२०८३ जेष्ठ २७

रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। समसामयिक राजनीतिक अवस्था, संसद्को गतिरोध र राष्ट्रिय सरोकारका विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि पठाउन निमन्त्रणा गरिएको थियो।

यद्यपि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले आफ्ना शीर्ष नेताहरूलाई बैठकमा नपठाई अन्य प्रतिनिधिमार्फत सहभागिता जनाएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने स्वयं बैठकमा उपस्थित भएका छन्।

उता हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने बैठक बहिष्कार गरेको जनाएको छ।

पछिल्लो राजनीतिक घटनाक्रम, संसद्को अवरोध र दलहरूबीचको संवादलाई केन्द्रमा राखेर बोलाइएको यो बैठकलाई अर्थपूर्ण राजनीतिक पहलका रूपमा हेरिएको छ। बैठकबाट के निष्कर्ष निस्कन्छ भन्ने विषयमा राजनीतिक वृत्तिको ध्यान केन्द्रित भएको छ।

Read More

सर्वदलीय बैठकलाई एमाले नेता महेश बस्नेतले समर्थन गर्दै भने: रवि लामिछानेको पहल सकारात्मक

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकलाई सकारात्मक राजनीतिक पहलका रूपमा टिप्पणी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले वर्तमान राजनीतिक परिस्थितिमा दलहरूबीच संवाद, सहकार्य र सहमतिको आवश्यकता झन् बढेको बताएका छन्। सरकार जनअपेक्षाअनुसार अघि बढ्न नसकेको, प्रधानमन्त्रीका अभिव्यक्ति र कार्यशैलीमाथि निरन्तर प्रश्न उठिरहेको तथा नेतृत्वमा आवश्यक परिपक्वताको अभाव देखिएको उनको टिप्पणी छ।

बस्नेतले संसद्को गतिरोध अन्त्य गर्न सभामुखले सक्रिय भूमिका खेल्नुपर्ने बेला त्यसतर्फ अपेक्षित ध्यान नदिएको संकेत पनि गरेका छन्। यस्तो अवस्थामा प्रमुख राजनीतिक दलहरूलाई एउटै मञ्चमा ल्याएर छलफल गर्ने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सुरु भएको सर्वदलीय बैठकमा संसद्को अवरोध, समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रिय सरोकारका विषयमा छलफल भइरहेको छ।

एमाले नेता बस्नेतको अभिव्यक्तिलाई सर्वदलीय संवादको प्रयासप्रति प्रमुख दलबाट आएको समर्थनका रूपमा हेरिएको छ।

Read More

रास्वपाले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड अनुपस्थित रहने, कुन दलबाट को-को सहभागी हुँदैछन् ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा हुने बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रतिनिधिहरू सहभागी हुने भएका छन्।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय सरोकारका विषय र दलहरूबीचको समन्वयका मुद्दामा छलफल हुने जनाइएको छ। प्रत्येक दलबाट अध्यक्ष वा सभापतिसहित बढीमा दुई जना प्रतिनिधि सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी हुनेछन् भने एमालेले प्रमुख सचेतक ऐनबहादुर महरलाई पठाउने निर्णय गरेको छ।

यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बैठकमा उपस्थित नहुने भएका छन्। स्वास्थ्य अवस्था अनुकूल नभएका कारण उनी बैठकमा सहभागी हुन नसक्ने जनाइएको छ।

प्रचण्डको अनुपस्थितिमा नेकपाको प्रतिनिधित्व सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुनले गर्ने तय भएको छ।

रास्वपाको पहलमा हुन लागेको यो बैठकलाई पछिल्लो राजनीतिक घटनाक्रमका बीच दलहरूबीच संवाद र सहकार्यको प्रयासका रूपमा हेरिएको छ।

Read More

बस र ट्रक एकापसमा ठोक्किँदा ७ यात्रु घाइते

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ तारेभिरमा बस र ट्रक एकापसमा ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् ।

सोमबार बिहान करिब ६ बजे काठमाडौँबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ६८२३ नम्बरको बसको ब्रेक अचानक फेल भएपछि अगाडि गुडिरहेको लु २ ख ९४९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करपछि बस सडकको बायाँतर्फ रहेको नालीमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दाङ तुल्सीपुर–२ निवासी १८ वर्षीया अनिसा न्यौपानेको बायाँ खुट्टा भाँचिएको छ । अन्य ६ जनाको मुख, नाक तथा निधारमा सामान्य चोट लागेको बताइएको छ । सबै घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

मैदानमा फेरी ढले एरिक्सन

काठमाडौँ । डेनमार्कका चर्चित फुटबल खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै फेरि एकपटक ढलेका छन् । युरो कप २०२१ मा हृदयाघातका कारण मैदानमा ढलेको झण्डै पाँच वर्षपछि उनी पुनः खेलका क्रममा बेहोस भएका हुन् ।

गएराती युक्रेनविरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको ६५औँ मिनेटमा ३४ वर्षीय एरिक्सन अचानक मैदानमा लडेका थिए । उनी ढल्नासाथ चिकित्सक टोली मैदानमा पुगेको थियो। उपचारपछि उनी आफैँ हिँडेर एम्बुलेन्ससम्म पुगेका थिए ।

डेनमार्क फुटबल संघले टोलीका चिकित्सक मोर्टेन बोएसेनको भनाइ उद्धृत गर्दै एरिक्सनको अवस्था स्थिर रहेको जनाएको छ । चिकित्सक बोएसेनका अनुसार एरिक्सेन केही समयका लागि बेहोस भए पनि छिट्टै होसमा आएका थिए । उनको शरीरमा जडान गरिएको मुटुको विद्युतीय उपकरणले अपेक्षाअनुसार काम गरेको प्रारम्भिक रूपमा देखिएको छ ।

घटनापछि उनलाई ओडेन्से विश्वविद्यालय अस्पतालमा थप परीक्षणका लागि भर्ना गरिएको छ । चिकित्सकहरूले घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

सन् २०२१ जुन १२ मा फिनल्यान्डविरुद्धको युरो कप खेलका क्रममा एरिक्सनलाई मैदानमै हृदयाघात भएको थियो । त्यसबेला चिकित्सकहरूले तत्काल उद्धार गर्दै उनको ज्यान बचाएका थिए । पछि एरिक्सनले आफू करिब पाँच मिनेटसम्म मृत अवस्थाजस्तै रहेको बताएका थिए । त्यस घटनापछि उनको शरीरमा मुटुको धड्कन नियन्त्रण गर्ने विशेष विद्युतीय उपकरण जडान गरिएको थियो । चिकित्सकहरूको अनुमति पाएपछि उनले पुनः व्यावसायिक फुटबल खेल्न थालेका थिए ।

आइतबारको खेलमा प्रसारण गरिएका दृश्यहरूमा एरिक्सनले छाती समातेपछि मैदानमा ढलेको देखिएको थियो । उपचारका क्रममा टोलीका खेलाडीहरूले उनको वरिपरि घेरा बनाएर गोपनीयता कायम गरेका थिए । एरिक्सनलाई मैदानबाहिर लगिएपछि डेनमार्क र युक्रेनका खेलाडीहरूले एकअर्काको हात समातेर ऐक्यबद्धता प्रदर्शन गरेका थिए । घटनापछि खेल तत्काल स्थगित गरिएको थियो र पछि रद्द गरिएको घोषणा गरियो ।

अस्पतालमा रहेका एरिक्सनले आफू ठीक रहेको सन्देश टोलीका खेलाडीहरूलाई पठाएको चिकित्सक बोएसेनले बताएका छन् । उनका अनुसार एरिक्सन निरन्तर चिकित्सकीय निगरानीमा रहेका छन् र थप परीक्षणको नतिजा पर्खिरहेक छन् ।

Read More

ओपेक प्लस देशहरूको जुलाईका लागि तेल उत्पादन बढाउने निर्णय

काठमाडौँ । तेल उत्पादक देशहरूको समूह ओपेक प्लसले जुलाई महिनाका लागि तेल उत्पादन बढाउने निर्णय गरेको छ । यस निर्णय अनुसार सदस्य देशहरूले दैनिक १ लाख ८८ हजार ब्यारेल अतिरिक्त तेल उत्पादन गर्न पाउने भएका छन् ।

यो निर्णय अनलाइन बैठकमार्फत गरिएको हो । उक्त बैठकमा साउदी अरब, रूस, इराक, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानलगायत धेरै देशहरूको सहभागिता रहेको थियो ।

ओपेक प्लसका अनुसार यो कदम तेल बजारमा स्थिरता कायम राख्न र बढ्दो मूल्य नियन्त्रण गर्नका लागि उठाइएको हो ।

तर विज्ञहरूको भनाइमा केवल उत्पादन बढाउने घोषणा मात्रले ठूलो असर नपर्ने बताइएको छ। उनीहरूका अनुसार वास्तविक समस्या होर्मुज क्षेत्रमा जारी तनाव र द्वन्द्वका कारण तेल आपूर्तिमा भइरहेको अवरोध हो।

Read More

भारत भ्रमणपछि परराष्ट्रमन्त्री खनाल अर्को साता चीन जाँदै

काठमाडौं। तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल आगामी साता चीन भ्रमणमा जाने भएका छन्।

कूटनीतिक स्रोतका अनुसार मन्त्री खनाल चारदिने औपचारिक भ्रमणका लागि जेठ ३१ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको बताइएको छ। साथै, चीनस्थित नेपाली डायस्पोरासँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको स्रोतले जनाएको छ।

यद्यपि, परराष्ट्र मन्त्रालयले मन्त्री खनालको चीन भ्रमणको मिति, उद्देश्य तथा विस्तृत एजेण्डाबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

Read More

इरानमा इजरायलको जवाफी आक्रमण, तेहरानमा सुनियो विस्फोटका आवाज

काठमाडौँ । इजरायलले इरानको पश्चिमी र मध्य क्षेत्रमा रहेका सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ ।

इरानको राजधानी तेहरानमा पनि धेरै शक्तिशाली विस्फोटका आवाज सुनिएको राज्य सञ्चालित मेहर समाचार संस्थाले जनाएको छ । विस्फोटको कारण र त्यसबाट भएको क्षतिबारे तत्काल कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।

यसअघि इरानले इजरायलमा मिसाइल आक्रमण गरेको थियो, जसलाई इजरायलले असफल पारेको दाबि गरेको थियो ।

इरान र इजरायलबीच आक्रमण शुरु भएपछि युद्धविराम तोडिएको र फेरी युद्ध हुने आशंका बढेको छ । इरानले इजरायलले लेबनानमा आक्रमण नरोकेमा पुन: आक्रमण गर्ने चेतावनी दिएको छ ।

Read More

मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी

काठमाडौँ । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा हुने भएको छ । पहिलो पटक ४८ टोली सहभागी हुने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । तर यो विश्वकप केवल नयाँ ढाँचाका कारण मात्र होइन, पछिल्ला करिब दुई दशकदेखि विश्व फुटबलमा राज गर्दै आएका धेरै महान् खेलाडीहरूको सम्भावित अन्तिम विश्वकप पनि बन्ने देखिएको छ ।

धेरै दिग्गज खेलाडीहरूका लागि यो अन्तिम ठूलो अवसर हुन सक्छ, जहाँ उनीहरू विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जितेर अन्तर्राष्ट्रिय करियरलाई सम्मानजनक बिदाइ दिन चाहन्छन् । विश्वकप २०२६ ले नयाँ च्याम्पियन मात्र होइन, आधुनिक फुटबलका धेरै महान् खेलाडीहरूको अन्तर्राष्ट्रिय यात्राको अन्त्य पनि गर्न सक्छ। मेसी, रोनाल्डो, मोड्रिच, नेइमार, सलाहलगायतका खेलाडीहरूका लागि यो विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा अन्तिम पटक चम्किने अवसर हुनेछ ।

लियोनेल मेसी – छैटौं विश्वकपको ऐतिहासिक यात्रा

अर्जेन्टिनाका लियोनेल मेसी ३९ वर्षको उमेरमा आफ्नो छैटौं विश्वकप खेल्ने तयारीमा छन् । सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताइसकेका उनले आफ्नो करियरको सबैभन्दा ठूलो सपना पूरा गरिसकेका छन् । हाल उनी अमेरिकी क्लब इन्टर मियामीमा खेलिरहेका छन् । उमेर बढ्दै गए पनि अर्जेन्टिनाका लागि उनको प्रभाव अझै पनि निर्णायक रहेको छ । उत्तर अमेरिकाको गर्मी र लामो प्रतियोगिता चुनौतीपूर्ण भए पनि उनी अन्तिम पटक चम्किन सक्ने अनुमान गरिएको छ ।

क्रिस्टियानो रोनाल्डो – अन्तिम विश्वकपको सपना

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ४१ वर्षको उमेरमा विश्वकप खेल्ने तयारीमा छन् । पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोले क्लब तहमा सबै उपलब्धि हासिल गरे पनि विश्वकप जित्न सकेका छैनन् । हाल उनी साउदी अरेबियाको क्लब अल नासरबाट खेलिरहेका छन् । यो विश्वकप उनको छैटौं सहभागिता हुने छ र पोर्चुगलले उपाधि जितेमा उनको करियर पूर्ण हुने विश्वास गरिएको छ ।

गिलर्मो ओचोआ – छैटौं विश्वकपको कीर्तिमान

मेक्सिकोका अनुभवी गोलरक्षक गिलर्मो ओचोआ पनि छैटौं विश्वकप खेल्ने तयारीमा छन् । ४० वर्षको उमेरमा उनी पुनः राष्ट्रिय टोलीमा फर्किएका छन् । विश्वकपपछि उनले अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने संकेत दिइसकेका छन् ।

मानुएल नोयर – पुनरागमन

जर्मनीका मानुएल नोयरले पहिले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । तर प्रशिक्षक जुलियन नागेल्समानले उनलाई पुनः टोलीमा बोलाएका छन् । ४० वर्षका नोयरका लागि यो पाँचौं विश्वकप हुनेछ ।

लुका मोड्रिच – अन्तिम अध्याय

क्रोएसियाका लुका मोड्रिच २०१८ मा टोलीलाई विश्वकप फाइनलसम्म पुर्‍याउने प्रमुख खेलाडी थिए । ४० वर्ष पुगिसकेका उनी पाँचौं विश्वकप खेल्ने तयारीमा छन् । उनको पनि यो विश्वकप अन्तिम विश्वकप हुने छ ।  

एडिन जेको – करियरको अन्तिम ठूलो मञ्च

बोस्निया तथा हर्जगोभिनाका एडिन जेको ४० वर्षको उमेरमा विश्वकप खेल्ने तयारीमा छन् । लामो समयपछि टोली विश्वकपमा पुगेको छ । यो प्रतियोगिता उनको अन्तिम ठूलो अन्तर्राष्ट्रिय मञ्च बन्न सक्छ ।

सोन ह्युङ मिन – दक्षिण कोरियाको नेतृत्व

दक्षिण कोरियाका कप्तान सोन ह्युङ मिन ३४ वर्ष पुग्दै छन् । उनी देशका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक हुन् । यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ ।

मोहम्मद सलाह – अधुरो सपना

इजिप्टका कप्तान मोहम्मद सलाहले क्लब स्तरमा ठूलो सफलता पाए पनि विश्वकपमा आफ्नो पूर्ण प्रभाव देखाउन सकेका छैनन् । सन् २०२६ उनको अन्तिम विश्वकप हुने सम्भावना बलियो छ ।

साडियो माने र रियाद महरेज– अफ्रिकाका अनुभवी तारा

सेनेगलका साडियो माने र अल्जेरियाका रियाद महरेज दुवै करियरको अन्तिम चरणमा छन्। दुवैका लागि यो विश्वकप अन्तिम ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता बन्न सक्छ ।

केभिन डे ब्रुयने – अन्तिम चुनौती

बेल्जियमका केभिन डे ब्रुयने चोटका समस्याबीच पनि टोलीका मुख्य खेलाडी छन् । ३५ वर्ष नजिक पुगेका उनी बेल्जियमको स्वर्णिम पुस्ताका अन्तिम प्रमुख सदस्यमध्ये एक हुन् र उनको पनि यो विश्वकप अन्तिम हुने बताइएको छ ।

भिर्जिल भान डाइक – नेदरल्यान्ड्सको नेतृत्व

३५ वर्षका भिर्जिल भान डाइक नेदरल्यान्ड्सको रक्षापंक्तिको नेतृत्व गर्नेछन् । यो उनको दोस्रो र सम्भवतः अन्तिम विश्वकप हुन सक्छ ।

जेम्स रोड्रिगेज – अन्तिम ठूलो अवसर

कोलम्बियाका जेम्स रोड्रिगेज २०१४ विश्वकपका चम्किला खेलाडी थिए । उनका लागि यो प्रतियोगिता करियरको अन्तिम ठूलो मञ्च हुन सक्छ ।

नेइमार – अन्तिम मौका

ब्राजिलका नेइमार लामो समय चोटका कारण मैदानबाहिर रहेका थिए । प्रशिक्षक कार्लो एन्जेलोटीले उनलाई अन्तिम समयमा टोलीमा समावेश गरेका छन् । ३४ वर्षीय नेइमारका लागि यो सम्भवतः अन्तिम विश्वकप हुनेछ, जहाँ ब्राजिललाई छैटौं उपाधि दिलाउने लक्ष्य रहनेछ । यद्यपी विश्वकप अघि उनी घाइते भएका कारण उनले विश्वकपमा कति खेल्न सक्छन भन्ने अझै स्पष्ट भएको छैन । 

ह्यारी केन – भविष्य अनिश्चित

इङ्ग्ल्यान्डका ह्यारी केन अझै ३२ वर्षका छन् र उनी भविष्यसम्म खेल्न सक्ने अवस्थामा छन् । तर सन् २०२६ उनको अन्तिम विश्वकप हुनेछ वा होइन भन्ने स्पष्ट छैन । आफ्नो क्यारियरकै उच्च फर्ममा रहेका केनले आफुलाई यसरीनै खेल्न जारी राखेमा उनी अर्को विश्वकप खेल्न सक्ने देखिन्छ ।

Read More

इरानले प्रहार गरेका क्षेप्यास्त्र असफल परेको इजरायलको दाबि

काठमाडौँ । इजरायली सेनाले इरानबाट प्रहार गरिएका सबै क्षेप्यास्त्रहरू आफ्नो हवाई प्रतिरक्षा प्रणालीले सफलतापूर्वक अवरोध गरी नष्ट गरेको दाबी गरेको छ ।

इरानी सेनाले इजरायललाई कडा चेतावनी दिँदै लेबनानमाथिका आक्रमण नरोके थप विनाशकारी प्रहारको सामना गर्नुपर्ने जनाएको छ । इरानले बेरुतको दक्षिणी उपनगरलाई निशाना बनाउनुका साथै दक्षिणी लेबनानमा आक्रमण तीव्र बनाएर इस्राइलले सबै सीमा नाघेको आरोप लगाएको छ ।

यसैबीच, इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बलले अमेरिकासँग भएको युद्धविराम सबै मोर्चामा लागू हुने सर्तमा स्वीकार गरिएको जनाएको छ । सुरक्षा बलले लेबनानमा जारी इजरायली सैन्य कारबाही उक्त समझदारीविपरीत रहेको संकेत गरेको छ ।

उता, इजरायलका दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामर बेन गभिरले इरानी आक्रमणप्रति कडा प्रतिक्रिया जनाउँदै तेहरानले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

Read More