२०८३ भाद्र २८

युनिलिभर नेपालद्वारा बाढी प्रभावितका लागि करिब ६ करोड सहयोग

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि करिब ६ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ।

कम्पनीले राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ योगदान गरेको जनाएको छ। त्यसैगरी, करिब १ करोड रुपैयाँ मूल्य बराबरका २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत उपलब्ध गराएको छ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को कठिन समयमा सबै एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्ने बताए। उनले नेपालले चुनौतीपूर्ण परिस्थितिमा धैर्यता र सहनशीलता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

प्रभावित परिवारलाई पुनःस्थापनाको यात्रामा साथ दिन कम्पनी प्रतिबद्ध रहेको मुखर्जीले बताए। उनका अनुसार विपद्का बेला निजी क्षेत्र, सरकार तथा विभिन्न संघसंस्थाबीचको सहकार्यले प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

युनिलिभर नेपालले स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणमा केन्द्रित विभिन्न पहलमार्फत समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। कम्पनीले पछिल्लो सहयोगबाट बाढी प्रभावित समुदायलाई तत्काल राहत पुर्‍याउन सहयोग पुग्नुका साथै विपद्को सामना गर्न सामूहिक प्रयासलाई थप बल पुग्ने विश्वास व्यक्त गरेको छ।