काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। प्रभावित क्षेत्रमा पानीजन्य रोगको संक्रमण फैलिन नदिन मन्त्रालयले आवश्यक तयारीसँगै खोप अभियान सञ्चालन गर्ने तयारी गरेको हो।
मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५२३ डोज अर्थात् २३ बक्स हैजाविरुद्धको खोप पठाएको छ। त्यससँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र आठ थान फ्रिज ट्यागसमेत पठाइएको मन्त्रालयले जनाएको छ।
रसुवामा भने यसअघि नै हेलिकोप्टरमार्फत हैजाविरुद्धको खोप पठाइसकिएको छ। मन्त्रालयका अनुसार रसुवामा बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिनेछ।
बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित भएकाले हैजा लगायतका पानीजन्य रोगको संक्रमण फैलिने जोखिम बढेको मन्त्रालयले जनाएको छ। यस्तो अवस्थामा प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राख्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो।
मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरणका लागि आवश्यक खोप, औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न व्यवस्थापनलाई निरन्तरता दिइरहेको जनाएको छ।




