काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्ने उद्देश्यले सुन्दरीजल क्षेत्रमा १८ सय मिलिमिटर व्यासका पाइप बिछ्याउने कार्य सुरु गरिएको छ।
आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का अनुसार खानेपानी वितरणका लागि प्रयोग गरिने यो हालसम्मकै सबैभन्दा ठूलो व्यासको पाइप हो।
निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी र पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारको प्रक्रिया अघि बढाइएको छ। पाँच क्षेत्रका लागि बोलपत्र आह्वान भइसकेको र अन्य प्रक्रिया पनि चाँडै सुरु हुने उनले बताए।
मेलम्चीको पानी उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन दिन तथा रात दुवै सिफ्टमा काम भइरहेको निर्देशनालयले जनाएको छ। हाल विभिन्न स्थानमा रिजर्भ ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा अगाडि बढिरहेका छन्।
पाइपलाइन परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई हस्तान्तरण गरिनेछ। प्रणाली हस्तान्तरणपछि उपत्यकावासीका घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण हुने अपेक्षा गरिएको इन्जिनियर श्रेष्ठले बताए।




