२०८३ असार १३

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ३८ सयले घटेर तोलाको २ लाख ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५०  रुपैयाँले घटेर ४८८० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०३० मा कारोबार भएको थियो ।

Read More

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्बेश जोशी पक्राउ

काठमाडौँ । स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्बेश जोशी ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार काठमाडौँ महानगरपालिका–२ खुर्सानीटार बस्ने जोशीलाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० साल वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएर सञ्चालनमा आएको स्मार्ट टेलिकम प्रालिले समयमै अनुमतिपत्र नवीकरण नगरेपछि २०८० साल वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो ।

अनुमतिपत्र रद्द भएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापनसम्बन्धी नियमअनुसार कम्पनीका सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना र सञ्जाल प्राधिकरणले नियन्त्रणमा लिएको थियो । यसबीच सरकारी सम्पत्तिमा बेइमानी गरी हक टुटाउने उद्देश्यले कार्य गरेको आरोपमा जोशीलाई ठगी तथा आपराधिक विश्वासघातको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

Read More

इरानले दर्जनौँ क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको युएईको दाबी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले इरानतर्फबाट प्रहार गरिएका दर्जनौँ क्षेप्यास्त्र र ड्रोनहरू अवरोध गरिएको दाबी गरेको छ ।

युइएको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका १२ वटा बैलिस्टिक क्षेप्यास्त्र, ३ वटा क्रुज क्षेप्यास्त्र र ४ वटा ड्रोनलाई रक्षा प्रणालीले निष्क्रिय पारेको जानकारी दिएको हो । उक्त आक्रमण रोक्ने क्रममा ३ जना घाइते भएको मन्त्रालयले जनाएको छ । साथै हालसम्म इरानतर्फबाट प्रहार गरिएका कुल ५४९ बैलिस्टिक क्षेप्यास्त्र, २९ क्रुज क्षेप्यास्त्र र २ हजार २६० ड्रोनलाई युएईको रक्षा प्रणालीले रोकिसकेको दाबी गरिएको छ ।

घटनामा हालसम्म २२७ जना घाइते भएका छन् । घाइतेमध्ये विभिन्न देशका नागरिक रहेका छन् ।

इरानी आक्रमणमा युएईका ३ सैनिकको ज्यान गएको बताइएको छ । तीमध्ये एक मोरक्कोका नागरिक थिए, जो सशस्त्र बलसँग सम्झौतामा कार्यरत थिए ।

यसैबीच कुल १० जनाको मृत्यु भएको छ । मृतकमध्ये पाकिस्तान, नेपाल, बंगलादेश, भारत, मिस्र तथा प्यालेस्टाइनका नागरिक रहेका छन् ।

रक्षा मन्त्रालयले देशको सुरक्षा प्रणाली पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ । कुनै पनि खतरासँग डटेर सामना गर्ने र राष्ट्रको सुरक्षा, स्थायित्व तथा हितको रक्षा गर्न आवश्यक सबै कदम चालिने मन्त्रालयले स्पष्ट पारेको छ ।

Read More

विद्यार्थी र कर्मचारीका संगठन दलका ‘स्लिपर सेल’ बने- प्रधानमन्त्री शाह

काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बनेको आरोप लगाएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइएको उल्लेख गर्दै यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनाएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्- ‘धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन् ‘विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो ।’ वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बने । योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन भन्दै चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्ने बताएका छन् ।

उनले अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको उल्लेख गर्दै अब स्पष्ट निर्णय आवश्यक रहेको र शिक्षालयमा दलको झण्डा निषेध गरिने बताएका छन् ।

त्यस्तै उनले कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्ने र यसले अधिकार नखोस्ने बरु पेशागत स्वतन्त्रता बलियो बनाउने दाबि गरेका छन् । प्रधानमन्त्री शाहले अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्- ‘हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन । कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन । हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो ।’

प्रधानमन्त्री शाहले यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास गरिरहेको बताउदै शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने प्रयासभएको बताएका छन् । उनले त्यसैले अध्यादेशमार्फत यी विकृतिहरू हटाएको स्पष्ट गरेका छन् । उनले भनेका छन्- ‘हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ । हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ । तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।’

Read More

ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ ।

टियु क्रिकेट मैदानमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै ओमानले पहिला बलिङ गर्ने भएको छ ।

जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने यसअघिको ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो । त्यस्तै ओमानले युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो ।

लिग-२ मा भने ओमान २७ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने २३ खेलमा १६ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

त्यस्तै एकदिवसीय खेलमा नेपाल र ओमान अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ । 

आज टिममा दुई परिवर्तन गरिएको छ । आज भीम सार्की र सोमपाल कामीको स्थानमा आसिफ सेख र करण केसीलाई खेलाइएको छ । 

यस खेलमा नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), आसिफ सेख, आरिफ सेख, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल खेल्दैछन् ।

Read More

किर्तिपुरस्थित होल्डिसेन्टरमा रहेका ५२ बालबालिका आजदेखि विद्यालय जादै

काठमाडौँ । किर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् ।

महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरुको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नम्बर १४ मा रहेको जन विकास माध्यमिक विद्यालयमा पठाउन लागिएको हो । यो विद्यालय, बालबालिका रहेको ठाउँबाट पैदल दुरीमा छ । 

नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधास्वामी सत्संग आश्रममा रहेका छन् । उनीहरुमध्ये अपाङ्गता भएका १ जना सहित ६२ जना पुरुष, ३ जना सुत्केरी र २ जना गर्भवती सहित ८० जना महिला, ३१ जना बालिका र ३० बालक रहेका छन् ।

यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरका रहेका छन् । ४ जनाले यस वर्ष एसईई दिएका थिए । उनीहरुले कम्प्युटर, सिलाइ बुनाइ जस्ता सिप सिक्न छाहेको बताएको छन् भने महानगरपालिकाले उनीहरुले चाहेको सिपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको शिक्षा अधिकारी नमराज ढकालले बताए । 

विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्राबासमा राखेर पढाउने चाहना राखेका छन् । जसमा ११ जनाले भने छात्राबासमा बस्न अनिच्छा व्यक्त गरेको महानगरले जनाएको छ । 

महानगरले छात्राबासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि प्याब्सन, एनप्याब्सन र हिसानमार्फत अनुरोध गरेको र व्यवस्थापनको प्रयास गरिरहेका जनाएको छ । 

Read More

पश्चिम बङ्गालमा पहिलो पटक भाजपालाई बहुमत

काठमाडौँ । भारतको पश्चिम बङ्गालमा भारतीय जनता पार्टीले शानदार जित हासिल गरेको छ ।  २०११ देखि राज्यमा सत्ता रहेको ममता बेनर्जी नेतृत्वको तृष्णमूल काँग्रेसलाई पराजित गर्दै भाजपाले शानदार बहुमत हासिल गरेको हो । 

२९४ सदस्यीय पश्चिम बङ्गालको विधानसभामा भाजपाले २०६ सिट जितेको छ । अघिल्लो निर्वाचनमा भाजपाले केवल ७७ सिट जितेको थियो ।  त्यस्तै अघिल्लो निर्वाचनमा २१५ सिट जितेको तृष्णमूल काँग्रेस भने यस पटक ८१ सिटमा खुम्चिएको छ तृष्णमूल काँग्रेस

त्यस्तै प्रदेशमा भारतीय नेशनल काँग्रेसले केवल २ सिटमा जित हासिल गरेको छ । अघिल्लो चुनावमा नेशनल काँग्रेसको कुनै सिट थिएन ।  त्यस्तै कम्युनिष्ट पार्टीले २ सिट जितेका छन् भने अन्यले २ सिट जितेका छन् । 

पश्चिम बङ्गालमा पहिलो पटक भारतीय जनता पार्टी सत्तामा आएको छ । यस निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं राज्यमा प्रचारमा उत्रिएका थिए । 

पश्चिम बङ्गालमा २०११ देखि ममता बेनर्जी सत्तामा रहेकी थिइन् । उनले १९७७ देखि सत्तामा रहेको कम्युनिष्ट पार्टीलाई हराउदै सत्तामा आएकी थिइन् ।

Read More

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

काठमाडौँ  । नेपाली काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दैछ ।

काँग्रेसले संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय वोर्डको प्रथम बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्नेगरी बोलाएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा वोर्डका सदस्यहरूको उपस्थिति हुने दुलालले जानकारी दिए ।

Read More

व्यवसायी शेखर गोल्छा पुन: पक्राउ

काठमाडौँ । उद्योगी व्यवसायी शेखर गोल्छा पुन: पक्राउ परेका छन् ।

सर्वोच्च अदालतको आदेसपछि ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै उनी सोमबार साँझ पुनः पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई हिरासतबाट बाहिर निस्कने क्रममा नै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिरासत प्रक्रियामा त्रुटि देखाउँदै गोल्छालाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

सोही आदेशपछि गोल्छा धरौटी बुझाएर रिहा भए पनि बीमा ऐन, २०७९ अन्तर्गतको छुट्टै मुद्दामा जारी पक्राउ पुर्जीका आधारमा पुनः नियन्त्रणमा लिइएको हो।

अब उनलाई उक्त बीमा सम्बन्धी कसुरमा जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने बताइएको छ ।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा समुहका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि बैशाख १० गते पक्राउ गरिएको थियो ।

Read More

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गते हुनुपर्ने साधारण सभाको सोमबार उद्घाटन सत्र भएको थियो ।

महासंघको नयाँ कार्यसमितिको निर्वाचन आज हुँदैछ । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वत अध्यक्ष हुने छन् । 

महासंघको २०८१ को संशोधित विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन । त्यस्तै वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यसमितिबाट चयन गरिनेछ । अहिले उपाध्यक्ष र कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ । यसैअनुसार यसपटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भावी अध्यक्षका रूपमा महासंघको नेतृत्व गर्ने भएका छन् । बाँकी ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ ।

आज नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनका लागि ७३ पदाधिकारीका लागि १३७ व्यवसायी चुनावी मैदानमा उत्रिएका छन् । महासंघमा जिल्ला-नगर, वस्तुगत र एसोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ ।

यस निर्वाचनमा वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ समुहले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचन समितिले आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने र उक्त निर्वाचनमा २ हजारभन्दा बढीले मतदान गर्ने जानकारी दिएको छ । साथै निर्वाचनको नतिजा बुधबार मात्रै घोषणा हुने बताएको छ । चार उपाध्यक्षमा जिल्ला नगरबाट २, एसोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष निर्वाचित हुने छन् ।

त्यस्तै महासंघमा एसोसिएसटतर्फ १ हजार ८५०, जिल्ला नगरतर्फ १२९, वस्तुगत संघमा १०७, वस्तुगत महासंघमा १७, द्विराष्ट्रिय ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेका छन् ।

Read More