काठमाडौँ । सरकारले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत खाद्यान्न, नुन, तेललगायत अत्यावश्यक सामग्री पुर्याउँदै राहत तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती, सडक तथा पुलमा क्षति पुर्याएपछि प्रभावित नागरिकसम्म स्थलमार्गबाट पुग्न कठिन भएको भन्दै हवाईमार्गबाट राहत सामग्री ढुवानी भइरहेको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्।
सरकारले आपत्कालीन अवस्था घोषणा गरी जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सरकारी संयन्त्र परिचालन गरेको छ। राहत तथा उद्धारका लागि निजी हवाई कम्पनीका हेलिकप्टरसमेत प्रयोग भइरहेका छन्।
एकै दिन २०० भन्दा बढी उडान
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार आइतबार मात्रै प्रभावित क्षेत्रमा २०० भन्दा बढी हेलिकप्टर उडान भएका छन्।
उनका अनुसार सुरक्षा निकाय र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नुवाकोटको बट्टारसम्म स्थलमार्गबाट राहत सामग्री पुर्याएर त्यहाँबाट प्रभावित क्षेत्रमा हवाईमार्फत ढुवानी भइरहेको छ। यही क्रममा गोसाइँकुण्ड पदमार्गमा अलपत्र परेका करिब २०० तीर्थयात्रीको उद्धारसमेत भइरहेको छ।
सरकारले समन्वयात्मक र एकीकृत ढङ्गबाट उद्धार, राहत वितरण, पुनःस्थापना तथा पुनर्निर्माणलाई प्राथमिकता दिएको अधिकारीले बताए।
काठमाडौँमा रहेका बाढीपीडितलाई पनि राहत माग
यसैबीच, रसुवा र नुवाकोटका बाढीका कारण विस्थापित भएर काठमाडौँ पुगेका परिवारले आफूहरूका लागि समेत राहत व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
तारकेश्वर नगरपालिका–८ गैरीगाउँ–शान्तिटोलमा रसुवा बाढीबाट विस्थापित करिब ९० परिवार अस्थायी आश्रयस्थलमा बसिरहेको उत्तरगयाका बाढी प्रभावित शिव लामिछानेले जानकारी दिए।
उनका अनुसार स्वयम्भूस्थित यलो गुम्बामा आश्रय लिएर बसेका बाढीपीडित परिवारले समेत सरकारबाट राहतको अपेक्षा गरेका छन्।




