काठमाडौं । बेमौसमी वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी क्षेत्रमा बारम्बार सडक अवरुद्ध हुन थालेपछि जिल्ला सुरक्षा समितिले रात्रिकालीन सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको छ।
बाढी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै मङ्गलबारदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्ड बन्द गर्ने निर्णय गरिएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी खोलामा आउने बाढीका कारण सडकमा बनाइएका अस्थायी ‘डाइभर्सन’ बग्ने जोखिम बढेको छ, जसले यात्रुको सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको छ। यही जोखिम न्यूनीकरणका लागि रात्रिकालीन सवारी सञ्चालन रोकिएको जनाइएको छ।
सोमबार रोशी गाउँपालिकाको लास्कोट र घुमाउने बीचमा सडक अवरुद्ध हुँदा फसेका ८९ जना यात्रुलाई सुरक्षा निकायले राति करिब १ बजे सफलतापूर्वक उद्धार गरेको थियो। वर्षाका कारण सवारी आवागमन प्रभावित भएपछि सवारी साधनहरूलाई धुलिखेल, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकेर राखिएको छ।
गत वर्ष आएको विनाशकारी बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म करिब १८ किलोमिटर सडक बगाएपछि हाल खोलाको किनारैकिनार अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको छ।
डिभिजन सडक कार्यालय भक्तपुर ले उक्त क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी रहेको जनाएको छ। सुरक्षा निकायले सर्वसाधारणलाई राजमार्गको अवस्थाबारे अग्रिम जानकारी लिएर मात्र दिउँसोको समयमा यात्रा गर्न तथा जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न आग्रह गरेको छ।



