काठमाडौं । कैलालीको एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका विषयमा इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सोधपुछका लागि बोलाएको छ।
प्रहरी स्रोतका अनुसार चौधरीलाई कार्यक्रममा दिएको अभिव्यक्ति, त्यसको आशय तथा कार्यशैलीसँग सम्बन्धित विषयमा जानकारी लिन जिल्ला झिकाइएको हो। उनीविरुद्ध यसअघि परेका केही उजुरीबारे समेत सोधपुछ गरिने बताइएको छ।
डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषध दुव्र्यसनविरुद्धको सचेतनामूलक कार्यक्रममा बोल्ने क्रममा, “हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो,” भनेका थिए।
उनले सोही कार्यक्रममा नेपाल प्रहरी कुनै राजनीतिक दल वा नेताको प्रभावमा नरही कानुनअनुसार काम गर्ने संस्था भएको उल्लेख गर्दै जनप्रतिनिधिप्रति पनि टिप्पणी गरेका थिए। उनको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो भने त्यसबारे विभिन्न प्रतिक्रिया समेत आएका थिए।
प्रहरी स्रोतका अनुसार सार्वजनिक कार्यक्रममा जिम्मेवार पदमा रहेका प्रहरी अधिकृतले दिएको अभिव्यक्तिको सन्दर्भ र उद्देश्य बुझ्न तथा आवश्यक परामर्शका लागि चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको हो।
हालसम्म उनीमाथि कुनै विभागीय कारबाहीको निर्णय भने भएको छैन। सोधपुछपछि प्राप्त तथ्यका आधारमा आवश्यक निर्णय लिइने प्रहरी स्रोतले जनाएको छ।
