काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडाले कतारलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले सुरुदेखि नै दबाब कायम राख्दै एकपक्षीय जित दर्ता गरेको हो।
क्यानडाले खेलको १६औँ मिनेटमा साइले लारिनको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि २९औँ मिनेटमा जोनाथन डेभिडले गोल थप्दै टोलीको अग्रता २–० मा पुर्याए। कतारका हमाम अहमद ३३औँ मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।
संख्यात्मक रूपमा कमजोर बनेको कतारमाथि क्यानडाले थप दबाब सिर्जना गर्यो। पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को सहज अग्रता दिलाए।
दोस्रो हाफमा पनि कतारको अवस्था झन् कठिन बन्यो। ५१औँ मिनेटमा असिम माडिबोले रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा झर्यो। त्यसको फाइदा उठाउँदै क्यानडाले आक्रमणलाई निरन्तरता दियो र ६४औँ मिनेटमा नाथनले गोल गर्दै अग्रता ४–० मा विस्तार गरे।
खेलको ७५औँ मिनेटमा कतारका मोहम्मद मनाईबाट आत्मघाती गोल भएपछि क्यानडाको अग्रता ५–० पुगेको थियो। दोस्रो हाफको इन्जुरी समयमा जोनाथन डेभिडले आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीको जितलाई ६–० मा पुर्याए।
डेभिडको ह्याट्रिक र कतारका दुई खेलाडीको रातो कार्डले प्रभावित बनेको खेलमा क्यानडाले उत्कृष्ट आक्रामक प्रदर्शन गर्दै प्रतियोगितामा महत्वपूर्ण जित हात पारेको छ।




