२०८३ श्रावण १

भुक्तानीको अन्तिम दिन सरकारले एकै दिन गर्‍यो १७ अर्ब बढी खर्च

काठमाडौं । आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम दिन सरकारले एकै दिन १७ अर्ब ९ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार बुधबारसम्म सरकारले गर्ने भुक्तानीका लागि सबै चेक काटिसक्नुपर्ने व्यवस्था रहेको छ।

स्थानीय तहले प्रयोग गर्ने सूत्र प्रणालीमा देशभर समस्या देखिँदा भुक्तानी प्रक्रियामा असर परेको छ। अन्तिम दिन यस्ता समस्या अझ बढी देखिने गरेको कार्यालयले जनाएको छ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बुधबारसम्म सरकारको कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। मंगलबारसम्म यस्तो खर्च १५ खर्ब १४ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो।

यस वर्ष पूँजीगत खर्च भने अपेक्षाकृत कमजोर देखिएको छ। बुधबारसम्म कुल पूँजीगत खर्च १ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन लक्ष्यको करिब ४० प्रतिशत मात्रै हो।