काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ तथा महान्यायाधिवक्ताको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गरिन्।
मन्त्री गौतमले विद्यार्थीमा देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना विकास गर्दै नैतिक तथा अनुशासित नागरिक निर्माण गर्ने उद्देश्यले विधेयक ल्याइएको बताइन्। उनले राष्ट्रिय आवश्यकताअनुसार नेपाली नागरिकलाई तालिम दिने र तालिम प्राप्त व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा परिचालन गर्न सकिने कानुनी व्यवस्था गर्न विधेयक आवश्यक रहेको उल्लेख गरिन्।
सोही बैठकमा मन्त्री गौतमले महान्यायाधिवक्ताको कार्यालयको ‘वार्षिक प्रतिवेदन, २०८१/८२’ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘३५औँ वार्षिक प्रतिवेदन, २०८१/८२’ पनि सभासमक्ष पेस गरिन्।




