२०८३ श्रावण ११

राष्ट्रियसभाबाट आर्थिक विधेयक, २०८३ पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकले ‘आर्थिक विधेयक, २०८३’ बहुमतबाट पारित गरेको छ। अब उक्त विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता पठाइने भएको छ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक सुझावविना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए।

छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरू डा. प्रेम दङ्गाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा तथा स्वास्थ्य सेवामा कर वृद्धि नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

बैठकको शून्य समयमा सदस्यहरूले सुकुमबासीका लागि सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने लगायतका विषय पनि उठाएका थिए।

Read More

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक र दुई निकायका वार्षिक प्रतिवेदन पेस

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ तथा महान्यायाधिवक्ताको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गरिन्।

मन्त्री गौतमले विद्यार्थीमा देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना विकास गर्दै नैतिक तथा अनुशासित नागरिक निर्माण गर्ने उद्देश्यले विधेयक ल्याइएको बताइन्। उनले राष्ट्रिय आवश्यकताअनुसार नेपाली नागरिकलाई तालिम दिने र तालिम प्राप्त व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा परिचालन गर्न सकिने कानुनी व्यवस्था गर्न विधेयक आवश्यक रहेको उल्लेख गरिन्।

सोही बैठकमा मन्त्री गौतमले महान्यायाधिवक्ताको कार्यालयको ‘वार्षिक प्रतिवेदन, २०८१/८२’ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘३५औँ वार्षिक प्रतिवेदन, २०८१/८२’ पनि सभासमक्ष पेस गरिन्।

Read More

रौतहटको नहरमा २४ वर्षीया महिलाको शव फेला

काठमाडौं। राजपुर नगरपालिकास्थित एक नहरमा महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार बिहान राजपुर नगरपालिका–३ स्थित डमारबाट फुतवा जाने बाटो छेउको नहरमा परोहा नगरपालिका–५ की २४ वर्षीया मुस्कान खातुनको शव फेला परेको हो।

प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार नहरको पानीबाट शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

Read More

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से १९.६७ अंकले घट्यो

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा कायम भएको छ।

नेप्से घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको छ। बुधबार ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यस दिन ३६१ वटा धितोपत्रको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर कारोबार भएको छ। कारोबारमा आएका मध्ये ४२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ वटाको घटेको छ। त्यस्तै, ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

बिहीबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १२.६८ प्रतिशतले बढेको छ भने स्नो रिभर्सको सेयर मूल्य ११.७६ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७ शीर्ष स्थानमा रहेको छ। उक्त धितोपत्रको ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन अधिकांश समूहगत उपसूचक घटेका छन्। ट्रेडिङ समूहको उपसूचक भने २.३६ प्रतिशतले बढेको छ। डेभलपमेन्ट बैंक, म्युचुअल फण्डलगायत केही समूहमा सामान्य वृद्धि देखिएको छ।

Read More

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।

बिहीबार भएको भेटमा सभामुख अर्यालले नेपाल–भारत सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता तथा सामाजिक–सांस्कृतिक सम्बन्धमा आधारित रहेको उल्लेख गरे। उनले व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत र कनेक्टिभिटीलगायत क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार हुँदै गएको बताए।

सभामुख अर्यालले हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको लजिस्टिक सहयोगप्रति धन्यवाद व्यक्त गर्दै जनादेशबाट बनेको सरकारले कार्यकालको पहिलो १०० दिन पूरा गरेको जानकारी गराए।

भेटका क्रममा राजदूत श्रीवास्तवले भारतका लोकसभा सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपाली सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन र अवलोकनका लागि निमन्त्रणा दिएका थिए।

राजदूत श्रीवास्तवले संसदीय कूटनीति र उच्चस्तरीय संवादले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै व्यापार, ऊर्जा, शिक्षा, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्ध विस्तारमा भारत सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

Read More

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका युवकको पहिचान खुलेको छ। उनी मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली रहेको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो करिब १:४५ बजे काठमाडौं महानगरपालिका–११ स्थित राहदानी विभागको ३ नम्बर गेट नजिक नेपालीले आफैंलाई आगो लगाउने प्रयास गरेका थिए।

प्रहरीका अनुसार घटनापछि तत्काल उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको थियो। हाल उनको वीर अस्पतालमै उपचार भइरहेको छ।

अस्पताल स्रोतका अनुसार उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

श्रीलङ्का इस्टर बमकाण्डमा सात वर्षपछि नयाँ अनुसन्धान, पूर्व गुप्तचर प्रमुखमाथि आरोप

काठमाडौं । श्रीलङ्काको सन् २०१९ को इस्टर बम विस्फोट घटनाको अनुसन्धान सात वर्षपछि फेरि चर्चामा आएको छ। सरकारले पूर्व राज्य गुप्तचर प्रमुख मेजर जनरल सुरेश सल्लेमाथि घटनाको योजनासँग सम्बन्धित आरोप लगाएपछि अनुसन्धानले नयाँ मोड लिएको हो।

सन् २०१९ अप्रिल २१ मा इसाई धर्मावलम्बीहरूको पर्व इस्टरका दिन चर्च र पाँचतारे होटललाई लक्षित गरी गरिएका आत्मघाती आक्रमणमा २७९ जनाको मृत्यु भएको थियो भने पाँच सयभन्दा बढी घाइते भएका थिए। घटनामा ४५ जना विदेशी नागरिकसमेत मारिएका थिए।

त्यसबेला श्रीलङ्का सरकारले आक्रमण इस्लामिक स्टेट (आईएस) बाट प्रेरित समूहका सात आत्मघाती हमलाकारीले गरेको निष्कर्ष सार्वजनिक गरेको थियो। तर पछिल्लो अनुसन्धानले घटनामा राज्य संयन्त्रभित्रकै सम्भावित संलग्नताको विषय पनि उठाएको छ।

श्रीलङ्काका सार्वजनिक सुरक्षा मन्त्री आनन्द विजेपालाले संसद्मा सल्लेले आक्रमणअघि केही व्यक्तिहरूसँग भेट गरी सम्भावित लक्ष्यबारे सूचना संकलन गरेको आरोप लगाएका थिए। अनुसन्धानका क्रममा आक्रमणकारी र केही राज्य गुप्तचर निकायबीच सम्बन्ध रहेको संकेत भेटिएको दाबी पनि गरिएको छ।

सल्लेलाई आतंकवादसम्बन्धी कानुनअन्तर्गत पक्राउ गरिएको भए पनि हालसम्म औपचारिक अभियोग दर्ता भएको छैन। उनले आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै आएका छन्।

अनुसन्धानले घटनालाई केवल सुरक्षा कमजोरी नभई सम्भावित योजनाबद्ध गतिविधिका रूपमा पनि हेर्न थालेको छ। केही आरोपअनुसार तत्कालीन राजनीतिक परिस्थितिबाट तत्कालीन राष्ट्रपति उम्मेदवार गोताबाया राजापाक्षलाई फाइदा पुग्ने उद्देश्यले घटना गराइएको हुन सक्ने आशंका गरिएको छ।

यसअघि बेलायती च्यानल–४ ले सार्वजनिक गरेको अनुसन्धानात्मक सामग्रीमा पनि इस्टर आक्रमण र श्रीलङ्काको तत्कालीन राजनीतिक परिवेशबीच सम्बन्ध रहेको दाबी गरिएको थियो। तत्कालीन प्रशासनले भने त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ।

सन् २०२४ मा राष्ट्रपति अनुरा कुमार दिसानायके नेतृत्वको सरकारले रोकिएका अनुसन्धान पुनः अघि बढाएपछि सल्लेमाथिको छानबिन तीव्र बनाइएको हो। उनी हाल हिरासतमा रहेका छन्।

Read More

भुक्तानीको अन्तिम दिन सरकारले एकै दिन गर्‍यो १७ अर्ब बढी खर्च

काठमाडौं । आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम दिन सरकारले एकै दिन १७ अर्ब ९ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार बुधबारसम्म सरकारले गर्ने भुक्तानीका लागि सबै चेक काटिसक्नुपर्ने व्यवस्था रहेको छ।

स्थानीय तहले प्रयोग गर्ने सूत्र प्रणालीमा देशभर समस्या देखिँदा भुक्तानी प्रक्रियामा असर परेको छ। अन्तिम दिन यस्ता समस्या अझ बढी देखिने गरेको कार्यालयले जनाएको छ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बुधबारसम्म सरकारको कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। मंगलबारसम्म यस्तो खर्च १५ खर्ब १४ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो।

यस वर्ष पूँजीगत खर्च भने अपेक्षाकृत कमजोर देखिएको छ। बुधबारसम्म कुल पूँजीगत खर्च १ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन लक्ष्यको करिब ४० प्रतिशत मात्रै हो।

Read More

संसद्को मर्यादा कायम गर्न सभामुखलाई कडा कदम चाल्न समितिको सुझाव

काठमाडौं । प्रतिनिधिसभाको जेठ १७ गतेको घटनाबारे छानबिन गर्न गठित समितिले सभामुख डोलप्रसाद अर्याललाई संसद्को विशेषाधिकार प्रयोग गर्दै कडा कदम चाल्न सुझाव दिएको छ।

समितिले अमर्यादित तथा उत्तेजक अभिव्यक्ति प्रयोग भएमा प्रतिनिधिसभा नियमावलीअनुसार त्यस्ता शब्द अभिलेखबाट हटाउनेदेखि सम्बन्धित सदस्यलाई बैठकबाट निष्कासन गर्नेसम्मका व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सिफारिस गरेको हो।

संसद्को गरिमा र अनुशासन कायम राख्न सांसदहरूका लागि अभिमुखीकरण तथा आचारसंहितासम्बन्धी सचेतना बढाउन, दलीय नेतृत्व र प्रमुख सचेतकहरूको भूमिकालाई प्रभावकारी बनाउन तथा सुरक्षा र प्रविधि व्यवस्थापन सुधार गर्न समितिले सुझाव दिएको छ।

जेठ १७ गते प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा सदनमा धकेलाधकेल भएपछि जेठ १८ गते सभामुखले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए। समितिमा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य रहेका थिए।

समितिले स्थलगत मुचुल्का, श्रव्यदृश्य प्रमाण, प्रत्यक्षदर्शीको बयान तथा सम्बन्धित दस्तावेजको अध्ययन गरी प्रतिवेदन तयार पारेको हो। सात दिनको समय पाएको समितिले जेठ २५ गते प्रारम्भिक प्रतिवेदन सभामुख अर्याललाई बुझाएको थियो।

Read More

सांसदहरूले उठाए उद्योग, स्वास्थ्य, कृषि र पूर्वाधारका समस्या

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरूले उद्योग, स्वास्थ्य, कृषि, खानेपानी, सडक, वैदेशिक रोजगार, विद्युत् विस्तार तथा विपद् व्यवस्थापनलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

विभिन्न दलका सांसदहरूले जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका हुन्।

अनुष्का श्रेष्ठले साना तथा मझौला उद्योगले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै यस्ता उद्योगलाई सरकारी सहयोग, तालिम र नीतिगत सहजीकरण आवश्यक रहेको बताइन्। अभिषेकप्रताप शाहले लुम्बिनी प्रदेशको कृष्णनगर भन्सारको स्तरोन्नति गर्न माग गरे।

स्वास्थ्य क्षेत्रतर्फ अम्बिकादेवी सङ्ग्रौलाले नागरिकले मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवा प्रभावकारी रूपमा पाए/नपाएको सुनिश्चित गर्न स्वास्थ्य संस्थाको नियमित अनुगमन आवश्यक रहेको बताइन्। अर्जुननरसिंह केसीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।

कृषि क्षेत्रमा देखिएका समस्याबारे बोल्दै आनन्दबहादुर चन्दले माटो परीक्षण, मल व्यवस्थापन र वैज्ञानिक कृषि ज्ञान विस्तारमा जोड दिए। करिष्मा कठरियाले धान रोपाइँको समयमा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गरिन्।

सांसदहरूले सडक तथा पूर्वाधार निर्माण, खानेपानी र यातायात सेवाका समस्यासमेत उठाएका छन्। आरेन राईले खोटाङ–भोजपुर सडकखण्ड पुनर्निर्माण गर्न माग गरे भने कुलभक्त शाक्यले मेलम्ची खानेपानी आयोजना प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको खानेपानी समस्या समाधान गर्न आग्रह गरे।

वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणका लागि प्रभावकारी नियमन आवश्यक रहेको कमल सुवेदीले बताए। त्यस्तै, आशिका तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क घटाउन सरकारसँग आग्रह गरिन्।

जङ्गली हात्तीको आक्रमणबाट भइरहेको क्षति नियन्त्रणका लागि प्रभावकारी योजना बनाउन खगेन्द्र कर्णले माग गरे भने खडकबहादुर बुढाले कर्णाली प्रदेशमा विद्युत् पहुँच विस्तार गर्न सरकारको ध्यानाकर्षण गराए।

बैठकमा सांसदहरूले सार्वजनिक स्थानमा धुम्रपान नियन्त्रण, विपद् पूर्वतयारी, सार्वजनिक यातायातलाई अपाङ्गतामैत्री बनाउने तथा राष्ट्रिय सम्पत्तिको संरक्षणलगायत विषयमा समेत सरकारको ध्यान तानेका थिए।

Read More