२०८३ भाद्र २९

बाढीपीडितका लागि सन्दीपले एक महिनाको तलब सहयोग गर्ने

काठमाडौँ । नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्।

सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने घोषणा गरेका हुन्।

एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका सन्दीपले सामाजिक सञ्जालमार्फत आफूहरू देशबाट टाढा रहे पनि मन भने नेपालमै रहेको उल्लेख गर्दै सहयोगको घोषणा गरेका हुन्।

त्यसैगरी, प्रिमियर कपमा नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५०० रुपैयाँ तथा प्रत्येक चौका र छक्काबापत पनि १ हजार ५०० रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन्। उक्त रकम बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने उनले बताएका छन्।

बाढीले बालबालिकाका शैक्षिक सामग्री बगाए पनि उनीहरूको सपना बगाउन नसक्ने उल्लेख गर्दै सन्दीपले प्रत्येक विकेट र बाउन्ड्रीसँगै सहयोग गर्ने घोषणा गरेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान) ले पनि बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।