२०८३ आश्विन १५

रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आगामी १७ असोजमा बस्ने भएको छ।

पार्टी महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौंको वनस्थली–चमतीस्थित घण्टीघरमा दिउँसो ३ बजे सुरु हुनेछ। बैठकमा सहभागी हुन केन्द्रीय समिति सदस्यहरूलाई आग्रह गरिएको छ।

बैठकका लागि सदस्यहरूलाई उपस्थितिको सूचना दिइए पनि छलफल हुने एजेन्डा भने सार्वजनिक गरिएको छैन।

Read More

नेपाली कांग्रेस १५औँ महाधिवेशनमा पुष्पा भुसालको निरन्तरताको चर्चा

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय उपसभापति पुष्पा भुसालको भूमिकालाई लिएर पार्टीभित्र चर्चा बढेको छ। विभिन्न तहका नेता–कार्यकर्ताबाट प्राप्त समर्थनले उपसभापति पदमा उनको निरन्तरताको सम्भावनालाई थप बल दिएको कांग्रेस वृत्तमा बताइन्छ।

भुसालले संगठन सुदृढीकरण, आन्तरिक एकता, लोकतान्त्रिक मूल्यको संरक्षण तथा अनुभवी र नयाँ पुस्ताबीच सहकार्यलाई प्राथमिकता दिँदै आएको बताइन्छ। महिला सहभागिता र समावेशी प्रतिनिधित्वसँगै पार्टी संगठनमा नयाँ पुस्ताको सक्रिय भूमिकाका विषयमा पनि उनले निरन्तर जोड दिँदै आएकी छन्।

पूर्वउपसभामुखसमेत रहेकी भुसालले संवाद, सहमति र सहकार्यलाई पार्टीको आन्तरिक व्यवस्थापनको आधारका रूपमा अघि सार्दै आएको कांग्रेस नेताहरूको भनाइ छ। जिल्ला, प्रदेश र केन्द्रीय तहका केही नेताहरूले उनलाई संगठनमा स्थायित्व र सहकार्यको वातावरण निर्माण गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरेका छन्।

महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै कांग्रेसको आगामी राजनीतिक दिशा, संगठनात्मक पुनर्संरचना र जनतासँगको सम्बन्धबारे पनि महत्वपूर्ण निर्णय गर्ने भएकाले भुसालको भूमिका चर्चामा आएको हो। उनको उपसभापति पदमा निरन्तरताको विषयलाई कतिपय नेताहरूले संस्थागत निरन्तरता र पार्टीभित्रको सहकार्यसँग जोडेर हेरेका छन्।

यससँगै, १५औँ महाधिवेशनमा भुसालको राजनीतिक भूमिका र उपसभापति पदमा उनको सम्भावित निरन्तरता कांग्रेसभित्र चासोको विषय बनेको छ।

Read More

बाढीको एक महिनापछि पनि ३३ झोलुङ्गे पुल पुनर्निर्माण अन्योलमा

काठमाडौँ । भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुलको पुनर्स्थापनामा समय लाग्ने देखिएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखामा मात्रै ५३ वटा पुल प्रभावित भएका थिए।

स्थानीय पूर्वाधार विकास विभागका अनुसार तीमध्ये ३३ वटा पुल बाढीले पूर्ण रूपमा बगाएको छ। बाँकी २० पुल भने मर्मत गरेर पुनः सञ्चालन गर्न सकिने अवस्थामा छन्।

तत्कालका लागि पुल निर्माण सम्भव नभएका स्थानमा विभागले वैकल्पिक आवागमनको व्यवस्था गरेको छ। नुवाकोटको विदुर क्षेत्रका दुई स्थानसहित रसुवाको स्याफ्रुबेँसी र हाकुबेँसीमा तुइन सञ्चालनमा ल्याइएको छ। यसबाट पुल बगेपछि नदी पार गर्न कठिनाइमा परेका स्थानीयलाई आवागमनमा केही सहजता भएको विभागले जनाएको छ।

उता, आंशिक क्षति भएका पुलको मर्मतलाई प्राथमिकता दिइएको छ। नुवाकोटको पिमलटार–जागाराम पुल मर्मतपछि सञ्चालनमा आइसकेको छ भने धादिङ, नुवाकोट र गोरखाका थप १२ पुलको काम अन्तिम चरणमा पुगेको छ। अन्य सात पुलका लागि आवश्यक स्टिल सामग्री खरिद प्रक्रिया पनि अघि बढाइएको विभागको भनाइ छ।

पूर्ण रूपमा बगेका पुल पुनर्निर्माणका लागि भने स्टिल वायर रोपको उपलब्धता मुख्य चुनौती बनेको छ। आवश्यक सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया अपनाउनुपर्ने अवस्था छ। त्यसमाथि ई–बिडिङ प्रणालीमा आएको प्राविधिक समस्याले खरिद प्रक्रिया थप लम्बिएको विभागले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा पुल, सडक र वैकल्पिक संरचना पुनर्स्थापनाका लागि विभागले प्रारम्भिक रूपमा १ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ। यसमध्ये पुल मर्मतमा १५ करोड, पूर्ण रूपमा बगेका पुल पुनर्निर्माणमा ६० करोड र ग्रामीण सडक तथा वैकल्पिक मार्ग व्यवस्थापनमा ४० करोड रुपैयाँ खर्च हुने अनुमान छ।

स्थानीय जनप्रतिनिधिहरूले भने पुनर्निर्माणमा ढिलाइ हुँदा ग्रामीण बस्तीको दैनिक आवागमन प्रभावित भइरहेकाले आवश्यक बजेट र खरिद प्रक्रिया तत्काल टुंग्याउनुपर्ने बताएका छन्।

Read More

जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या आरोपमा बुहारी पक्राउ

काठमाडौं । जाजरकोटमा ७५ वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले उनकी बुहारीलाई पक्राउ गरेको छ। जुनिचाँदे गाउँपालिका–५ पाँगाका गंगाराम शाहीको हत्या घटनामा उनकी माइली बुहारी शर्मिला शाही पक्राउ परेकी हुन्।

गंगाराम साउन ११ गते राति करिब ८ बजे घरको सिँढीनजिक घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलबाट प्रहरीले हत्या गर्न प्रयोग भएको आशंका गरिएको खुर्पासमेत बरामद गरेको थियो।

प्रहरीको अनुसन्धानका क्रममा शर्मिलाको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो। पक्राउ परेकी शर्मिलालाई अदालतमा उपस्थित गराई थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुधिरकुमार खड्काले जानकारी दिए।

Read More

जम्मू–कश्मीर: कठुआमा CISF क्याम्पमा गोली चल्दा चार सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित कठुआमा केन्द्रीय औद्योगिक सुरक्षा बल (CISF) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको छ।

मंगलबार साँझ बसोहलीस्थित पावर प्रोजेक्टको सुरक्षामा खटिएका जवान अभिदेश कुमार सिंहले सरकारी एके–४७ राइफलबाट गोली चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा सहायक कमान्डेन्ट अंकित कुमार पाण्डे, सब–इन्स्पेक्टर लक्ष्मण सिंह तथा कन्स्टेबल रफिक अहमद र सन्दीप कुमारको मृत्यु भएको बताइएको छ।

घटनापछि प्रहरीले अभिदेशलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण र परिस्थितिबारे अनुसन्धान भइरहेको छ भने CISF मुख्यालयले छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन गर्ने प्रक्रिया अघि बढाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार क्वार्टर गार्डमा परिवारलाई प्रवेश गराउने विषयमा भएको विवादपछि अभिदेश मेस सेक्सनमा पुगेका थिए। त्यही क्रममा उनले त्यहाँ रहेका सहकर्मीमाथि गोली चलाएको प्रारम्भिक विवरण छ।

भारतको गृह मन्त्रालयले केन्द्रीय सशस्त्र प्रहरी बलमा हुने यस्ता घटनामा व्यक्तिगत तथा पारिवारिक समस्या, कार्यस्थलको तनाव र विवादजस्ता कारण देखिने गरेको जनाएको छ। यस्ता घटनाको कारण अध्ययन गर्न मन्त्रालयले सन् २०२१ मा कार्यदलसमेत गठन गरेको थियो।

Read More

बीमा दाबीमा सर्भेयर छनोट अब प्रणालीबाटै

काठमाडौं । बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर छनोट गर्ने प्रक्रिया अब स्वचालित हुने भएको छ। नेपाल बीमा प्राधिकरणले ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ तयार गरी परीक्षणसमेत गरेको छ। प्रणालीले दाबीको प्रकृति र सर्भेयरको क्षमता हेरेर उपयुक्त सर्भेयर छनोट गर्नेछ।

सर्भेयर छनोटमा नयाँ व्यवस्था

सिस्टमले सर्भेयरको विशेषज्ञता, उपलब्धता, भौगोलिक क्षेत्र, वरिष्ठता, पोर्टफोलियो र यसअघि पाएको कामका आधारमा जिम्मेवारी तोक्नेछ। यसबाट बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट गर्ने तथा केही सर्भेयरले बढी र केहीले कम काम पाउने गुनासो घट्ने अपेक्षा गरिएको छ।

हाल प्रणालीमा ८८ संस्थागतसहित ६८० सर्भेयरको विवरण समावेश भइसकेको छ। सर्भेयरले पाएको काम, सम्पन्न गरेको जिम्मेवारी र थप काम लिन सक्ने अवस्थासमेत प्रणालीबाट निगरानी गर्न सकिनेछ।

तालिमदेखि साइबर सुरक्षासम्म

प्राधिकरणले निर्जीवन बीमा कम्पनीका ३६ जना आईटी तथा क्लेम प्रमुखलाई प्रणालीबारे तालिम दिइसकेको छ। अब सर्भेयरलाई पनि प्रशिक्षण दिने तयारी छ भने पुनर्बीमा कम्पनीलाई समेत प्रणालीमा समेट्ने योजना रहेको छ।

पूर्ण सञ्चालनअघि प्रणालीको कार्यक्षमता र साइबर सुरक्षाको परीक्षण गरिनेछ। प्राधिकरणका अनुसार नयाँ व्यवस्थाले सर्भेयर खटाउने समय घटाउनुका साथै दाबी प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र कामको समान वितरणमा सहयोग पुर्‍याउनेछ।

Read More

पृथ्वीराजमार्ग बुधबारदेखि दुईतर्फी खुल्ने, धादिङका यी क्षेत्रमा अझै पहिरोको जोखिम

काठमाडौं । पहिरो र सडक भासिएपछि प्रभावित बनेको पृथ्वीराजमार्गमा बुधबारदेखि यातायात सहज हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले अवस्था सामान्य रहे बुधबार दिउँसो १ बजेदेखि राजमार्गमा सबै प्रकारका सवारीसाधन दुवैतर्फ चलाउन सकिने जनाएको छ।

पछिल्ला केही दिनदेखि राजमार्गका विभिन्न खण्डमा पहिरो हटाउने र भासिएको सडक मर्मत गर्ने काम जारी छ। अवरोध हटाउँदै सडकलाई नियमित आवागमनका लागि तयार पारिएको प्रशासनले जनाएको छ।

धादिङका विभिन्न खण्डमा पहिरोको निगरानी

वर्षा रोकिए पनि पृथ्वीराजमार्गका केही क्षेत्रमा पहिरोको जोखिम पूर्ण रूपमा हटेको छैन। सडकमा पुनः पहिरो खसेमा वा अन्य अवरोध देखिएमा यातायात प्रभावित हुन सक्ने प्रशासनले जनाएको छ।

यात्राका क्रममा चालक तथा यात्रुले सडकको अवस्था हेरेर सावधानी अपनाउन र ट्राफिक नियम तथा सडक अनुशासन पालना गर्न प्रशासनले आग्रह गरेको छ।

यात्राका क्रममा तत्काल सहयोग आवश्यक परे नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ वा ०१०–५२१४६४ नम्बरमा पनि सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

Read More

धितोपत्र दलाललाई चार श्रेणीमा बाँड्ने बोर्डको प्रस्ताव

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप व्यवस्थित र क्षमताअनुसार सञ्चालन गर्ने उद्देश्यले नयाँ वर्गीकरणको प्रस्ताव अघि सारेको छ। धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३ को प्रस्तावमा दलाल कम्पनीलाई पूँजी, सेवा क्षमता, जोखिम वहन गर्ने सामर्थ्य र संस्थागत क्षमताका आधारमा चार श्रेणीमा राख्ने व्यवस्था गरिएको छ।

नीतिको मुख्य लक्ष्य सीमित सेवा र व्यक्ति–केन्द्रित सञ्चालनमा रहेका दलाल कम्पनीलाई प्रविधिमा आधारित, सुरक्षित र बहुविध सेवा उपलब्ध गराउन सक्ने बजार मध्यस्थकर्ताका रूपमा विकास गर्नु रहेको छ।

‘क’ श्रेणीले सबैभन्दा धेरै सेवा पाउने

प्रस्तावित संरचनामा ‘क’ श्रेणीका धितोपत्र व्यापारीलाई सबैभन्दा फराकिलो सेवा क्षेत्र उपलब्ध हुनेछ। दलाली तथा आदेश कार्यान्वयनसँगै निक्षेप सेवा, मार्जिन कारोबार, बजार निर्माण, आफ्नै खाताबाट कारोबार, लगानी परामर्श तथा अनुसन्धान, लगानी व्यवस्थापन र प्रत्याभूतिसहित अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी–उधारो तथा छोटो बिक्री गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ।

‘ख’ श्रेणीमा पूर्ण सेवा

‘ख’ श्रेणीका दलालले ग्राहकका आदेश कार्यान्वयन र दलालीबाहेक निक्षेप सेवा, मार्जिन कारोबार, बजार निर्माण, आफ्नै खाताबाट कारोबार, लगानी परामर्श, अनुसन्धान र लगानी व्यवस्थापनलगायतका सेवा दिन सक्नेछन्। अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी–उधारो तथा छोटो बिक्री पनि प्रस्तावित सेवामा छन्।

‘ग’ श्रेणी कारोबारमा केन्द्रित

‘ग’ श्रेणीलाई मुख्य रूपमा कारोबार तथा ग्राहकको आदेश कार्यान्वयनमा केन्द्रित गर्ने प्रस्ताव छ। आवश्यक स्वीकृति लिएपछि यसले निक्षेप, मार्जिन, आफ्नै खाताबाट कारोबार, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी–उधारो र छोटो बिक्रीजस्ता सेवा दिन सक्नेछ। उच्च जोखिमका गतिविधिका लागि भने छुट्टै अनुमति आवश्यक पर्नेछ।

‘घ’ श्रेणीमा विशेष सेवा

‘घ’ श्रेणीका दलाललाई निश्चित प्रकारका सेवामा विशेषज्ञता विकास गर्ने गरी राखिनेछ। ऋणपत्र कारोबार, संस्थागत धितोपत्र दलाली वा बजार निर्माणजस्ता तोकिएका सेवामा केन्द्रित हुने व्यवस्था प्रस्तावित छ। श्रेणीअनुसार पूँजी, प्रवेश मापदण्ड र संस्थागत क्षमता फरक हुनेछन्।

उच्च जोखिमका सेवा सञ्चालन गर्न थप पूँजी, दक्ष जनiशक्ति, प्रविधि तथा जोखिम व्यवस्थापन क्षमता प्रमाणित गर्नुपर्ने प्रस्ताव छ।

ग्राहक सम्पत्ति र जोखिम व्यवस्थापनमा जोड

नीतिले दलाल कम्पनीको पूँजी पर्याप्तता र वित्तीय क्षमता बढाउनुका साथै ग्राहकको रकम तथा धितोपत्र सुरक्षित र छुट्टै राख्ने व्यवस्था बलियो बनाउन खोजेको छ। सुशासन, आन्तरिक नियन्त्रण र जोखिमअनुसार नियमन तथा सुपरिवेक्षणलाई पनि प्राथमिकता दिइएको छ।

मार्जिन कारोबार, धितोपत्र सापटी–उधारो, छोटो बिक्री र अन्तरदिवसीय कारोबार विस्तार गर्दा छुट्टै स्वीकृति तथा जोखिम नियन्त्रणको व्यवस्था लागू गर्ने प्रस्ताव छ।

डिजिटल सेवा र लगानीकर्ता सुरक्षा

लगानीकर्ताको सुरक्षाका लागि गुनासो व्यवस्थापन, लगानीकर्ता क्षतिपूर्ति कोष, ग्राहक पहिचान तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणका उपाय प्रस्ताव गरिएको छ। डिजिटल ग्राहक दर्ता, साइबर सुरक्षा, प्रणाली अवरुद्ध हुँदा सेवा निरन्तरता र जोखिममा आधारित प्रतिवेदन प्रणालीलाई पनि नीतिले समेटेको छ।

दलाल कम्पनी वित्तीय वा सञ्चालनगत समस्यामा परे समयमै हस्तक्षेप गर्ने, सुधार योजना लागू गर्ने र आवश्यक परे व्यवस्थित रूपमा व्यवसायबाट बाहिरिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

तीन चरणमा कार्यान्वयनको प्रस्ताव

नीति कार्यान्वयनलाई तीन चरणमा अघि बढाउने प्रस्ताव छ। पहिलो चरणमा पूँजी, संस्थागत क्षमता, ग्राहक सम्पत्ति सुरक्षा र साइबर सुरक्षा सुदृढ गरिनेछ। दोस्रो चरणमा मार्जिन कारोबार र धितोपत्र सापटीजस्ता सेवा विस्तार गरिनेछ। अन्तिम चरणमा अनुसन्धान, लगानी परामर्श र संस्थागत वित्तीय सेवासहित एकीकृत बजार मध्यस्थता प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ।

विद्यमान धितोपत्र व्यवसायीलाई नयाँ मापदण्ड पूरा गर्न संक्रमणकालीन अवधि उपलब्ध गराउने प्रस्तावसमेत नीतिमा समेटिएको छ।

Read More

बागलुङमा बाढीपहिरोको ठूलो क्षति, १२ जनाको मृत्यु

काठमाडौं। असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले बागलुङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार विपद्मा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। निसीखोला र तमानखोला सबैभन्दा बढी प्रभावित भएका छन्।

प्रशासनको विवरणअनुसार बाढीपहिरोले ६१ घर तथा गोठमा पूर्ण क्षति पुर्‍याएको छ भने थप ५१ घरमा आंशिक क्षति भएको छ। तीन झोलुङ्गे पुल बगेका छन् भने दुई प्रहरी कार्यालयमा क्षति पुगेको छ। दरमखोलाको कटानले गलकोट–९ को वडा कार्यालयसमेत बगाएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार दुई जलविद्युत् आयोजनासहित एक विद्यालय, रिसोर्ट र कृषि फार्ममा क्षति पुगेको छ। विपद्मा २५६ पशुचौपाया तथा २१५ कुखुरा पनि क्षति भएका छन्।

निसीखोलामा बढी क्षति

निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा छन्। चार गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। निसीखोलाका अन्य क्षेत्रमा समेत घर तथा संरचनामा क्षति पुगेको प्रशासनले जनाएको छ।

तमानखोला–३ मा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बडिगाड–९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक क्षतिग्रस्त भएका छन्। ढोरपाटनका वडा नं. ७ र १२ मा चार घर प्रभावित भएका छन् भने तमानखोला–४ मा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

गलकोट–१ फैरसोतमा पाँच घर, दुई होटल/रिसोर्ट र एक गोठमा पूर्ण क्षति पुगेको छ। बागलुङ नगरपालिका र काठेखोलाका विभिन्न क्षेत्रमा पनि घर तथा गोठ प्रभावित भएका छन्।

१२ जनाको मृत्यु, एक बेपत्ता

बाढीपहिरोमा परी ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जनाको मृत्यु भएको छ। तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको प्रहरी प्रमुख फणिन्द्र प्रसाईँले जानकारी दिएका छन्।

निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई नगद, खाद्यान्न र त्रिपाल वितरण गरेको छ। मृतकका परिवारलाई ५० हजार रुपैयाँ, पूर्ण क्षति भएका परिवारलाई ३० हजार रुपैयाँ र आंशिक क्षति भएका परिवारलाई १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

हालसम्म पाँच मृतकका परिवार, पूर्ण क्षति भएका २४ परिवार र आंशिक क्षति भएका २१ परिवारलाई आर्थिक सहयोग दिइएको छ। प्रभावित परिवारलाई चामल र त्रिपालसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

Read More

आजको राशिफल

२०८३ असोज १४ गते (३० सेप्टेम्बर २०२६), बुधबार। आज आश्विन कृष्णपक्ष चतुर्थी तिथि १६:४४ बजेसम्म रहनेछ, त्यसपछि पञ्चमी सुरु हुनेछ। भरणी नक्षत्र बिहान १०:१७ बजेसम्म रहनेछ भने त्यसपछि कृत्तिका नक्षत्र रहनेछ। चन्द्रमा मेष राशिमा रहेर १५:५८ बजेपछि वृष राशिमा प्रवेश गर्नेछ। ग्रह–नक्षत्रको यही अवस्थाका आधारमा आज विभिन्न राशिका जातकको दिनचर्या, कामकाज, आर्थिक पक्ष, सम्बन्ध र निर्णय क्षमतामा फरक प्रभाव देखिन सक्छ। केही राशिका लागि नयाँ अवसर र लाभको बाटो खुल्ने देखिन्छ भने केहीले खर्च, स्वास्थ्य तथा पारिवारिक विषयमा संयम अपनाउनुपर्नेछ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिवारसँगको भेटघाट र रमाइलो वातावरणले दिन उत्साहपूर्ण बनाउनेछ। ज्ञान, कला र व्यक्तित्वमा निखार आउनेछ। नयाँ जिम्मेवारीसँगै आम्दानीको अवसर बढ्नेछ। बुद्धि र अनुभवको सही प्रयोगले लक्ष्यमा पुग्न सकिनेछ। साँझतिर रोकिएको निर्णयले गति लिनेछ।

वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

ठूला खर्चका कारण आर्थिक दबाब बढ्न सक्छ र रकम व्यवस्थापनमा ध्यान दिनुपर्नेछ। टाढिएका साथीभाइसँग सम्पर्क बढ्नेछ भने काममा सकारात्मक संकेत मिल्नेछन्। आजको मिहिनेतले भविष्यमा लाभ दिनेछ। साँझ पारिवारिक भेटघाट र नयाँ योजनाका लागि अनुकूल रहनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

मिहिनेतबाट आम्दानीका नयाँ बाटा खुल्नेछन् र आवश्यक स्रोतसाधन जुट्नेछन्। व्यापार तथा काममा राम्रो प्रगति हुने देखिन्छ। तर साँझतिर खर्च बढ्दा आर्थिक दबाब आउन सक्छ। अनावश्यक खर्च र हतारका निर्णयबाट जोगिनु उचित हुनेछ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रोकिएका काम अघि बढ्दा आत्मविश्वास बढ्नेछ। परिश्रमले लक्ष्यमा पुग्ने अवसर मिल्नेछ। पेसा, व्यापार तथा आर्थिक क्षेत्रमा लाभको सम्भावना छ। साँझ नयाँ आम्दानीको स्रोत भेटिन सक्छ। कृषि, पशुपालन र व्यवसायमा विशेष फाइदा हुनेछ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दिन केही चुनौतीपूर्ण भए पनि सामाजिक जिम्मेवारी र नेतृत्वको अवसर प्राप्त हुनेछ। राम्रो कामबाट प्रतिष्ठा र आर्थिक लाभ मिल्नेछ। निरन्तर प्रयासले लोकप्रियता बढाउनेछ। साँझ दिगो फाइदा दिने जिम्मेवारी हात लाग्ने सम्भावना छ।

कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

अरूका काममा समय दिनुपर्दा आफ्ना योजना प्रभावित हुन सक्छन्। सानातिना समस्या र स्वास्थ्यसम्बन्धी असहजताले ध्यान भंग गर्न सक्छ। व्यवहारमा संयम अपनाउनुहोस्। साँझ आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ, तर अरूले कमजोरीको फाइदा उठाउन सक्ने भएकाले सतर्क रहनु राम्रो हुनेछ।

तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। प्रेम, मित्रता र सामाजिक सम्बन्ध थप मजबुत हुनेछन्। व्यापार–व्यवसायबाट आम्दानी बढ्ने संकेत छ। साँझ काममा केही दबाब आउन सक्छ। स्वास्थ्यका लागि खानपान र दिनचर्यामा ध्यान दिनुहोस्।

बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतिस्पर्धाबीच पनि आवश्यक स्रोत जुटाएर महत्वपूर्ण काम अघि बढाउन सकिनेछ। आफ्नो श्रमको लाभ अरूले लिन नदिन सजग रहनुहोस्। बुद्धिमानीपूर्ण निर्णयले परिस्थिति अनुकूल बनाउनेछ। साँझ व्यापार र आम्दानीमा सुधार आउनेछ। प्रेम तथा मित्रतामा आत्मीयता बढ्नेछ।

धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

काममा केही अन्योल भए पनि अध्ययन र विशेष योजनामा प्रगति हुनेछ। गुरुजनको सुझाव र परिवारको सहयोग उपयोगी बन्नेछ। भौतिक साधन जुट्ने भएकाले नयाँ काम सुरु गर्न सकिनेछ। साहस र निरन्तरताले लाभ दिलाउनेछ। विरोधी पक्षबाट समेत सहयोग मिल्न सक्छ।

मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

समयमै निर्णय नगर्दा काममा जटिलता आउन सक्छ। प्रक्रियागत त्रुटिका कारण काम दोहोरिन सक्ने भएकाले सावधानी अपनाउनुहोस्। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। आफन्तसँगको दूरी घट्नेछ। साँझ स्वास्थ्यमा कमजोरी देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोस्।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न कामका अवसर प्राप्त हुनेछन् र पेसा–व्यवसायमा राम्रो प्रतिफल मिल्नेछ। मेहनतअनुसार उपलब्धि हासिल हुनेछ। साँझ घरायसी विषयले केही तनाव दिन सक्छ। आफन्तसँग दूरी बढ्न नदिन संवादमा ध्यान दिनुहोस्। भूमि तथा पशुधनबाट लाभ मिल्ने संकेत छ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

बौद्धिक तथा सिर्जनात्मक कामका लागि दिन अनुकूल छ। रोकिएका काम अघि बढ्नेछन् र आम्दानीमा सुधार आउनेछ। सहयोगीको साथले योजना सफल बनाउन मद्दत गर्नेछ। साँझ जिम्मेवारी र आर्थिक लाभका नयाँ अवसर आउन सक्छन्। उद्योग तथा व्यापारमा राम्रो प्रगति हुनेछ।

Read More