काठमाडौँ । बाढीपहिरोका कारण रसुवाको उत्तरी क्षेत्रमा रहेको आमाछोदिङमो गाउँपालिका देशका अन्य भूभागबाट पूर्ण रूपमा विच्छेद भएको छ। भोटेकोशी र ल्हेन्दे खोलामा आएको बाढी तथा पहिरोले सडक, पैदलमार्ग र झोलुङ्गे पुल बगाएपछि गाउँपालिकामा आवतजावत ठप्प भएको हो।
गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रारम्भिक विवरणमा कम्तीमा १६५ जना सम्पर्कविहीन छन्। सञ्चार सेवा अवरुद्ध रहेकाले दुर्गम बस्तीबाट विवरण आउन बाँकी रहेको र सम्पर्कविहीनको संख्या करिब २०० पुग्न सक्ने उनले बताए।
बाढीले बस्ती कटान गरी बगाएकाले सम्पर्कविहीनमध्ये केही व्यक्ति बाढीमा परेको हुनसक्ने आशंका गरिएको छ। सञ्चार र यातायात अवरुद्ध हुँदा घाइतेको अवस्था बुझ्न तथा उद्धार र राहत प्रभावकारी रूपमा परिचालन गर्नसमेत कठिनाइ भएको गाउँपालिकाले जनाएको छ।
विद्युत् र सञ्चार सेवा ठप्प
विपद् सुरु भएको पाँच दिनभन्दा बढी समय बितिसक्दा पनि गाउँपालिकामा विद्युत् र सञ्चार सेवा सुचारु हुन सकेको छैन। विद्युत् नहुँदा मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ भने बाह्य क्षेत्रसँग सम्पर्क टुट्दा कुन बस्तीमा कति क्षति भयो भन्ने यकिन विवरण संकलन गर्न कठिन भएको छ।
खाद्यान्न संकटको जोखिम
यातायात अवरुद्ध भएपछि गाउँपालिकामा खाद्यान्न संकटको जोखिम बढेको छ। स्थानीयले घरमा सञ्चित खाद्यान्न आपसमा बाँडेर गुजारा चलाइरहेका छन्।
अध्यक्ष तामाङका अनुसार आगामी दुई–तीन दिनभित्र सडकमार्गबाट खाद्यान्न ढुवानी गर्न नसके वा हवाईमार्गबाट आपूर्ति गर्न नसके गाउँपालिकामा गम्भीर खाद्यान्न संकट आउन सक्छ।
कालिका र नौकुण्ड गाउँपालिकासँग समन्वय गरी धुन्चे जोड्ने वैकल्पिक कच्ची सडक खोल्ने प्रयास भइरहेको भए पनि भौगोलिक कठिनाइका कारण समय लाग्ने देखिएको छ।
११५ घरधुरी विस्थापित
बाढीपहिरोका कारण गाउँपालिकाका करिब ११५ घरधुरी विस्थापित भएका छन्। कतिपय घर बगेका छन् भने बाँकी घरसमेत पहिरोको जोखिममा परेका कारण बस्न नसक्ने अवस्थामा रहेको अध्यक्ष तामाङले बताए।
विस्थापित परिवारहरू सुरक्षित स्थानमा रहेका आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। उनीहरूका लागि अस्थायी पाल, लत्ताकपडा र अन्य आवश्यक सामग्री तत्काल आवश्यक रहेको गाउँपालिकाले जनाएको छ।
स्थानीय सरकारसँग समन्वय गर्न आग्रह
अध्यक्ष तामाङले सुरक्षा निकायबाट हवाई उद्धार तथा राहत भइरहेको भए पनि स्थानीय सरकारसँग पर्याप्त समन्वय हुन नसकेको गुनासो गरेका छन्।
‘कुन क्षेत्रमा कति राहत सामग्री पुग्यो वा कुन ठाउँबाट कति मानिस उद्धार भए भन्ने पर्याप्त जानकारी प्राप्त हुन सकेको छैन,’ उनले भने, ‘स्थानीय सरकारसँग समन्वय नहुँदा वास्तविक पीडित पहिचान गरी राहत वितरण गर्न कठिन भएको छ।’
गाउँपालिकाका स्वास्थ्य केन्द्रमा उपचाररत बिरामीसमेत प्रभावित भएका छन्। विद्युत् अभावमा अक्सिजन कन्सन्ट्रेटर सञ्चालन गर्न नसकिएको र सडक अवरुद्ध भएकाले अक्सिजन सिलिन्डरसमेत ल्याउन कठिन भएको जनाइएको छ।
अध्यक्ष तामाङले प्रभावित स्वास्थ्य केन्द्रका लागि जेनेरेटर वा सोलार प्यानललगायत वैकल्पिक ऊर्जा उपकरण तत्काल उपलब्ध गराउन सरकार तथा सहयोगी संस्थासँग आग्रह गरेका छन्।




