काठमाडौं । भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि दुवै नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि जोखिम कायमै रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो।
बाढी पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ र डोल्पा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
त्यस्तै, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा पनि बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।
नुवाकोट र रसुवाबाट बहने साना नदी तथा खोलामा भने पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




