काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा चीनको राजधानी बेइजिङ पुगेका परराष्ट्रमन्त्री शिशिर खनाललाई नेपाली दूतावासले औपचारिक स्वागत गरेको छ।
बेइजिङ पुगेपछि दूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुँदै मन्त्री खनालले त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए। कार्यक्रममा उनले सुशासन सुदृढीकरण, आर्थिक समृद्धि र विकास सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै राष्ट्र निर्माणमा सबै नेपालीको सक्रिय भूमिका आवश्यक रहेको बताए।
परराष्ट्रमन्त्री खनालले विदेशमा रहेका नेपाली समुदायलाई नेपालसँगको सम्बन्ध अझ मजबुत बनाउँदै देश विकासको अभियानमा योगदान दिन आग्रह गरे। “राष्ट्र निर्माण सबै नेपालीको साझा जिम्मेवारी हो,” उनले भने।
कार्यक्रमका क्रममा उनले नेपाली दूतावास परिसरमा वृक्षारोपणसमेत गरेका थिए। साथै, दूतावासको वर्तमान कार्यसम्पादन, सेवा प्रवाह र प्राथमिकताबारे कार्यवाहक राजदूत तथा अन्य अधिकारीहरूबाट जानकारी लिएका थिए।
मन्त्री खनालले चीनमा रहेका नेपाली नागरिकलाई प्रभावकारी, छिटो र सहज सेवा उपलब्ध गराउन दूतावासलाई थप सक्रिय हुन निर्देशन दिएका छन्।
बेइजिङ विमानस्थलमा उनलाई बेइजिङस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।




