काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई भूभाग नजिक रहेकाले अधिकांश क्षेत्रमा वर्षाको गतिविधि सक्रिय बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
कोशी प्रदेश: पहाडी र हिमाली क्षेत्रमा भारी वर्षाको चेतावनी
आज दिउँसो कोशी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति पनि वर्षा जारी रहने सम्भावना रहेको छ। पहाडी र हिमाली क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेको छ।
मधेस प्रदेश
मधेस प्रदेशमा आज दिउँसो केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहे पनि रातिदेखि धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। चट्याङ तथा डुबानको जोखिमलाई ध्यानमा राख्न विभागले आग्रह गरेको छ।
बागमती प्रदेश
बागमती प्रदेशका केही स्थानमा अहिले नै वर्षा भइरहेको छ। आज दिउँसो र राति पहाडी तथा हिमाली भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। नदी किनार, पहिरो जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
गण्डकी प्रदेश
गण्डकी प्रदेशका केही स्थानमा अहिले वर्षा भइरहेको छ। आज पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। राति पनि हिमाली र पहाडी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अहिले वर्षा भइरहेको छ। आज दिउँसो पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। राति पनि यही क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले बाढी, डुबान र पहिरोको जोखिम बढ्ने देखिएको छ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशका थोरै स्थानमा अहिले वर्षा भइरहेको छ। आज र आज राति पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च भूभागमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले वर्षा भइरहेको छ। आज पहाडी क्षेत्रमा तथा राति पहाडी र तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। ती क्षेत्रमा बाढी, पहिरो, भूक्षय, नदी–खोलामा आकस्मिक बहाव, शहरी डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।



