२०८३ श्रावण २०

जुट उत्पादन घट्दा आयातमा निर्भर हुँदै नेपाल, कच्चा जुट खरिदमा अर्बौं रुपैयाँ बाहिरिँदै

काठमाडौं। कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गर्थ्यो। तर पछिल्ला वर्षहरूमा स्वदेशी उत्पादन घट्दै गएपछि नेपालका जुट उद्योगहरू कच्चा पदार्थका लागि विदेशी बजारमा निर्भर हुन थालेका छन्।

पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा मात्रै रु चार अर्ब ९१ करोड ६६ लाख ६२ हजार बराबरको कच्चा जुट आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा रु चार अर्ब ३४ करोड १२ लाख ६१ हजारको जुट आयात भएको थियो। एक वर्षको अवधिमा कच्चा जुट आयात करिब रु ५७ करोड ५४ लाख अर्थात् १३.२५ प्रतिशतले बढेको देखिएको छ।

मेची भन्सार कार्यालयका अनुसार काँकरभिट्टा नाकाबाट आयात हुने वस्तुमध्ये मूल्यका आधारमा पेट्रोल र डिजेलपछि कच्चा जुट तेस्रो ठूलो आयातित वस्तु बनेको छ। पछिल्ला वर्षहरूमा यही नाकाबाट जुट आयातको मात्रा निरन्तर बढिरहेको भन्सारको तथ्याङ्कले देखाएको छ।

सरकारी अभिलेखअनुसार पूर्वी नेपालमा २०४३/४४ सालदेखि व्यावसायिक रूपमा जुटखेती विस्तार भएको थियो। त्यतिबेला यहाँ उत्पादन भएको जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बङ्गलादेशमा समेत निर्यात हुने गर्थ्यो। अहिले भने उत्पादन घटेकाले उद्योगको माग पूरा गर्न विदेशबाट कच्चा जुट ल्याउनुपर्ने अवस्था बनेको छ।

कृषि क्षेत्रका अधिकारीहरूका अनुसार उत्पादन लागत बढ्नु, किसानले उचित मूल्य नपाउनु र आम्दानी अपेक्षाअनुसार नहुनु जुटखेती घट्नुका मुख्य कारण हुन्। किसानहरू पछिल्ला वर्षहरूमा जुट छाडेर धानलगायत अन्य बालीतर्फ आकर्षित हुँदै गएका छन्।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा अहिले करिब पाँच हजार हेक्टर क्षेत्रफलमा मात्रै जुटखेती भइरहेको छ। लागत बढी र प्रतिफल कम भएकाले किसानले जुटखेती कम गर्दै गएको र उत्पादनमा उल्लेख्य गिरावट आएको उनले बताए।

Read More

प्रतिनिधिसभाका चार समितिको बैठक आज, राष्ट्र बैंकदेखि वैदेशिक रोजगारीसम्म छलफल

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छन्। बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन, वैदेशिक रोजगार, न्यायपालिका र कृषि क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

बिहान १० बजे बस्ने अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमाथि दफावार छलफललाई निरन्तरता दिइनेछ।

सोही समयमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्नेछ।

बिहान ९:३० बजे सुरु हुने कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा स्वतन्त्र न्यायपालिका, न्याय प्रशासनको वर्तमान अवस्था, देखिएका समस्या र समाधानका उपायबारे छलफल हुनेछ।

यस्तै, दिउँसो १ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीका विषयमा आन्तरिक छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Read More

एलपी ग्यास आपूर्ति केही दिनमै सहज हुने, आवश्यकताभन्दा बढी भण्डारण नगर्न सरकारको आग्रह

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्ति केही दिनभित्र सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाहमा नलाग्न, आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।

मन्त्रालयका अनुसार हाल अघिल्लो वर्षको यही अवधिको तुलनामा नियमित माग धान्न सक्नेभन्दा बढी एलपी ग्यास आयात र वितरण भइरहेको छ। बढ्दो मागलाई व्यवस्थित गर्न सम्बन्धित निकायसँग समन्वय गर्दै आपूर्ति र वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम जारी रहेको जनाइएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ भने नेपाल आयल निगम र ग्यास उद्योगीसँग मिलेर आयात, भण्डारण तथा वितरण प्रणालीलाई थप पारदर्शी बनाउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। वैकल्पिक सिलिन्डर नभएका उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

मन्त्रालयले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई दुःख दिने व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

Read More

‘हेलो सरकार’ अब थप स्मार्ट बन्दै, एउटै प्रणालीबाट गुनासोदेखि समाधानसम्म

काठमाडौं, साउन २० — सरकारले नागरिकका गुनासोको सुनुवाइलाई अझ छिटो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’लाई स्तरोन्नति गर्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसलाई ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणाली’ का रूपमा विकास गर्ने गरी अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार पारेको जनाएको छ।

प्रस्तावअनुसार फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इमेल, इन्स्टाग्रामलगायत विभिन्न माध्यमबाट आएका गुनासो एउटै पोर्टलमार्फत व्यवस्थापन गरिनेछ। सेवाग्राहीले सम्बन्धित कार्यालयमै सिधै गुनासो दर्ता गर्न सक्नेछन् भने आवश्यक परे हेलो सरकार प्रणालीले स्वतः सम्बन्धित निकायमा पठाउने व्यवस्था हुनेछ।

योजनामा टोल–फ्री नम्बर ११११ लाई विभिन्न मन्त्रालय र सरकारी निकायका कल सेन्टरसँग जोड्ने व्यवस्था पनि समेटिएको छ। सेवा नपाएमा गुनासो पुनः हेलो सरकारमै फर्कने प्रणाली विकास गरिने भएकाले एउटै विषयमा पटक–पटक विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाअनुसार अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्ने लक्ष्य राखिएको छ। समाधानपछि सेवाग्राहीबाट प्रतिक्रिया लिएपछि मात्र गुनासो फर्छ्यौट भएको मानिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

यसबीच, हेलो सरकारमा गुनासो दर्ता हुने क्रम तीव्र रूपमा बढेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा ६९ हजार ७२४ गुनासा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३२१ प्रतिशत बढी हो। चालु आर्थिक वर्षको साउन १८ गतेसम्म मात्रै ९ हजार ६१० गुनासा दर्ता भइसकेका छन्।

Read More

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, सिमलताल नजिक दुईतर्फी यातायात अवरुद्ध

काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खसेपछि सडक दुवैतर्फबाट अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार सिमलताल क्षेत्रमा पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।

पहिरो हटाउन सडक डिभिजनका उपकरण तथा प्राविधिक टोली परिचालन गरिसकिएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ।

सडक डिभिजनले उक्त सडकखण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई भूभाग नजिक रहेकाले अधिकांश क्षेत्रमा वर्षाको गतिविधि सक्रिय बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेश: पहाडी र हिमाली क्षेत्रमा भारी वर्षाको चेतावनी

आज दिउँसो कोशी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि वर्षा जारी रहने सम्भावना रहेको छ। पहाडी र हिमाली क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेको छ।

मधेस प्रदेश

मधेस प्रदेशमा आज दिउँसो केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहे पनि रातिदेखि धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। चट्याङ तथा डुबानको जोखिमलाई ध्यानमा राख्न विभागले आग्रह गरेको छ।

बागमती प्रदेश

बागमती प्रदेशका केही स्थानमा अहिले नै वर्षा भइरहेको छ। आज दिउँसो र राति पहाडी तथा हिमाली भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। नदी किनार, पहिरो जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका केही स्थानमा अहिले वर्षा भइरहेको छ। आज पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। राति पनि हिमाली र पहाडी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अहिले वर्षा भइरहेको छ। आज दिउँसो पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। राति पनि यही क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले बाढी, डुबान र पहिरोको जोखिम बढ्ने देखिएको छ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशका थोरै स्थानमा अहिले वर्षा भइरहेको छ। आज र आज राति पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च भूभागमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले वर्षा भइरहेको छ। आज पहाडी क्षेत्रमा तथा राति पहाडी र तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। ती क्षेत्रमा बाढी, पहिरो, भूक्षय, नदी–खोलामा आकस्मिक बहाव, शहरी डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

Read More

आजको राशिफल

२०८३ साउन २० गते (५ अगस्ट २०२६), बुधवार, श्रावण कृष्णपक्ष सप्तमी तिथि, १७ः३१ बजेपछि अष्टमी, अश्विनी नक्षत्र, चन्द्रराशि – मेष।

आज ग्रह–नक्षत्रको प्रभावले केही राशिका लागि नयाँ अवसर, आर्थिक लाभ, सम्मान तथा करियरमा प्रगतिको संकेत देखिएको छ भने केही राशिले खर्च, स्वास्थ्य, निर्णय र सम्बन्धमा विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहनेछ। धैर्य, आत्मविश्वास र निरन्तर प्रयासले रोकिएका काम अघि बढ्नेछन्। आफ्नो राशिअनुसारको भविष्यफल पढेर आजको दिनलाई अझ सफल, सकारात्मक र प्रभावकारी बनाउनुहोस्।

मेष (Aries)

चु, चे, चो, ला, लि, लु, ले, लो,

विगतका सफलताले आत्मविश्वास बढाउनेछ र नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। महत्त्वपूर्ण काममा साथ दिने व्यक्तिहरू बढ्नेछन् भने साहस र सक्रियताले आर्थिक लाभ दिलाउनेछ। टाढिएका परिवारजनसँग पुनः भेटघाट हुन सक्छ। सामाजिक जमघट, स्वादिष्ट भोजन तथा रमाइलो वातावरणले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्ध र मित्रता अझ सुदृढ बन्नेछ। विगतका कमजोरी सुधार्ने अवसर पनि प्राप्त हुनेछ।

वृष (Taurus)

, , , , वा, वि, वु, वे, वो

विचारमा मतभेद भए पनि सहयोगीहरूको साथले काम अघि बढ्नेछ। नयाँ योजना वा व्यवसायमा लगानी गर्ने उपयुक्त समय रहेको छ। मेहनतका कारण प्रतिस्पर्धीहरू पछि पर्नेछन्। देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ। भविष्यमा दीर्घकालीन लाभ दिने काम सुरु हुने संकेत देखिएको छ। रोकिएका काममा टाढाका साथीभाइको सहयोग लाभदायी बन्नेछ।

मिथुन (Gemini)

का, कि, कु, , , , के, को, हा

नयाँ कामको शुभारम्भका लागि आजको दिन अनुकूल रहनेछ। व्यापार, साझेदारी तथा पेशागत क्षेत्रमा राम्रो लाभ प्राप्त हुनेछ। आम्दानीका स्रोत विस्तार हुनेछन् र आर्थिक अवस्था मजबुत बन्नेछ। परिवारका आवश्यकता सहज रूपमा पूरा गर्न सकिनेछ। सुखद समाचारले उत्साह बढाउनेछ। भविष्यमा स्थायी लाभ दिने योजनामा सम्झौता गर्ने अवसर प्राप्त हुन सक्छ।

कर्कट (Cancer)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज विभिन्न अवसर प्राप्त हुनेछन् र प्रतिष्ठा बढ्ने संकेत देखिएको छ। व्यापारमा उल्लेखनीय लाभ हुनेछ भने शुभचिन्तकहरूको सहयोग पनि प्राप्त हुनेछ। आफ्नो प्रभाव बढाउँदै नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। दाम, इनाम तथा सम्मान प्राप्त हुने सम्भावना बलियो छ। भूमि, सवारीसाधन तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्न सक्छ। सामाजिक जिम्मेवारी पनि बढ्नेछ।

सिंह (Leo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज केही काममा अपेक्षित लाभ नहुनाले अलमल हुन सक्छ। अरूमा अत्यधिक निर्भर हुँदा अवसर गुम्ने सम्भावना छ। मेहनतअनुसारको प्रतिफल तत्काल प्राप्त नहुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ने अवस्था देखिन्छ। स्वास्थ्यमा सामान्य कमजोरी र कामको चाप बढ्न सक्ने भएकाले आराम र सावधानी आवश्यक हुनेछ।

कन्या (Virgo)

टो, पा, पि, पु, , , , पे, पो

काममा केही अवरोध तथा अनावश्यक खर्च बढ्न सक्ने संकेत देखिएको छ। सामान्य कार्यमा पनि बढी समय, श्रम र धन खर्च हुन सक्छ। शारीरिक कमजोरी वा आलस्य महसुस हुन सक्ने भएकाले स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस्। खानपान र नियमित व्यायामलाई प्राथमिकता दिनु उपयुक्त हुनेछ। धैर्य, मेहनत र सावधानी अपनाएमा उपलब्धि सुरक्षित राख्न सकिनेछ।

तुला (Libra)

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

काममा सहयोग गर्ने व्यक्तिहरू प्रशस्तै भेटिनेछन्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। आर्थिक आम्दानी सन्तोषजनक रहनेछ भने विभिन्न सहयोग, उपहार वा सम्मान प्राप्त हुन सक्छ। फुर्सदको समय मिल्नुका साथै यात्रा गर्ने अवसर पनि जुर्न सक्छ। प्रेम सम्बन्ध र मित्रता अझ प्रगाढ बन्नेछ। स्वास्थ्यमा भने सामान्य सावधानी अपनाउनु उपयुक्त हुनेछ।

बृश्चिक (Scorpio)

तो, ना, नि, नु, ने, नो, या, यि, यु

रोकिएका काम पुनः सुरु गर्ने उपयुक्त समय रहेको छ। विरोधी तथा ईर्ष्या गर्नेहरू पछि पर्नेछन् र प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ भने साहस र पराक्रमले गुमेको अधिकार पुनः स्थापित गर्न सकिनेछ। थोरै प्रयासले पनि महत्त्वपूर्ण लक्ष्य हासिल हुनेछ। नयाँ भौतिक साधन जुट्नेछन् र दीर्घकालीन योजना अघि बढ्नेछ। लामो यात्राको सम्भावना पनि देखिएको छ।

धनु (Sagittarius)

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

काममा ढिलासुस्ती गर्दा अवसर गुम्न सक्ने सम्भावना छ। अरूका लागि समय, श्रम र बुद्धि खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। नयाँ काम सुरु गर्न केही कठिनाइ भए पनि वर्तमान प्रयासले भविष्यप्रति आशा जगाउनेछ। समयअनुसार आफूलाई परिवर्तन गर्न सके प्रगति हुनेछ। अध्ययन तथा बौद्धिक प्रतिस्पर्धामा मेहनतले राम्रो नतिजा दिनेछ। सन्तानको साथले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ।

मकर (Capricorn)

भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो, गा, गि

ठूलो आर्थिक लाभ नभए पनि पुराना समस्या समाधान हुनेछन्। विगतका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। भूमि, कृषि तथा पशुधनबाट लाभ मिल्ने सम्भावना छ। टाढिएका आफन्तसँग पुनः सम्बन्ध सुधार हुनेछ। असल व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मेहनतको उचित मूल्यांकन भए पनि प्रतिफल प्राप्त गर्न केही समय लाग्न सक्छ।

कुम्भ (Aquarius)

गु, गे, गो, सा, सि, सु, से, सो,

आजको परिश्रम अत्यन्त फलदायी बन्नेछ। सहयोगीहरूको साथले रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ योजना अघि बढ्नेछ। उद्योग, व्यापार तथा व्यवसायमा उल्लेखनीय लाभ प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूलाई सहजै पछि पार्न सकिनेछ। कृषि तथा व्यवसायबाट राम्रो आम्दानी हुने सम्भावना छ। मेहनतअनुसारको प्रतिफल प्राप्त हुने दिन रहेको छ।

मीन (Pisces)

दि, दु, , , , दे, दो, चा, चि

कामको सुरुवात उत्साहजनक भए पनि अन्तिम नतिजा अपेक्षाभन्दा कमजोर हुन सक्छ। धेरै बोल्दा गोपनीय विषय बाहिरिन सक्ने भएकाले सावधानी अपनाउनुहोस्। केही राम्रो अवसर प्राप्त भए पनि काम पूरा गर्न समय लाग्न सक्छ। आलोचकहरूलाई व्यवहारले आफ्नो पक्षमा ल्याउने प्रयास गर्नु उपयुक्त हुनेछ। शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ भने लगनशीलताले महत्त्वपूर्ण लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउनेछ।

Read More