२०८३ असार ११

एमालेमा सदस्यता नवीकरण अभियान चलाइने

काठमाडौं । नेकपा एमालेले सम्पूर्ण सदस्यता प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र गर्ने भएको छ । 

आइतबार केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।

पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिमा संगठन विभागले प्रस्तुत गरेको सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयन मोडेलबारे विस्तृत छलफल गरिएको थियो । 

बैठकमा अनलाइन प्रणालीमार्फत सदस्यता नवीकरण, नयाँ सदस्यता प्रवेश तथा सम्पूर्ण अभिलेख व्यवस्थापनलाई डिजिटल बनाउने प्रस्ताव अघि सारिएको हो। यसलाई सातै प्रदेश, सबै जिल्ला र ७५३ वटै पालिकामा एकैसाथ लागू गर्ने तयारी गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष विष्णु पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने महत्वपूर्ण कदम भएको बताए ।

संगठन विभागका संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले बैठकमा पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य रहेको जानकारी दिए । उनले संगठनलाई केन्द्रीय तहदेखि वडा तहसम्म एकीकृत डिजिटल अभिलेखीकरण प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याए ।

त्यसैगरी प्रत्येक पालिकामा भौतिक उपस्थितिमै सदस्यता सम्बन्धी सहजीकरण गरिने, पार्टीका कामसँग जोडेर सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाइने बताइएको छ । अनलाइन प्रणालीमार्फत केन्द्रीय समितिदेखि वडा तहसम्म संगठनमा आबद्ध नेताहरूको बायोडाटा संकलन तथा अभिलेखीकरण गरिनेछ ।

यसअघि पार्टी महासचिवको उपस्थितिमा सातै प्रदेशका अध्यक्षहरूसहित संगठन विभागको बैठकले जेठ मसान्तलाई सदस्यता नवीकरणको अन्तिम मिति तोक्ने प्रस्तावसमेत अघि सारेको थियो । संगठन विभागका संयोजक ढकालका अनुसार तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित पार्टी समितिको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था लागू गरिनेछ ।

Read More

लेबनानमा इजरायलको निरन्तर आक्रमण

काठमाडौँ । इजरायली सेनाले दक्षिणी लेबनानका सहर तथा गाउँका बासिन्दालाई तत्काल घर खाली गर्न निर्देशन दिएको छ । सर्वसाधारणलाई कम्तीमा एक हजार मिटर टाढा खुला स्थानमा जान चेतावनी दिइएको छ ।

रिपोर्टका अनुसार सेनाले दक्षिणी लेबनानका ११ सहर र गाउँमा आक्रमण गर्ने जनाएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’का अनुसार यो कारबाही हिजबुल्लाहविरुद्ध लक्षित गरिएको दाबी गरिएको छ ।

इजरायली सेनाले हिजबुल्लाहले युद्धविराम सम्झौता उल्लंघन गरेकाले यस्तो कदम चालिएको बताएको छ । साथै, हिजबुल्लाहका लडाकु वा तिनका संरचनानजिक रहेका जो कोहीलाई जोखिम हुन सक्ने चेतावनी पनि दिएको छ ।

इजरायलले पछिल्लो समय दक्षिणी लेबनानमा लगातार हवाई आक्रमण गरिरहेको छ भने त्यहाँको दक्षिणी भूभागमा सैनिक उपस्थिति कायम राखेको छ । सेनाले हिजबुल्लाहसँग सम्बन्धित भन्दै धेरै भवनहरू ध्वस्त पारेको जनाएको छ ।

इरान समर्थित उक्त सशस्त्र समूहले पनि लेबनान र उत्तरी इजरायल क्षेत्रमा इजरायली सेनामाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिरहेको बताइएको छ ।

Read More

एभरेस्ट चढ्ने बाटोमा रहस्यमय शव, अनुसन्धान जारी

काठमाडौँ । सगरमाथा आरोहणका लागि बाटो बनाउने क्रममा खुम्बु आइसफल क्षेत्रमा एक बेवारिसे शव फेला परेको छ। आइसफल डाक्टरले आधार शिविरबाट क्याम्प १ जाने मुख्य मार्गमै हिउँले आधा पुरिएको अवस्थामा शव भेटेका हुन्।

शव मुख्य आरोहण मार्गमै भेटिएकाले सुरक्षामा असर पर्न सक्ने भन्दै सम्बन्धित निकायहरूले तत्काल व्यवस्थापन सुरु गरेका थिए। नेपाल पर्वतारोहण संघका अनुसार अनुभवी शेर्पा टोलीको सहयोगमा शव निकालेर आधार शिविर ल्याइएको थियो।

पछि उक्त शवलाई हेलिकप्टरमार्फत लुक्ला हुँदै काठमाडौं ल्याइएको छ। अहिले शवलाई पोस्टमार्टम र पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ।

शव कसको हो भन्ने अझै खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

लुटतन्त्रका रिपोर्टले झस्किन्छु: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतमा भएको आर्थिक दोहन र लुटतन्त्रका रिपोर्टहरू हेर्दा आफू स्तब्ध हुने बताएका छन्। एक कार्यक्रममा बोल्दै उनले देशमा केही समूहले राजनीति र संस्थागत क्षेत्रमा गरेको कब्जा अब अन्त्य गर्न सरकार सक्रिय रहेको स्पष्ट पारे।

उनले ‘एलिट’ समूह, भ्रष्ट राजनीतिज्ञ र केही व्यवसायीबीचको अपवित्र सम्बन्धले देशलाई नोक्सान पुर्‍याएको भन्दै यस्तो प्रवृत्ति अब सह्य नहुने बताए। विगतका गलत अभ्यासलाई निरन्तरता नदिन निजी क्षेत्रलाई आग्रह गर्दै उनले अपराधीलाई जोगाउने प्रयास नगर्न चेतावनी समेत दिए।
वाग्लेले सरकार स्वच्छ र पारदर्शी वातावरण बनाउन चाहिरहेको उल्लेख गर्दै इमानदार व्यवसायीलाई प्रोत्साहन गर्ने नीति लिइएको बताए। कर तिर्ने, रोजगारी सिर्जना गर्ने र नियमअनुसार व्यवसाय गर्ने उद्यमीका लागि सहज वातावरण बनाइने उनको भनाइ छ।

साथै, व्यवसायीले भोगेका समस्या समाधान गर्न आवश्यक कानुनी सुधारको काम पनि अघि बढिरहेको जानकारी दिँदै उनले अब देशमा स्वच्छ र न्यायपूर्ण आर्थिक प्रणाली स्थापित गर्ने दिशामा सरकार अघि बढेको बताए।

Read More

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ ।

 शहरी विकास मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो ।

वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन तथा होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने प्रबन्ध सरकारले मिलाएको भन्दै होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू उपलब्ध गराईएको छ । 

वास्तविक भूमिहीन तथा आर्थिक अवस्थाका कारण स्व व्यवस्थापन गर्न असमर्थ नागरिकलाई दशरथ रंगशालास्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा उपलब्ध गराइने सेवा सुविधाको लाभ लिन अनुरोध गरिएको छ ।

सरकार नागरिकहरूको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनर्स्थापनाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छ ।

Read More

गलत सूचना बढ्दो चुनौती, सत्य पत्रकारिताको खाँचो: सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र र जिम्मेवार प्रेसलाई लोकतन्त्रको मुख्य आधार भएको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा उनले शुभकामना दिँदै प्रेसले केवल समाचार दिने काम मात्रै नभई समाजका सबै क्षेत्रलाई जवाफदेही बनाउने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

उनका अनुसार सुशासन, पारदर्शिता र जनविश्वास कायम राख्न स्वतन्त्र प्रेस अपरिहार्य हुन्छ। सरकारले संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाएको पनि उनले स्पष्ट पारे।

मन्त्री तिमिल्सिनाले पत्रकारितामा स्वतन्त्रतासँगै सत्यता, व्यावसायिकता र जनहितप्रतिको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुने बताए। डिजिटल युगमा फैलिँदै गएको गलत सूचना र भ्रामक सामग्रीप्रति सचेत रहनुपर्नेमा जोड दिँदै उनले सत्य र तथ्यमा आधारित पत्रकारिता अझ आवश्यक भएको उल्लेख गरे।

उनले समाजलाई सही दिशामा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैँ महत्वपूर्ण रहने भन्दै सम्पूर्ण पत्रकारप्रति सम्मान व्यक्त गरेका छन्।

Read More

रास्वपाको सचिवालय बैठक शुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक शुरु भएको छ ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी सचिवालयको बैठक केहीबेरअघि केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थलीमा शुरु भएको हो ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

Read More

सागर ढकालले लिए रास्वपाको केन्द्रीय सचिवालय सदस्यको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय सदस्यको रूपमा सागर ढकालले शपथ ग्रहण गरेका छन् ।

सभापति रवि लामिछानेले ढकाललाई आइतबार शपथ गराएका हुन् ।

ढकाललाई रास्वपाको बैशाख ७ गते बसेको केन्द्रीय समितिको बैठकले सचिवालय सदस्यमा मनोनित गरेको थियो ।

Read More

आशिका तामाङ भन्छिन्- होल्डिङ सेन्टरका सुकुम्बासीका बालबालिकाले पढ्न पाउनुपर्ने पर्यो 

काठमाडौँ । सांसद आशिका तामाङले किर्तिपुरस्थित सुकुम्बासीको होल्डिङ सेन्टरको अनुगमन गरेपछि बालबालिकाले पढ्न पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्  ।

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेल्टरमा सबै कुरा व्यवस्थापन गरियता पनि बालबच्चाहरूको विद्यालय छुटेको र धेरै बालबालिकाहरूको नयाँ भर्ना सेसन छुटेको गुनासो गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनीहरुले भर्ना हुन नपाएको भन्दै आशिकासँग गुनासो गरेका थिए । होल्डिङ सेन्टरमा १५ बर्षभन्दा मुनीका ६१ जना बालबालिका रहेको उनले बताएकी छन् ।

उनले सुकुम्बासीको व्यवस्थापन गर्न कति समय लाग्छ भन्ने निश्चित नभएको भन्दै बालबालिकाको विद्यालय छिटोभन्दा छिटो जान व्यवस्था मिलाउनु हुन सरकारको ध्यानआकर्षण गराएकी छन् ।

Read More

बलिवुडमा दंगलपछि विश्वभर धेरै कमाउने फिल्म बन्यो धुरन्धर- २

काठमाडौँ । बलिवुड फिल्म धुरन्धर- २ विश्वभर दोस्रो सबैभन्दा धेरै कमाइ गर्ने भारतीय चलचित्र बनेको छ । चलचित्रले हालसम्म विश्वभर १७८८.३२ करोड भारु आम्दानी गरेको छ।

यससँगै धुरन्धर २ ले बाहुबली २ लाई पछि पारेको छ, जसले १७८८.०६ करोड कमाएको थियो । अहिले यो चलचित्र दंगल पछि दोस्रो स्थानमा पुगेको छ, दंगलको कुल कमाइ २ हजार ७० करोड रहेको छ।

फिल्म व्यापारसम्बन्धी वेबसाइट सैकनिल्कका अनुसार रिलिजको ४५औँ दिनसम्म  धुरन्धर २ ले भारतमा कुल नेट कमाइ ११३८.५४ करोड पुगेको छ । विदेशी बजारमा पनि चलचित्रले राम्रो कमाइ गरेको  छ। 

यसअघि ‘धुरन्धर’को पहिलो भागले पनि भारत तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन गरेको थियो । उक्त चलचित्रले विश्वभर करिब १३०७ करोड भारु कमाएको थियो ।

Read More