काठमाडौँ । ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको चरम लापरबाहीले २१ वर्षीया युवतीको ज्यान गएको छ। सुरक्षा डोरी नै नबाँधी जम्प गराइएकी ती युवती गहिरो खोँचमा खसेपछि घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार मारिया एडुआर्डा रोड्रिग्स डी फ्रेटास नामकी युवती एक निजी कम्पनीद्वारा सञ्चालन गरिएको साहसिक खेल गतिविधिमा सहभागी भएकी थिइन्। उनलाई साओ पाउलोस्थित ‘स्केलेटन ब्रिज’ बाट करिब १३० फिटभन्दा बढी गहिरो खोँचमा जम्प गराइएको थियो।
घटनाबारे सार्वजनिक भिडियोमा कर्मचारीहरूले उनलाई पुलको किनारमा ल्याएर तल खसालेको देखिन्छ। तर जम्पपछि मात्र त्यहाँ उपस्थित व्यक्तिहरूले उनीलाई सुरक्षा डोरी नबाँधिएको थाहा पाएका थिए। भिडियोमा मानिसहरू “रोप, रोप” भन्दै चिच्याइरहेको सुनिए पनि त्यतिबेला निकै ढिला भइसकेको थियो।
घटनापछि ब्राजिल प्रहरीले अनुसन्धान अघि बढाउँदै प्रारम्भिक चरणमा ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। सुरक्षा प्रक्रियामा भएको गम्भीर त्रुटि र लापरबाहीबारे विस्तृत छानबिन भइरहेको बताइएको छ।
दुर्घटनाभन्दा केही समयअघि मारियाले सामाजिक सञ्जालमा उक्त स्थानका तस्बिरहरू पोस्ट गरेकी थिइन्। एक तस्बिरमा उनले जम्पिङ रिस्टब्यान्डसहित पुलको दृश्य सेयर गर्दै “आखिर कुन पागल मानिसले मलाई यहाँसम्म ल्यायो” भन्दै ठट्टा समेत गरेकी थिइन्।
रिपोर्टअनुसार घटनाका बेला उनका हुनेवाला पति पनि त्यहीँ उपस्थित थिए। दुर्घटनापछि उनी मानसिक रूपमा गहिरो आघातमा परेका र स्वास्थ्य अवस्था बिग्रिएपछि उपचार गरिएको बताइएको छ।
यो घटनाले साहसिक खेलमा सुरक्षा मापदण्डको गम्भीर प्रश्न उठाएको छ।




