२०८३ कार्तिक ९

बर्डफ्लु नियन्त्रणका लागि सरकारको आकस्मिक अभियान, १० जिल्लामा पाँच लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौँ । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण तथा थप फैलावट रोक्न आकस्मिक अभियान सञ्चालन गरेको छ। रोग पुष्टि भएका १० जिल्लामा हालसम्म ७२ वटा फार्मका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ।

पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार प्रभावित पन्छीमध्ये सबैभन्दा बढी लेयर्स कुखुरा तथा स्थानीय जातका कुखुरा रहेका छन्। सरकारको निर्देशनमा परिचालित ‘द्रुत कार्य टोली’ले रोग नियन्त्रणका क्रममा करिब सात लाख अण्डा र १८३ टन दाना पनि नष्ट गरेको छ।

केही साताअघि झापा, मोरङ र सुनसरीमा देखिएको बर्डफ्लु क्रमशः महोत्तरी, बारा, चितवन हुँदै काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लासहित पछिल्लो समय नवलपरासीसम्म फैलिएको विभागले जनाएको छ।

महानिर्देशक दाहालले बर्डफ्लुको कुनै प्रभावकारी उपचार नभएको उल्लेख गर्दै रोग देखिएलगत्तै नियन्त्रणमा लिनु नै यसको प्रमुख उपाय भएको बताए। “रोग फैलिन नदिन संक्रमित क्षेत्रका पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। त्यसैले पशु चिकित्सक र पशु स्वास्थ्यकर्मीहरू चौबीसै घण्टा खटिएर नियन्त्रण अभियान सञ्चालन गरिरहेका छन्,” उनले भने।

विभागका अनुसार पछिल्लो समय काठमाडौं उपत्यका बर्डफ्लुको उच्च जोखिममा रहेको छ। यद्यपि चितवनसहित मुलुकका अन्य अधिकांश प्रभावित क्षेत्रमा संक्रमण नियन्त्रणको अवस्थामा पुगेको जनाइएको छ।

थप संक्रमण रोक्न प्रभावित क्षेत्रका सम्पूर्ण पन्छीजन्य उत्पादन नष्ट गरिएको मितिबाट करिब दुई महिनापछि मात्रै व्यवसाय पुनः सञ्चालन गर्न पाइने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ।

७५ प्रतिशतसम्म राहत पाउने व्यवस्था

बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार रोग नियन्त्रणका क्रममा पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने व्यवस्था छ। लागत मूल्य जिल्ला तथा स्थानीय अवस्थाअनुसार फरक हुन सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसहितका सरोकारवाला निकायको बैठकले राहत रकम निर्धारण गर्ने महानिर्देशक दाहालले जानकारी दिए।

Read More

बेड संख्याअनुसार शुल्क नतिर्ने यी ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख असुल गर्ने निर्णय

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।

जस अनुसार चितवन मेडिकल कलेज भरतपुर, चितवनसँग ७ लाख, नेपाल मेडिसिटी अस्पतालसँग १८ लाख, गण्डकी मेडिकल कलेज पोखरासँग १० लाख, नोबेल मेडिकल कलेज, विराटनगरसँग २४ लाख ४४ हजार, नेपाल मेडिकल कलेज (विराटनगर/काठमाडौँ) सँग १० लाख असुल गर्ने निर्णय भए छ ।

त्यस्तै किष्ट मेडिकल कलेज (ललितपुर) सँग १८ लाख, धुलिखेल अस्पताल (काभ्रे) सँग १७ लाख र मणिपाल कलेज (पोखरा) सँग १८ लाख, काठमाडौँ मेडिकल कलेज (काठमाडौँ) सँग १८ लाख, देवदह मेडिकल कलेज (देवदह) सँग ८ लाख र युनिभर्सल मेडिकल कलेज (भैरहवा) सँग ३० लाख असुल गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको हो । महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

Read More

खाद्य स्वच्छता सुधारमा सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनस्वास्थ्य सुधारका लागि खाद्य स्वच्छता प्रणालीलाई सुदृढ बनाउने सरकारको प्रतिबद्धता दोहोर्याएकी छिन्।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले खाद्यजन्य रोगहरू अहिले गम्भीर जनस्वास्थ्य चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताइन्।

मन्त्री मेहताका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ। साथै खाद्य परीक्षण प्रयोगशालाको क्षमता विस्तार, जोखिममा आधारित बजार अनुगमन र आवश्यक नीतिगत सुधारलाई पनि तीव्रता दिइने उनले बताइन्।

उनले खाद्य उत्पादनदेखि उपभोगसम्म सबै चरणमा स्वच्छता कायम राख्नु सरकारको दायित्व भएको उल्लेख गर्दै असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण प्रणाली अपनाउनुपर्नेमा जोड दिइन्।

यस्ता अभ्यासले गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन सहयोग गर्ने र अस्वस्थ खानपानका कारण हुने स्वास्थ्य तथा आर्थिक क्षति घटाउन मद्दत पुग्ने उनको भनाइ छ।

मन्त्री मेहताले यस दिवसले खाद्य श्रृंखलामा संलग्न सबै सरोकारवालालाई स्वच्छ खानपानप्रति थप जिम्मेवार बनाउन प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गरेकी छिन्।

यस वर्ष विश्वभर “सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान” भन्ने नारासहित दिवस मनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार दूषित खानाका कारण प्रत्येक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने र करिब ४ लाख २० हजारको मृत्यु हुने गरेको तथ्यांक छ।

Read More

दूषित तथा असुरक्षित खाना विश्वव्यापी गम्भीर संकट बन्दै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खाद्य सुरक्षा सम्बन्धी नयाँ रिपोर्ट सार्वजनिक गर्दै दूषित तथा असुरक्षित खाना विश्वव्यापी गम्भीर संकट बन्दै गएको चेतावनी दिएको छ । रिपोर्टअनुसार हरेक वर्ष विश्वभर करिब ८६ करोड ६० लाख मानिस दूषित भोजनका कारण बिरामी पर्छन् भने करिब १५ लाख मानिसको ज्यान जाने गरेको छ ।

सबैभन्दा चिन्ताजनक कुरा भनेको यो समस्या पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा बढी देखिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यजन्य रोगको करिब एक तिहाइ भार यही उमेर समूहमा पर्छ, जबकि उनीहरू विश्व जनसंख्याको करिब ९ प्रतिशत मात्र हुन् ।

रिपोर्टमा साना बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता पूर्ण रूपमा विकसित नहुने भएकाले उनीहरू संक्रमण र विषाक्त पदार्थप्रति बढी संवेदनशील हुने उल्लेख छ । दूषित खानाबाट हुने झाडापखाला जस्ता रोग बालबालिकामा छिटो फैलिने मात्र होइन, कतिपय अवस्थामा ज्यानै जाने जोखिम पनि रहने उल्लेख गरिएको छ । साथै खानामा पाइने सिसा र मिथाइलमरकरी जस्ता विषाक्त पदार्थले बालबालिकाको मस्तिष्क विकासमा असर पार्ने, सिक्ने क्षमता घटाउने र दीर्घकालीन स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले खाद्यजन्य रोगका मुख्य दुई कारण देखाएको छ । जैविक खतरा र रासायनिक प्रदूषण । जैविक कारणमा ब्याक्टेरिया, भाइरस र परजीवी पर्छन्, जसले अधिकांश रोग निम्त्याउने गरेको रिपोर्टमा उल्लेख छ । सन् २०२१ मा मात्र करिब ८६ करोड केस यिनै संक्रमणसँग सम्बन्धित थिए ।

अर्कोतर्फ रासायनिक प्रदूषणका केस संख्या कम भए पनि बढी घातक देखिएको छ । रिपोर्टअनुसार सन् २०२१ मा दूषित खानाका कारण भएका कुल मृत्यु मध्ये करिब ७३ प्रतिशत रासायनिक तत्वसँग सम्बन्धित थिए ।

असुरक्षित खानाले अर्थतन्त्रमा पनि ठूलो असर पारेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसका कारण प्रत्येक वर्ष करिब ३१० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन्छ । जीवनयापन खर्च र खरिद क्षमतालाई आधार मान्दा यो क्षति बढेर करिब ६४७ अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ । उपचार खर्च, काममा अवरोध र उत्पादकत्व घट्नु यसको मुख्य कारण मानिएको छ ।

रिपोर्टले अफ्रिका र दक्षिणपूर्वी एसियालाई सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा देखाएको छ । विश्वभरका करिब तीन चौथाइ केस र ६० प्रतिशतभन्दा बढी मृत्यु यही क्षेत्रमा हुने गरेको उल्लेख छ । यसको मुख्य कारण सुरक्षित खानाको अभाव, सफा पिउने पानीमा सीमित पहुँच, कमजोर सरसफाइ व्यवस्था र स्वास्थ्य सेवाको कमी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Read More

काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपियाँ वराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।

आज अस्पतालमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अस्पतालका  प्रमुख प्रा. डा. सुवास आचार्यलाई हस्तान्तरण गरेकी हुन् । 

यसरी प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरुमा शुल्क भुक्तानी गर्न सकिने, रिपोर्ट विरामी आफैँले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा डिपोजिट गर्न सकिने सुविधा भएका १६ वटा इन्टर्‍याक्टिभ किओक्स मेसिन, रिपोर्ट तथा परीक्षण लगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा अल इन वन डेक्सटप छन् । यस्तै चुस्त सेवाका लागि सर्भर र र्‍यामको क्षमता वृद्धि गरिएको छ । यसरी प्रदान गरिएको प्रविधि, साधन र उपकरणहरु सार्वजनिक खरि प्रक्रियाबाट १ करोड ७० लाख १६ हजार ६७० रुपियाँमा प्राप्त भएका हुन् । 

उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले, सरकारी अस्पतालहरुमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नु पर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरिएको बताइन् ।

त्यस क्रममा अस्पतालका प्रमुख प्रा. डा. आचार्यले महानगरपालिकाबाट प्रदान गरिएको प्रविधि, जडान गरिएका साधन तथा उपकरणको प्रयोगका विषयमा प्रस्तुतिकरण गर्दै विरामीमैत्री सेवा व्यवस्थापनमा महानगरपालिकाबाट प्राप्त सहयोगले रुपान्तरण गर्न सम्भव भएको उल्लेख गरे । 

महानगरपालिकाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर मेसिनहरु, त्यसपछि सिटी स्क्यान मेसिन, अस्पतालको वेड क्यु सिस्टम व्यवस्थापन प्रणाली लगायत सहयोग उपलब्ध गराएको छ । 

Read More

विराटनगर महानगरपालिकाद्वारा पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल

काठमाडौं । विराटनगर महानगरपालिकाले ० देखि ५९ महिनासम्मका सबै लक्षित बालबालिकालाई पूर्णखोपको पहुँचमा पुर्‍याउँदै पूर्णखोप सुनिश्चितताको लक्ष्य सफलतापूर्वक हासिल गरेको छ।

महानगरपालिकाको खोप शाखाका अनुसार ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम’ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कुल ११ हजार ६३० जना बालबालिकालाई आवश्यक सबै खोप प्रदान गरिएको हो।

विवरणअनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका २ हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका १ हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका ६ हजार ९६६ जना रहेका छन्।

यस उपलब्धिसँगै विराटनगर महानगरपालिकाले खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध बालबालिकालाई सुरक्षित बनाउने अभियानलाई थप संस्थागत तथा दिगो बनाएको महानगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीले बताए।

उनका अनुसार खोप अभियानले बालमृत्युदर घटाउन, विभिन्न रोगको जोखिम न्यूनीकरण गर्न तथा समग्रमा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यस्तै खोप संयोजक सुशील साहले पूर्णखोप कार्यक्रमले दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी र टिटानसजस्ता रोगहरूबाट बालबालिकालाई जोगाउन प्रभावकारी भूमिका खेल्दै आएको उल्लेख गरे।

स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलताका रूपमा लिँदै यसको दिगोपनालाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे।

Read More

कङ्गोमा इबोला नियन्त्रणमा चुनौती

काठमाडौँ । अफ्रिकी देश कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोपप्रति विश्व स्वास्थ्य सङ्गठनले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम घेब्रेयेससले परीक्षण तथा प्रयोगशाला सुविधामा सुधार भए पनि संक्रमण नियन्त्रणको प्रयास अझै पर्याप्त नभएको बताएका छन् । उनका अनुसार इबोलाको प्रकोप धेरै अघि बढिसकेको अवस्थामा स्वास्थ्य निकायहरू त्यसलाई नियन्त्रणमा ल्याउन संघर्ष गरिरहेका छन् ।

कङ्गोको पूर्वी क्षेत्रमा सुरक्षा अवस्था बिग्रिँदा स्वास्थ्य संकट झन् जटिल बनेको छ । नर्थ किभु प्रान्तको बेनी क्षेत्रमा इस्लामिक स्टेटसँग आबद्ध उग्रवादी समूह एलाइड डेमोक्रेटिक फोर्सेजले गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । सुरक्षा निकायका अनुसार कङ्गो र युगान्डाको संयुक्त सैन्य कारबाहीको प्रतिशोधस्वरूप उक्त आक्रमण गरिएको हो। यसअघि पनि उग्रवादीहरूले सीमावर्ती गाउँहरूमा आक्रमण गरी दर्जनौँ मानिसको ज्यान लिएका थिए। लगातारको हिंसा र असुरक्षाका कारण स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भोगिरहेका छन्।

मे महिनाको मध्यतिर घोषणा गरिएको यो प्रकोपपछि कङ्गोमा हालसम्म इबोलाका ३४४ संक्रमित फेला परिसकेका छन् । तीमध्ये ६० जनाको मृत्यु भएको छ । छिमेकी देश युगान्डामा पनि संक्रमण फैलिएको छ, जहाँ १५ संक्रमित पुष्टि भएका छन् भने एक जनाको मृत्यु भएको छ । शंकास्पद बिरामीको संख्या केही घटे पनि विज्ञहरूले वास्तविक अवस्था तथ्यांकले देखाएभन्दा गम्भीर हुन सक्ने चेतावनी दिएका छन् ।

हालै सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेर फर्किएका टेड्रोसले प्रयोगशाला क्षमता विस्तार गरिएको र संक्रमण पहिचान गर्ने प्रक्रिया पहिलेभन्दा छिटो भएको बताएका छन् । उनले त्यहाँ देखिएको प्रगतिले आशा जगाएको भए पनि चुनौतीहरू अझै ठूलो रहेको उल्लेख गरे । उनले इबोलाको डरका कारण कङ्गोसँग आवतजावतमा प्रतिबन्ध लगाएका देशहरूलाई ती प्रतिबन्ध हटाउन पनि आग्रह गरेका छन् । उनका अनुसार यस्ता प्रतिबन्धले औषधि, स्वास्थ्य सामग्री र राहत कार्यमा असर पुर्‍याइरहेको छ ।

विज्ञहरूका अनुसार इबोला नियन्त्रणका लागि संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसहरूको पहिचान र निगरानी अत्यन्त महत्वपूर्ण हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल केवल ४५ प्रतिशत सम्पर्कहरूको मात्र निगरानी भइरहेको छ, जबकि संक्रमण नियन्त्रणका लागि यो दर ९० प्रतिशतभन्दा माथि हुनुपर्छ । असुरक्षा, विस्थापन र जनसंख्याको निरन्तर आवागमनका कारण यो काम चुनौतीपूर्ण बनेको छ ।

यसपटक फैलिएको इबोला भाइरस ‘बुन्डिबुग्यो’ प्रकारको भएको बताइएको छ, जसका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन । विज्ञहरूका अनुसार सम्भावित खोप विकास गरी प्रभावित क्षेत्रमा पुर्‍याउन अझै केही महिना लाग्न सक्छ। यद्यपि हालसम्म कम्तीमा पाँच जना बिरामी निको भएको जानकारी सार्वजनिक भएकाले केही आशा कायम रहेको छ ।

स्वास्थ्य अधिकारीहरूका लागि अर्को ठूलो समस्या स्थानीय समुदायमा फैलिएका भ्रम र गलत धारणाहरू हुन् । धेरै मानिसहरूले अझै इबोला भाइरसको अस्तित्वमै विश्वास नगरेकाले संक्रमितहरू समयमै उपचारका लागि नआउने गरेका छन्। केही क्षेत्रमा स्थानीय बासिन्दाले स्वास्थ्य केन्द्रमाथि आक्रमणसमेत गरेका छन् भने आफन्तको शव फिर्ता लैजान खोजेका घटनाहरू पनि भएका छन्। यसले संक्रमण फैलिने जोखिम थप बढाएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

Read More

आर्थिक संकट बढेपछि निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा स्थगित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक संकट गहिरिँदै गएपछि निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी अधिकांश सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

बोर्डको जेठ ११ गते बसेको बैठकले बढ्दो वित्तीय दबाबलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने गैरआकस्मिक सेवा जेठ १६ गतेदेखि लागू हुने गरी बन्द गरिनेछ ।

स्वास्थ्य बीमा बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले जारी गरेको सूचनामा सम्बन्धित सबैलाई उक्त निर्णयबारे जानकारी गराइएको छ ।

यस निर्णयपछि स्वास्थ्य बीमा सेवामा आबद्ध सेवाग्राहीले अब निजी अस्पताल तथा स्वास्थ्य संस्थाबाट आकस्मिक सेवाबाहेक अन्य उपचार सेवा बीमा अन्तर्गत तत्काल प्राप्त गर्न नपाउने भएका छन् ।

Single Image

Read More

क्यान्सर अस्पतालमा अत्यावश्यक औषधि अभाव, उपचार सेवामै गम्भीर असर

काठमाडौँ ।  नेपालकै ठूलो क्यान्सर उपचार केन्द्र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा क्यान्सर उपचारका अत्यावश्यक औषधिको अभाव भएको छ। विश्वव्यापी आपूर्ति संकटका कारण कार्बोप्लाटिन (Carboplatin) र सिसप्लाटिन (Cisplatin) जस्ता मुख्य केमोथेरापी औषधि अस्पतालमा उपलब्ध नभएको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा. गुरुशरण साहका अनुसार औषधि अभावले केमोथेरापी उपचारको प्रभावकारितामा गम्भीर असर परेको छ। उनले गुणस्तरहीन तथा अवैध रूपमा भित्रिएका औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा थप जोखिम बढाएको बताए।

उनका अनुसार यी औषधिको अभाव नेपालमा मात्र नभई विश्वव्यापी रूपमा देखिएको हो। कच्चापदार्थ (एपिआई) आपूर्तिमा कमी आएकाले उत्पादन प्रभावित भएको र निकट भविष्यमा अक्सालोप्लाटिनको समेत अभाव हुन सक्ने चेतावनी उनले दिए।

अस्पतालमा दैनिक करिब २०० बिरामीले केमोथेरापी सेवा लिने गरेका छन्। तर, मुख्य औषधि अभावका कारण उपचारमा ‘सम्झौता’ गर्नुपर्ने अवस्था आएको डा. साहले बताए। उनका अनुसार केही बिरामीले छिमेकी मुलुकबाट औषधि ल्याइरहेका छन्, तर त्यस्ता औषधिको गुणस्तर र तापक्रम व्यवस्थापनमा गम्भीर प्रश्न उठेको छ।

अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलले कार्बोप्लाटिन र सिसप्लाटिनको आपूर्ति करिब छ महिनादेखि प्रभावित रहेको बताए। अस्पतालमा रहेको मौज्दातसमेत सकिएको उनले जानकारी दिए।

निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सँग सहयोगका लागि अनुरोध गरिएको बताए। बालबालिकाका लागि छुट्टै परियोजनाअन्तर्गत रहेको सीमित मौज्दात अन्य बिरामीलाई पनि प्रयोग गर्न अनुमति मागिएको उनले जानकारी दिए।

Read More

काठमाडौँको गोकर्णेश्वरमा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा बर्डफ्लु रोग पुष्टि भएको छ ।

नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा उच्च सङ्क्रामक एच–फाइभ एन–वान प्रकारको एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लु रोग पुष्टि भएको हो । रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा, दाना लगायत संक्रमण फैलाउन सक्ने अन्य सामग्री नष्ट गर्ने, सुरक्षित रूपमा व्यवस्थापन गर्ने तथा निसंक्रमण गर्ने कार्य जारी रहेको जनाइएको छ ।

नगरपालिकाले बर्डफ्लु पन्छीबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त रोग भएकाले सम्पूर्ण सर्वसाधारण र सरोकारवालालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

सूचनामा पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारीसाधन प्रवेश गर्न नदिन, प्रवेश गराउनै परे निसंक्रमण गरेर मात्र अनुमति दिन आग्रह गरिएको छ । एउटै फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजान पनि अनुरोध गरिएको छ । त्यसैगरी प्रयोग भइसकेका अण्डा राख्ने कागजी क्रेट पुनः प्रयोग नगर्न, फार्म वा खोर प्रवेशद्वारमा चुना तथा निसंक्रमण औषधि राखिएको फुटबाथ अनिवार्य प्रयोग गर्न तथा प्रत्येक पटक खोरमा प्रवेश गर्दा बुट र एप्रोन प्रयोग गर्न भनिएको छ ।

खोरभित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्न, कुकुर, बिरालो, मुसा लगायत अन्य जनावर प्रवेश गर्न नदिने व्यवस्था मिलाउन तथा मरेका पन्छीलाई सकेसम्म छिटो सुरक्षित तरिकाले खाडलमा गाड्न पनि आग्रह गरिएको छ । त्यस्तै पन्छी फार्ममा काम गर्ने व्यक्तिलाई व्यक्तिगत सुरक्षाका उपाय अपनाउन, नियमित हातखुट्टा धुन र स्वास्थ्यमा समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ ।

त्यसैगरी नगरपालिकाले पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको जनाएको छ । साथै मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्न आग्रह गरिएको छ ।

अकस्मात धेरै सङ्ख्यामा पन्छी बिरामी परेमा वा मरेमा नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ ।

Read More