबाट आपूर्ति गर्न नसके गाउँपालिकामा गम्भीर खाद्यान्न संकट आउन सक्छ।

कालिका र नौकुण्ड गाउँपालिकासँग समन्वय गरी धुन्चे जोड्ने वैकल्पिक कच्ची सडक खोल्ने प्रयास भइरहेको भए पनि भौगोलिक कठिनाइका कारण समय लाग्ने देखिएको छ।

११५ घरधुरी विस्थापित

बाढीपहिरोका कारण गाउँपालिकाका करिब ११५ घरधुरी विस्थापित भएका छन्। कतिपय घर बगेका छन् भने बाँकी घरसमेत पहिरोको जोखिममा परेका कारण बस्न नसक्ने अवस्थामा रहेको अध्यक्ष तामाङले बताए।

विस्थापित परिवारहरू सुरक्षित स्थानमा रहेका आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। उनीहरूका लागि अस्थायी पाल, लत्ताकपडा र अन्य आवश्यक सामग्री तत्काल आवश्यक रहेको गाउँपालिकाले जनाएको छ।

स्थानीय सरकारसँग समन्वय गर्न आग्रह

अध्यक्ष तामाङले सुरक्षा निकायबाट हवाई उद्धार तथा राहत भइरहेको भए पनि स्थानीय सरकारसँग पर्याप्त समन्वय हुन नसकेको गुनासो गरेका छन्।

‘कुन क्षेत्रमा कति राहत सामग्री पुग्यो वा कुन ठाउँबाट कति मानिस उद्धार भए भन्ने पर्याप्त जानकारी प्राप्त हुन सकेको छैन,’ उनले भने, ‘स्थानीय सरकारसँग समन्वय नहुँदा वास्तविक पीडित पहिचान गरी राहत वितरण गर्न कठिन भएको छ।’

गाउँपालिकाका स्वास्थ्य केन्द्रमा उपचाररत बिरामीसमेत प्रभावित भएका छन्। विद्युत् अभावमा अक्सिजन कन्सन्ट्रेटर सञ्चालन गर्न नसकिएको र सडक अवरुद्ध भएकाले अक्सिजन सिलिन्डरसमेत ल्याउन कठिन भएको जनाइएको छ।

अध्यक्ष तामाङले प्रभावित स्वास्थ्य केन्द्रका लागि जेनेरेटर वा सोलार प्यानललगायत वैकल्पिक ऊर्जा उपकरण तत्काल उपलब्ध गराउन सरकार तथा सहयोगी संस्थासँग आग्रह गरेका छन्।

Read More