काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब तीन हजार उडान प्रभावित भएका छन्। विमानस्थल सञ्चालनमा अवरोध आएपछि ३ लाख ५० हजारभन्दा बढी यात्रु प्रभावित तथा अलपत्र परेको बताइएको छ।
राजधानी जकार्ताबाट करिब १५० किलोमिटर टाढा रहेको अनक क्राकाटाउ ज्वालामुखी शुक्रबार राति अबेर विस्फोट भएको थियो। विस्फोटपछि ज्वालामुखीबाट लाभाका फोहोरा निस्कनुका साथै ठूलो मात्रामा खरानी फैलिएको छ। ज्वालामुखीबाट निस्किएको खरानी राजधानी जकार्तासहित लाम्पुङ प्रान्तसम्म पुगेको बताइएको छ।
जकार्तास्थित सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल स्थानीय समयअनुसार सोमबार बिहान ६ बजे पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको थियो। तर विमानस्थल आसपासमा ज्वालामुखीको खरानी अझै रहेकाले सञ्चालन स्थगित गरिएको हो। विमानस्थलले जारी गरेको विज्ञप्तिअनुसार उडान सेवा सोमबार मध्यरात १२ बजेदेखि पुनः सञ्चालन गर्ने तयारी गरिएको छ।
नागरिक तथा सैन्य उडानका लागि प्रयोग हुने हलिम पेर्दानाकुसुमा विमानस्थल पनि सोही समयसम्म बन्द रहने जनाइएको छ।
उडान सेवा प्रभावित भएपछि सोमबार सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा यात्रुको लामो लाइन लागेको थियो। अलपत्र यात्रुहरू टिकटको रकम फिर्ता लिन तथा उडान सेवा कहिलेबाट सञ्चालन हुन्छ भन्ने जानकारी लिन विमानस्थलमा लामबद्ध भएका थिए।




