काठमाडौं। चीनले नेपाललाई चौथो खेपअन्तर्गत आपत्कालीन राहत तथा उद्धार सामग्री उपलब्ध गराएको छ। चीनबाट पठाइएको उक्त राहत सामग्री मंगलबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए।
चीनले पठाएको पछिल्लो खेपमा उद्धार कार्यमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिलका स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव संरक्षणका लागि प्रयोग हुने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्तीहरू रहेका छन्।
नेपालमा पछिल्लो समय देखिएका विभिन्न विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि आवश्यक सामग्रीलाई प्राथमिकतामा राखेर यो खेप पठाइएको जनाइएको छ। यी सामग्रीले विपद् प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार, राहत तथा त्यसपछिको व्यवस्थापन कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चीनले यसअघि पनि नेपाललाई विभिन्न समयमा आपत्कालीन राहत सामग्री उपलब्ध गराउँदै आएको छ। पछिल्लो खेपलाई नेपालमा विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चीनबाट प्राप्त थप सहयोगका रूपमा हेरिएको छ।
