२०८३ जेष्ठ १४

क्यान्सर अस्पतालमा अत्यावश्यक औषधि अभाव, उपचार सेवामै गम्भीर असर

काठमाडौँ ।  नेपालकै ठूलो क्यान्सर उपचार केन्द्र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा क्यान्सर उपचारका अत्यावश्यक औषधिको अभाव भएको छ। विश्वव्यापी आपूर्ति संकटका कारण कार्बोप्लाटिन (Carboplatin) र सिसप्लाटिन (Cisplatin) जस्ता मुख्य केमोथेरापी औषधि अस्पतालमा उपलब्ध नभएको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा. गुरुशरण साहका अनुसार औषधि अभावले केमोथेरापी उपचारको प्रभावकारितामा गम्भीर असर परेको छ। उनले गुणस्तरहीन तथा अवैध रूपमा भित्रिएका औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा थप जोखिम बढाएको बताए।

उनका अनुसार यी औषधिको अभाव नेपालमा मात्र नभई विश्वव्यापी रूपमा देखिएको हो। कच्चापदार्थ (एपिआई) आपूर्तिमा कमी आएकाले उत्पादन प्रभावित भएको र निकट भविष्यमा अक्सालोप्लाटिनको समेत अभाव हुन सक्ने चेतावनी उनले दिए।

अस्पतालमा दैनिक करिब २०० बिरामीले केमोथेरापी सेवा लिने गरेका छन्। तर, मुख्य औषधि अभावका कारण उपचारमा ‘सम्झौता’ गर्नुपर्ने अवस्था आएको डा. साहले बताए। उनका अनुसार केही बिरामीले छिमेकी मुलुकबाट औषधि ल्याइरहेका छन्, तर त्यस्ता औषधिको गुणस्तर र तापक्रम व्यवस्थापनमा गम्भीर प्रश्न उठेको छ।

अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलले कार्बोप्लाटिन र सिसप्लाटिनको आपूर्ति करिब छ महिनादेखि प्रभावित रहेको बताए। अस्पतालमा रहेको मौज्दातसमेत सकिएको उनले जानकारी दिए।

निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सँग सहयोगका लागि अनुरोध गरिएको बताए। बालबालिकाका लागि छुट्टै परियोजनाअन्तर्गत रहेको सीमित मौज्दात अन्य बिरामीलाई पनि प्रयोग गर्न अनुमति मागिएको उनले जानकारी दिए।