काठमाडौं । नेपालको सबैभन्दा लामो तथा ऐतिहासिक सांस्कृतिक–धार्मिक पर्वमध्ये एक मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार भोटो देखाउने परम्परासँगै औपचारिक रूपमा सम्पन्न हुने भएको छ। करिब १,६०० वर्ष पुरानो मानिने यस जात्राको अन्तिम कार्यक्रम जावलाखेलस्थित ललित मण्डपमा आयोजना गरिने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो प्रदर्शन गरिने कार्यक्रम तय गरिएको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि सर्वसाधारण, भक्तजन तथा विशिष्ट अतिथिहरूका लागि भोटो प्रदर्शन गरिनेछ।
वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्राका क्रममा रातो मच्छिन्द्रनाथको प्रतिमालाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटीलगायतका क्षेत्र हुँदै जावलाखेल पुर्याइएको थियो। परम्पराअनुसार रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाउने जात्रा आयोजना गरिन्छ।
संस्कृतिविद्हरूका अनुसार वर्षा, कृषि समृद्धि र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन सांस्कृतिक सम्पदामध्ये एक महत्वपूर्ण पर्व हो। राजतन्त्रकालमा राजा स्वयं सहभागी हुने यस समारोहमा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले राष्ट्र प्रमुखका रूपमा सहभागिता जनाउँदै आएका छन्।
भोटो देखाउने कार्यक्रम सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको प्रतिमालाई परम्परागत कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहाल लगिने चलन रहेको छ। त्यहाँ प्रतिमालाई पुनः विराजमान गराइएपछि यस वर्षको जात्रा पूर्ण रूपमा सम्पन्न भएको मानिनेछ।
आयोजक पक्षले यस वर्षको रथयात्रा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाएको छ। साथै भोटो जात्रामा सहभागी हुने भक्तजन तथा दर्शकलाई सुरक्षा व्यवस्थामा सहयोग गर्न र जावलाखेल क्षेत्रलाई व्यवस्थित राख्न सार्वजनिक स्थल तथा फुटपाथमा अनधिकृत व्यापार नगर्न आग्रह गरिएको छ।




