२०८३ असार ११

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरुलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लाग विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण तथा पाँच मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले भारतसँग जिटुजी खरिद माध्यमबाट ६० हजार मे. टन यूरिया र २० हजार मे. टन डिस्पी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले संसद् भवन परिसरमा प्रवेशलगायतका विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको शिक्षामन्त्री पोखरेलले बताए ।

Read More

नासाले एआईको सहयोगमा पत्ता लगायो ३१ नयाँ ग्रह

काठमाडौँ । खगोलविदहरूले कृत्रिम बुद्धिमत्तामा आधारित नयाँ शक्तिशाली उपकरण ‘रेभन’ को प्रयोग गर्दै सौर्यमण्डल बाहिरका १०० भन्दा बढी ग्रहको पुष्टि गरेका छन् । तीमध्ये ३१ वटा पूर्ण रूपमा नयाँ ग्रह रहेको जनाइएको छ ।

यो खोज नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे उपग्रह अभियानबाट सङ्कलित तथ्याङ्कको विश्लेषणबाट गरिएको हो । अध्ययनका क्रममा केही दुर्लभ र चरम प्रकृतिका ग्रह पनि फेला परेका छन्, जसले आफ्ना ताराको अत्यन्त नजिक अत्यधिक गतिमा परिक्रमा गर्छन् । साथै ‘नेप्च्यूनियन डेजर्ट’ भनिने अन्तरिक्षको दुर्लभ क्षेत्रमा रहेका ग्रह पनि पहिचान गरिएको छ,  विशेष गरी ताराको नजिक रहेका अवस्थामा, जहाँ नेप्च्यून आकारका मध्यम ग्यासीय ग्रह अत्यन्त कम पाइन्छन् । 

यो अध्ययन वारविक विश्वविद्यालयका खगोलविदहरूले गरेका हुन् । अध्ययनको नतिजा ‘मन्थ्ली नोटिसेस अफ द रोयल एस्ट्रोनोमिकल सोसाइटी’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित भएको छ । अनुसन्धान टोलीले चार वर्षको अवधिमा सङ्कलित २२ लाखभन्दा बढी ताराको तथ्याङ्क विश्लेषण गरेको थियो ।

आधुनिक अन्तरिक्ष अनुसन्धानमा हजारौँ सम्भावित ग्रहका संकेत भेटिने भए पनि वास्तविक ग्रह र झूटा संकेत छुट्याउन कठिन हुने गर्छ । ‘रेभन’ उपकरणले यही समस्या समाधान गर्न सहयोग गरेको छ । यसलाई लाखौँ नमुना तथ्याङ्कमा तालिम दिइएको छ, जसले ताराको उज्यालोपन घट्नुको कारण ग्रह हो वा अन्य खगोलीय घटना हो भन्ने छुट्याउन सक्छ ।

अनुसन्धानकर्ताहरूले विशेष गरी ती ग्रहमा ध्यान दिएका छन्, जसले आफ्ना ताराको नजिक परिक्रमा गर्दै १६ दिनभन्दा कम समयमा एक फन्को पूरा गर्छन् । अध्ययनकी प्रमुख अनुसन्धानकर्ता डा. मरिना लाफार्गा म्याग्रोका अनुसार ‘रेभन’ को सहयोगले ११८ नयाँ ग्रह पुष्टि गरिएको छ भने २ हजारभन्दा बढी उच्च सम्भावना भएका ग्रह पहिचान भएका छन्, जसमध्ये करिब १ हजार नयाँ छन् ।

नयाँ खोजमा अति छोटो समयमै परिक्रमा गर्ने ग्रह पनि समावेश छन्, जसले २४ घण्टाभन्दा कम समयमा आफ्ना ताराको एक फन्को पूरा गर्छन् । साथै ‘नेप्च्यूनियन डेजर्ट’ क्षेत्रमा रहेका दुर्लभ ग्रहसमेत यसमा समेटिएका छन् ।

Read More

लिपुलेक नेपालको भुमि हो भन्नेमा सरकार प्रतिबद्ध छ- प्रवक्ता पोखरेल

काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले लिपुलेक नेपालको भुमि हो भन्नेमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्दै प्रवक्ता पोखरेलले लिपुलेक हाम्रो भुमि हो भन्नेमा प्रष्ट रहेको बताउदै भारतले पनि छलफलबाट समस्याको समाधान गर्ने भनेकोले त्यसै अनुसारनै समस्याको समाधान गर्न तयार रहेको बताएका हुन् । 

उनले भनेका छन्- यसमा नेपाल सरकार प्रतिबद्ध छ, परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको छ, भारत सरकारले पनि सहकार्यबाट निकास निकाल्नुपर्छ भनेको छ । नेपाल सरकारको पनि सिमाना विवादमा नेपालको भूमि हो भन्नेमा प्रतिबद्ध छ, बाँकी दुई सरकारबीच कुरा गरेर समाधान गर्ने विषय हो ।’  

Read More

राष्ट्रपति पौडेलले फिर्ता गरेको संबैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेको संबैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गर्न पुन: सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्दै यसअघि जारी गर्न सिफारिस गरेको संबैधानिक परिषद सम्बन्धि अध्यादेशनै सिफारिश गरिएको जानकारी दिएका छन् ।

आइतबार राष्ट्रपति पौडेलले यसअघि पनि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गरेकै कारण देखाएर अहिले पनि फिर्ता गरेका थिए ।

सरकारले संबैधानिक परिषदमा प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा निर्णय गर्नसक्ने व्यवस्था गरेर अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

Read More

बिपी राजमार्ग पुर्णरुपमा बन्द

काठमाडौँ । रोशी खोलाकोसाथ बढ्दै गएपछि विपी राजमार्ग पुर्णरुपमा बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भई रोशी खोलामा पानीको सतह बढ्न गएको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको हो ।

प्रहरीले खोलाको बहाव सामान्य भई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा सडक सुचारु गरिने बताएको छ । बिपी राजमार्गका विभिन्न स्थानमा डाइभर्सनबाट सडक संचालन गरिएको हुनाले बर्षा शुरु हुनासाथ अवरुद्ध हुदै आएको छ ।

Read More

इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्छु- महानिरीक्षक पौडेल

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संविधान, कानुन र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृहसचिव राजकुमार श्रेष्ठबाट दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक पौडेलले इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो जिम्मेवारी केवल नेतृत्वमा सीमित नभई राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति र सुशासन कायम गर्ने तथा जनताको जीउधनको रक्षा गर्ने महत्वपूर्ण दायित्व रहेको बताएका हुन् । 

उनले आफ्नो कार्यकालमा सीमा सुरक्षा सुदृढीकरण, संगठनको नीतिगत तथा संरचनागत सुधार र आधुनिकीकरणमा जोड दिने योजना रहेको बताए । साथै मानव संसाधन विकास, प्रविधिको प्रयोग र परिणाममुखी कार्यशैलीमार्फत सुशासन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका थिए ।

महानिरीक्षक पौडेलले सरकारको सय बुँदे सुधार योजनाअनुसार सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउने तथा आवश्यक कानुनी व्यवस्था, स्रोतसाधन र मार्गदर्शनका लागि सरकारसँग सहयोग अपेक्षा गरिएको बताए ।

समारोहमा प्रहरी महानिरीक्षक, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका सहसचिव तथा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Read More

दर्शक नआएपछि क्यानले घटायो टिकट मुल्य

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको जारी सिरिजको टिकट मुल्य घटाएको छ ।

क्यानले यस सिरिजको भोली हुने नेपाल र ओमान बीचको खेल र यस लगत्तै नेपालको स्कटल्याण्ड र अमेरिकासँग हुने सिरिजको टिकट मुल्य २०० कायम गरेको हो ।

यसअघि ४०० टिकट तोकिएको थियो । टिकट महँगो भएको भन्दै क्यानको आलोचना भएको थियो भने दर्शक समेत स्टेडियम पुगेका थिएनन् । 

सामान्य खेलमा समेत स्टेडियम भरि दर्शक हुने किर्तिपुरमा यस सिरिजमा दर्शक उपस्थित नहुदा खेलाडी समेत अचम्मित बनेका थिए । पछिल्लो युएईविरुद्धको खेल पछि दिपेन्द्र सिंह ऐरीले समेत दर्शक नआएकोमा चासो राख्दै आफुहरु अचम्ममा परेको बताएका थिए । उनले दर्शक किन आउनु भएन भन्ने आफुहरुलाई थाहा नभएको भन्दै नेपाली क्रिकेट समर्थकका कारणनै नेपालको क्रिकेट यहाँसम्म आएको भन्दै स्टेडियम आउन अपिल समेत गरेका थिए ।

Read More

५० वर्षदेखि अलपत्र पोखरा बसपार्क: २०५ रोपनी जग्गा खुम्चिँदै, अतिक्रमण र व्यवस्थापन अभावले योजना संकटमा

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा प्रस्तावित सुविधासम्पन्न बसपार्क निर्माण योजना पाँच दशक बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन। विसं २०३२ मा कास्कीको पृथ्वीचोकमा २०५ रोपनी क्षेत्रफलमा बसपार्क निर्माण गर्ने योजना अघि सारिएको थियो।

उक्त क्षेत्र पूर्वमा सेती नदी, पश्चिममा साबिक ट्राफिक भवन, दक्षिणमा विमानस्थल र उत्तरमा साल्ट ट्रेडिङको चार किल्लाभित्र पर्ने गरी राजपत्रमा प्रकाशित गरिएको थियो। तर, लामो समयसम्म योजना अलपत्र पर्दा बसपार्कका लागि छुट्याइएको २०५ रोपनी जग्गा हाल खुम्चिँदै ४७ रोपनीमा सीमित भएको छ।

पोखरा महानगरपालिकाको अध्ययनअनुसार बसपार्क क्षेत्रभित्र ४०० भन्दा बढी सुकुमवासी परिवार बसोबास गर्दै आएका छन्। बसपार्क निर्माण हुन नसक्दा पृथ्वीचोक क्षेत्रमा सडक पेटीबाटै लामो तथा छोटो दूरीका सवारी सञ्चालन हुँदै आएका छन्, जसले गर्दा यातायात व्यवस्थापन अस्तव्यस्त भई नियमित जामको समस्या देखिएको छ।

यसैबीच, महानगरपालिकाले अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गर्दै प्रक्रिया अघि बढाएको छ। वैशाख ३ गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो। संघीय राजधानी काठमाडौंमा पनि पछिल्ला दिनहरूमा अतिक्रमित जग्गा खाली गराउने अभियान तीव्र बनाइएकाले यसको प्रभाव पोखरामा पनि देखिन थालेको छ।

तर, प्रभावित सुकुमवासीहरूले वैकल्पिक व्यवस्थापन विना हटाइन नहुने माग गरेका छन्। बसपार्क क्षेत्रभित्रको कृष्ण टोल आमा समूहकी अध्यक्ष रुपा केसीले आफूहरू अव्यवस्थित बसोबास गर्न इच्छुक नभएको बताउँदै उचित पुनःस्थापनासहित मात्र स्थान छोड्न तयार रहेको धारणा व्यक्त गरिन्। उनका अनुसार सुकुमवासीहरू विकासका विरोधी नभई व्यवस्थित व्यवस्थापनका पक्षमा छन्।

भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले पनि हाल बसोबास गरिरहेको वडा नं ९ भित्र वा नजिकै वैकल्पिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। व्यवस्थापन विना हटाउने निर्णयले सुकुमवासीहरू चिन्तित बनेको उनको भनाइ छ।

त्यस्तै, मजदुर नेता रुद्र गौतमले बसपार्क निर्माणका लागि अतिक्रमित संरचना हटाउने सरकारी कदममा सहयोग रहने बताए। उनले विगतमा प्रभाव र शक्तिको दुरुपयोग गरी जग्गा किनबेच भएको उल्लेख गर्दै वास्तविक सुकुमवासीलाई विकासको अवरोधका रूपमा चित्रण गर्नु उचित नभएको बताए। साथै, प्रारम्भिक रूपमा छुट्याइएको सम्पूर्ण २०५ रोपनी जग्गा खाली गरेर मात्र बसपार्क निर्माण अघि बढाउनुपर्ने उनको धारणा छ।

Read More

क्रुज जहाजमा हान्टाभाइरस सङ्क्रमण: तीन जनाको मृत्यु, थप सङ्क्रमणको आशंका

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार अटलान्टिक महासागरमा यात्रा गरिरहेको एक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ।

उक्त घटना अर्जेन्टिनाको उशुआइयाबाट केप भर्डेतर्फ जाँदै गरेको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजमा भएको हो।

डब्लुएचओका अनुसार हालसम्म एक जनामा प्रयोगशालाबाट हान्टाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप पाँच जनामा सङ्क्रमणको आशंका गरिएको छ। प्रभावित छ जनामध्ये तीन जनाको मृत्यु भइसकेको छ भने एक जना दक्षिण अफ्रिकास्थित अस्पतालमा गम्भीर अवस्थामा उपचाररत रहेका छन्।

दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त घटना ‘गम्भीर तीव्र श्वासप्रश्वाससम्बन्धी रोग’ का रूपमा देखिएको थियो, जसले कम्तीमा दुई जनाको ज्यान लिएको र एक जना जोहानेसबर्गमा गम्भीर अवस्थामा उपचाररत रहेको जनाएको छ।

Read More

नौ वर्षपछि पेशावर जाल्मीले जित्यो पिएसएलको उपाधि

काठमाडौँ । करिब नौ वर्षको लामो प्रतीक्षापछि पेशावर जाल्मीले पाकिस्तान सुपर लिगको उपाधि जितेको छ । फाइनलमा हैदराबाद किंग्सम्यानलाई पाँच विकेटले हराउँदै जाल्मीले दोस्रो पटक ट्रफी आफ्नो नाम गरेको हो । यसअघि टोलीले २०१७ मा पहिलो उपाधि जितेको थियो ।

फाइनल खेलमा पहिले ब्याटिङ गरेको हैदराबाद किंग्सम्यानको सुरुवात कमजोर रह्यो । लगातार विकेट गुमाउँदा टोली ठूलो साझेदारी बनाउन असफल भयो र १८ ओभरमा १२९ रनमै समेटियो । साइम अयूबले ५४ रन बनाएर एक छेउ सम्हालेका थिए भने कप्तान मार्नस लाबुशेनले २० रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

जाल्मीका आरोन हार्डीले उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्दै खेलको दिशा बदले । उनले चार विकेट लिएर विपक्षीलाई सानो स्कोरमा रोक्न महत्वपूर्ण भूमिका खेले । नाहिद राणाले पनि दुई विकेट लिँदै राम्रो साथ दिएका थिए ।

१३० रनको लक्ष्य पछ्याएको जाल्मीको सुरुवात भने कमजोर रह्यो । पहिलो ओभरमै मोहम्मद हारिस र कप्तान बाबर आजम आउट भएपछि टोली दबाबमा परेको थियो । एक समय चार विकेटमा ४० रनको अवस्थामा पुगेको जाल्मी हारतर्फ उन्मुख देखिएको थियो ।

तर त्यसपछि आरोन हार्डी र अब्दुल समदले उत्कृष्ट साझेदारी गर्दै खेल आफ्नो पक्षमा फर्काए । दुवैले ८५ रनको महत्वपूर्ण साझेदारी गरे । समदले ३४ बलमा ४८ रन बनाएका थिए भने हार्डीले अविजित ५६ रन बनाउँदै टोलीलाई जित दिलाए । जाल्मीले २८ बल बाँकी रहँदै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। 

यस जितसँगै टोलीले नौ वर्षपछि उपाधि जित्दै आफ्ना समर्थकलाई खुसी बनाएको छ। कप्तान बाबर आजमका लागि यो जित विशेष बनेको छ, किनकि उनको कप्तानीमा टोलीले पहिलो पटक ठूलो उपाधि जितेको हो ।

Read More