२०८३ भाद्र ९

रुपन्देहीको क्यासिनोमा अवैध जुवा गतिविधि नियन्त्रण: १९ जना प्रहरीको फन्दामा

काठमाडौं रुपन्देहीको सिद्धार्थनगर स्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देही को संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनल भित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनो मा गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्द का अनुसार पक्राउ पर्नेमा क्यासिनो व्यवस्थापनमा संलग्न चार जना र जुवा खेलिरहेका १५ जना रहेका छन्। उनीहरूलाई विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनमार्फत नियन्त्रणमा लिइएको जनाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरू विभिन्न जिल्ला तथा रुपन्देही क्षेत्रका बासिन्दा हुन्। घटनास्थलबाट ९५ हजार ५०० रुपैयाँ नगद, १७ थान मोबाइल फोन र ५० थान क्यासिनो क्वाइन बरामद गरिएको छ।

पक्राउ परेकामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

बेमौसमी वर्षाले बीपी राजमार्गमा जोखिम बढायो: काभ्रेको रोशी खण्डमा रात्रिकालीन सवारी पूर्ण प्रतिबन्ध

काठमाडौं । बेमौसमी वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी क्षेत्रमा बारम्बार सडक अवरुद्ध हुन थालेपछि जिल्ला सुरक्षा समितिले रात्रिकालीन सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको छ।

बाढी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै मङ्गलबारदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्ड बन्द गर्ने निर्णय गरिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी खोलामा आउने बाढीका कारण सडकमा बनाइएका अस्थायी ‘डाइभर्सन’ बग्ने जोखिम बढेको छ, जसले यात्रुको सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको छ। यही जोखिम न्यूनीकरणका लागि रात्रिकालीन सवारी सञ्चालन रोकिएको जनाइएको छ।

सोमबार रोशी गाउँपालिकाको लास्कोट र घुमाउने बीचमा सडक अवरुद्ध हुँदा फसेका ८९ जना यात्रुलाई सुरक्षा निकायले राति करिब १ बजे सफलतापूर्वक उद्धार गरेको थियो। वर्षाका कारण सवारी आवागमन प्रभावित भएपछि सवारी साधनहरूलाई धुलिखेल, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकेर राखिएको छ।

गत वर्ष आएको विनाशकारी बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म करिब १८ किलोमिटर सडक बगाएपछि हाल खोलाको किनारैकिनार अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको छ।

डिभिजन सडक कार्यालय भक्तपुर ले उक्त क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी रहेको जनाएको छ। सुरक्षा निकायले सर्वसाधारणलाई राजमार्गको अवस्थाबारे अग्रिम जानकारी लिएर मात्र दिउँसोको समयमा यात्रा गर्न तथा जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न आग्रह गरेको छ।

Read More

काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठक आज बस्दै

काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठक आज बस्दैछ । 

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठक सभापति गगन थापाको समुपस्थितिमा आज दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बोलाइएको छ । बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरुको उपस्थित हुने बताइएको छ ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेका छन् ।

Read More

एलन मस्क एक्सको कानुनी विवादमा १५ लाख डलर जरिवाना तिर्न सहमत

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क अमेरिकी प्रतिभूति तथा विनिमय आयोगसँग चलिरहेको कानुनी विवाद टुंग्याउन करिब १५ लाख डलर जरिवाना तिर्न सहमत भएका छन् ।

हालै सार्वजनिक कानुनी कागजातअनुसार सन् २०२२ मा ट्विटर (हाल ‘एक्स’) मा आफ्नो बढ्दो हिस्सेदारीबारे समयमै जानकारी नदिएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो । यस ढिलाइका कारण लगानीकर्तालाई करोडौँ डलर बराबरको नोक्सानी भएको दाबी गरिएको छ ।

सम्झौताले अदालतको अन्तिम स्वीकृति भने अझै पाउन बाँकी छ । स्वीकृति पाएमा सन् २०१८ सेप्टेम्बरदेखि सुरु भएको मस्क र नियामकबीचको लामो कानुनी विवाद अन्त्य हुने बताइएको छ ।

यो विवाद सन् २०२२ मा मस्कले ट्विटरका सेयर खरिदसँग सम्बन्धित थियो । नियामकका अनुसार मस्कले कम्पनीमा आफ्नो ५ प्रतिशत प्रारम्भिक हिस्सेदारी सार्वजनिक गर्न ११ दिन ढिलाइ गरेका थिए । यसबीच उनले बजारमा कृत्रिम रूपमा कम मूल्यमा ५० करोड डलरभन्दा बढीका सेयर खरिद गरेको आरोप छ । पछि मात्र उनले ट्विटरमा ९.२ प्रतिशत हिस्सेदारी भएको खुलाएका थिए ।

नियामकले मस्कलाई जरिवाना तिराउन मात्र होइन, ढिलाइका कारण बचत गरेको करिब १५ करोड डलरसमेत तिर्नुपर्ने माग गरेको थियो । तर मस्कले यो ढिलाइ अनजानेमा भएको भन्दै नियामकले आफूलाई लक्षित गरेको आरोप लगाएका थिए । यसअघि पनि मस्कमाथि यस्तै आरोप लागेको थियो । उनले आफ्नो विद्युतीय गाडी कम्पनी टेस्ला निजी बनाउने तयारी भएको भन्दै ‘पर्याप्त लगानी सुनिश्चित भएको’ दाबी गरेका थिए ।

त्यस घटनामा उनले २ करोड डलर जरिवाना तिरेका थिए र कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिनुपरेको थियो । साथै भविष्यमा सामाजिक सञ्जालमा गर्ने केही पोस्ट कानुनी परामर्शपछि मात्र सार्वजनिक गर्नुपर्ने शर्तसमेत राखिएको थियो ।

हालको सम्झौता र जरिवाना रकमलाई लिएर विभिन्न धारणा आएका छन् । केही कानुनी विशेषज्ञले यो रकम विश्वकै धनी व्यक्तिका लागि निकै सानो भएको बताएका छन् ।

तर यसले भविष्यमा यस्ता नियम उल्लंघन रोक्न सन्देश दिने उनीहरूको भनाइ छ । अर्कोतर्फ केहीले भने यसलाई आलोचना गर्दै नियामकले सर्वसाधारण लगानीकर्ताको हितभन्दा बाहिर गएर निर्णय गरेको आरोप लगाएका छन् ।

Read More

पशुपति क्षेत्रबाट पहिलो दिन ३६ सहयोगापेक्षीको उद्धार, २८ जना महानगरको होल्डिङ सेन्टरमा

काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।

काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त रुपमा वडा नम्बर  ८ तिलगंगामा सञ्चालन गरिएको सेन्टरमा पहिलो दिन मंगलबार २८ जनालाई राखिएको छ । यस दिन विहान ३६ जनालाई उद्धार गरिएको थियो । उनीहरुमध्ये सेन्टरमा पुगेपछि पर्खाल नाघेर ६ जना भागेको महानगरले जानकारी दिएको छ । 

मंगलबार नै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिएकी थिइन् । उद्धार गरिएकाहरुसँग कुरा गर्दै डंगोलले पारिवारिक अवस्था, सडकमा आउनु परेको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षा लगायत विषयमा जानकारी लिएकी थिइन् । खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उनले, विरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिएकी छन् । 

कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले, सेन्टरको पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउन कोषले काम गर्ने बताए ।  उद्धार गरिएकामध्ये ४ जनामा मानसिक समस्या छ । १ जना ज्येष्ठ नागरिकलाई कुकुरले टोकेर घाइते बनाएको छ । उद्धारबाट व्हिलचेयर प्रयोगकर्ता र वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको मानव सेवा आश्रमका उपत्यका इञ्चार्ज कृष्ण पौडेलले जानकारी दिए ।

उद्धार गरिएकामध्ये ६ जना महिला र बाँकी सबै पुरुष रहेको र उमेरका हिसाबले सबैभन्दा पाको उमेरको व्यक्ति ७८ वर्षको र सबैभन्दा कान्छो २५ वर्षको व्यक्तिका रहेको महानगरले जानकारी दिएका छन् । त्यस्तै उद्धार गरिएका सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोराङ., बारा, महोत्तरी, खोटाङ्, धनकुटा, सुर्खेत, दोलखासहित स्थानका व्यक्ति रहेका छन् । 

Read More

टक्सार पिखुवा खोला हाइड्रोको आइपिओ आजदेखि खुला

काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आजदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरुका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ६० हजार ६१३ कित्ता बाँडफाँट गरिसकेको छ । अब कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँबराबरको २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको छ ।

यस आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपिओको निष्काशन बन्द छिटोमा बैशाख २८ गते र ढिलोमा जेठ ६ गते हुनेछ ।

आइपिओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । 

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

Read More

पश्चिम बंगालमा ममता बनर्जीले राजीनामा नदिए के हुन्छ ?

काठमाडौँ । भारतको पश्चिम बंगाल राज्यमा तृणमूल कांग्रेसको निर्वाचन हारपछि मुख्यमन्त्री ममता बनर्जीले आफूले चुनाव नहारेको भन्दै राजीनामा नदिने घोषणा गरेपछि नयाँ बहस शुरु भेय्को छ । मंगलबार निर्वाचन परिणामपछि गरिएको पहिलो पत्रकार सम्मेलनमा उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन् ।

उनले भारतीय जनता पार्टीमाथि बेइमानी गरेर चुनाव जितेको आरोप लगाइन्। साथै, आफ्नो पार्टीको हारका लागि निर्वाचन आयोगलाई जिम्मेवार ठहर गर्दै आयोगलाई मुख्य दोषीको संज्ञा दिएकी छन् ।

राजीनामाको विषयमा बोल्दै ममता बनर्जीले भनिन्, ‘म किन राजीनामा दिने? हामी त हारेका छैनौँ। हारको प्रमाण देखाए मात्र राजीनामा दिन्छु । जबरजस्ती कसैले राजीनामा दिनुपर्छ भने पनि म अहिले राजीनामा दिने छैन । हामी चुनाव हारेका छैनौँ ।’

उनले आगामी रणनीतिबारे पार्टीभित्र छलफल गरिने र अब विपक्षीको दमन थप सहन नसक्ने बताइन्। साथै, आफू फेरि सडक आन्दोलनमा फर्किने चेतावनीसमेत दिइन् ।

यता, भारतीय जनता पार्टीले ममता बनर्जीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिएको छ। पार्टीका प्रवक्ता देबजीत सरकारले यस्तो अभिव्यक्तिले उनलाई नै हास्यास्पद बनाएको टिप्पणी गरे । उनका अनुसार संवैधानिक प्रक्रियामा विश्वास गर्ने व्यक्तिले यस्तो धारणा राख्न नसक्ने स्पष्ट पारे ।

संवैधानिक व्यवस्था के भन्छ?

भारतीय संविधानको धारा १६४ राज्यको मन्त्रिपरिषद् गठन र राज्यपालको अधिकारसँग सम्बन्धित छ । प्रत्येक निर्वाचनपछि राज्यपालले विधानसभा भित्र दलहरूको संख्या मूल्याङ्कन गरी बहुमत प्राप्त दललाई सरकार गठनका लागि आमन्त्रण गर्ने व्यवस्था छ । त्यसपछि मात्र सरकार गठन र सपथ ग्रहण प्रक्रिया पूरा हुन्छ । यदि कुनै मन्त्री संसद सदस्य नभएमा उसले ६ महिनाभित्र सदस्यता लिनुपर्ने हुन्छ । तोकिएको समयभित्र सदस्यता प्राप्त नगरेमा मन्त्री वा मुख्यमन्त्री पदमा रहन पाउँदैन । धारा १६४ (१) अनुसार मुख्यमन्त्री ‘राज्यपालको इच्छा रहुञ्जेल’ पदमा रहन सक्छन् । यहाँ राज्यपालको इच्छा भन्नाले निर्वाचित प्रतिनिधिहरूको बहुमतले दिएको समर्थनलाई जनाउँछ ।

यदि वर्तमान मुख्यमन्त्रीले राजीनामा नदिएमा राज्यपालले आफ्नो अधिकार प्रयोग गर्दै मन्त्रिपरिषद् बर्खास्त गर्न सक्ने प्रावधान पनि रहेको छ । यस्तै, संविधानको धारा १७२ राज्य विधानमण्डलको कार्यकालसँग सम्बन्धित छ । यस अनुसार विधानसभा पहिलो बैठकको मितिबाट पाँच वर्षसम्म कायम रहन्छ । पाँच वर्ष पूरा भएपछि स्वतः विघटन हुने व्यवस्था गरिएको छ ।

Read More

उद्योग वाणिज्य महासंघको एसोसियटतर्फ १७ सदस्यमा को को विजयी भए ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिमा एसोसियटतर्फ १७ सदस्यको मतगणना सकिएको छ ।

विजयी भएका १७ सदस्यमा सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वलकुमार श्रेष्ठ, शक्तिकुमार बेगानी, ऋषि अग्रवाल, सुशील थापा, राजेशकुमार अग्रवाल, सुयस प्याकुरेल, रामशरण भण्डारी, बाबुकाजी कार्की, दिवश न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, ईश्वरबहादुर जिसी, सुरज उप्रेती र बटु लामिछाने रहेका छन् ।

Read More

रास्वपाको आज मन्त्री र सांसदहरुबीच प्रि-बजेट छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदबीच हुने छलफल कार्यक्रम अन्तर्गत आज प्रि-बजेट छलफल आयोजना गर्ने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन तथा छलफलका लागि कार्यक्रम राखिएको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।

उक्त छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा पार्टीका सांसदहरूबीच बजेटका प्राथमिकता, नीति तथा आवश्यकताबारे छलफल गरिनेछ ।

कार्यक्रम आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना हुने बताइएको छ ।

Read More

इरानले हर्मुजमा अवरोध जारी राखे कडा प्रतिबन्ध लगाउने प्रस्ताव राष्ट्रसंघमा

काठमाडौँ । संयुक्त राष्ट्रसंघमा इरानलाई लक्षित गर्दै कडा चेतावनीसहित नयाँ प्रस्ताव पेश गरिएको छ ।

प्रस्तावमा इरानलाई हर्मुज जलडमरूमध्य क्षेत्रमा जहाजमाथि आक्रमण गर्ने र शुल्क असुली गर्ने काम तुरुन्त बन्द गर्न भनिएको छ । यदि यस्तो गतिविधि नरोकेमा इरानमाथि थप प्रतिबन्धसहित कडा कदम चालिने चेतावनी दिइएको छ ।

रिपोर्टका अनुसार अमेरिका र खाडी मुलुकहरूले ल्याएको उक्त प्रस्तावमा इरानसँग समुद्रमा बिछ्याइएका विस्फोटक उपकरणबारे जानकारी दिन तथा मानवीय सहायता मार्ग निर्माणमा सहयोग गर्न पनि माग गरिएको छ ।

यसअघि यस्तै प्रकृतिको प्रस्ताव चीन र रूसले भिटो गरेका थिए । त्यो घटना अप्रिल महिनाको सुरुवातमा अमेरिका र इरानबीच अस्थायी युद्धविराम लागू भएका बेला भएको थियो ।

अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले इरानले हर्मुज जलडमरूमध्य बन्द गर्ने र जहाजहरूलाई धम्क्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्। उनले उक्त प्रस्तावमाथि छिट्टै मतदान हुन सक्ने बताएका छन् ।

संयुक्त राष्ट्रका लागि अमेरिकाका राजदूत माइक वाल्ट्जले नयाँ प्रस्ताव पहिलेको तुलनामा सीमित भएकाले यसपटक पारित हुने सम्भावना बढी रहेको र भिटोको जोखिम कम रहेको बताएका छन् ।

उक्त प्रस्ताव संयुक्त राष्ट्रको अधिकारपत्रको अध्याय ७ अन्तर्गत ल्याइएको हो । आवश्यक परे यसलाई सैन्य बल प्रयोग गरेर समेत कार्यान्वयन गर्न सकिने व्यवस्था गरिएको छ । साथै, सदस्य राष्ट्रहरूलाई आफ्ना जहाजको सुरक्षा गर्ने अधिकार पनि प्रदान गरिएको छ ।

यता, इरानी नौसेनाले हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजहरूलाई आफूले तोकेको मार्ग मात्र प्रयोग गर्न चेतावनी दिएको छ । इरानले तोकेको मार्ग बाहिरबाट जाने प्रयास गरेमा कडा कारबाही गरिने जनाएको छ ।

इरानका अनुसार उसले निर्धारण गरेको मार्ग नै सुरक्षित रहेको र अन्य मार्ग प्रयोग गर्दा जोखिम उच्च रहने बताइएको छ ।

Read More