२०८३ भाद्र २८

बाढीको प्रभाव सेयर बजारमा, नेप्से ४३ अंकले घट्यो

काठमाडौं। प्राकृतिक विपद्को प्रभाव सेयर बजारमा समेत देखिएको छ। रसुवामा आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाका संरचनामा क्षति पुगेपछि लगानीकर्तामा बढेको चिन्ताले बजारमा ठूलो गिरावट आएको हो।

भदौ १० गते आएको भीषण बाढीबाट रसुवा र नुवाकोटमा सञ्चालित ६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। त्यसको प्रभाव साताको पहिलो कारोबार दिन सोमबारको सेयर बजारमा देखिएको हो।

सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा झरेको छ। यस दिन ३४७ वटा स्क्रिप्सको ९३ लाख २२ हजार १८५ कित्ता सेयर ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार ८७८ रुपैयाँमा खरिदबिक्री भएको छ।

यस दिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १३.१६ प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य १४.९८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको करिब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको १५ करोड, रिलायन्स स्पिनिङ मिल्स र चिलिमे हाइड्रोपावरको १२/१२ करोड तथा एसवाइ प्यानल नेपालको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार कारोबारमा आएका कम्पनीमध्ये २१ वटा स्टक्सको मूल्य बढेको छ भने २५३ वटाको घटेको छ। चार वटा स्टक्सको मूल्य भने स्थिर रहेको छ।

समूहतर्फ म्युचुअल फन्ड उपसमूहबाहेक अन्य सबै समूहका उपसूचक नकारात्मक देखिएका छन्।