काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हवाई तथा स्थलमार्गबाट खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ। भदौ १० गतेदेखि हालसम्म सेनाले ३ हजार ५९६ जनाको उद्धार गरेको छ, जसमा ३३८ जना विदेशी नागरिक रहेका छन्। स्थलमार्गबाट मात्रै २०० जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
टनेलमा खोज तथा उद्धार जारी
टनेलभित्र फसेका व्यक्तिको खोजीका लागि सेनाले विशेष अभियान सञ्चालन गरिरहेको छ। त्रिशूली–३ए जलविद्युत् आयोजनाको टनेलमा अवरोध हटाउन राति करिब २ बजे ‘कन्ट्रोल ब्लास्ट’ गरिएको छ। दुईवटा एक्स्काभेटर करिब १० मिटर तलसम्म लगेर प्वाल बनाउने तथा टनेलभित्र जमेको पानी, हिलो र लेदो हटाउने काम भइरहेको छ।
त्रिशूली–३बी आयोजनाको टनेलमा विज्ञसहितको सेनाको टोलीले खोज तथा उद्धार जारी राखेको छ।
विदेशी नागरिकसहितको संयुक्त उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलमा करिब १०० मिटर प्रवेश गरी खोजी गर्दा हिलोमाटोले पुरिएको अवस्थामा दुईवटा शव फेला पारेको छ। दुवै शव बाहिर निकालिएको सेनाले जनाएको छ।
यस्तै, अपर त्रिशूली–१ को टनेलमा करिब ३०० मिटरभित्र प्रवेश गरी खोजी गर्दा थप एक शव फेला परेको छ। लाङटाङ टनेलमा सर्चलाइट प्रयोग गरी खोज तथा उद्धार कार्य जारी रहेको छ।
स्थलमार्गबाट पनि खोजी र राहत
सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गरी स्थानीयको अवस्था बुझ्ने र उद्धार आवश्यकताको मूल्याङ्कन गरिरहेको छ। स्याफ्रुबेसी क्षेत्रमा राहत तथा राशन वितरण तथा लाङटाङ हाइड्रो क्षेत्रमा रेकी र पेट्रोलिङसमेत गरिएको छ।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्रबाट हालसम्म २ हजार ६३२ जनाले स्वास्थ्य सेवा पाएका छन्।
९ हजारभन्दा बढी सैनिक परिचालन
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीका प्रभावित क्षेत्रसम्म ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारमा सहयोग गरिरहेका छन्।
सेनाका अनुसार हालसम्म २३ हजार १९४ किलोग्रामभन्दा बढी राहत सामग्री हवाईमार्गबाट धुन्चेलगायत प्रभावित क्षेत्रमा पुर्याइएको छ।




