काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका युवकको पहिचान खुलेको छ। उनी मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली रहेको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो करिब १:४५ बजे काठमाडौं महानगरपालिका–११ स्थित राहदानी विभागको ३ नम्बर गेट नजिक नेपालीले आफैंलाई आगो लगाउने प्रयास गरेका थिए।
प्रहरीका अनुसार घटनापछि तत्काल उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइएको थियो। हाल उनको वीर अस्पतालमै उपचार भइरहेको छ।
अस्पताल स्रोतका अनुसार उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




