२०८३ असार ५

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै प्रकाशित गर्‍यो परीक्षा बोर्डले

काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले परीक्षा सम्पन्न भएको ३५ दिनभित्रै नतिजा प्रकाशन गर्दै यस वर्षको नतिजा प्रक्रिया सम्पन्न गरेको हो।

गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ४ लाख १८ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए। बोर्डका अनुसार नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए।

परीक्षामा सहभागी नियमिततर्फका विद्यार्थीमध्ये १ लाख ७२ हजार १२ जना छात्र, १ लाख ६० हजार १३७ जना छात्रा तथा अन्य लिङ्ग पहिचान भएका २९० जना परीक्षार्थी रहेका थिए।

बोर्डले नतिजा हेर्नका लागि विद्यार्थीलाई आधिकारिक वेबसाइट https://result.neb.gov.np मार्फत विवरण प्रविष्ट गर्न सकिने जनाएको छ। साथै, एसएमएस सेवा तथा विभिन्न अनलाइन पोर्टलमार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ।

विद्यार्थीले आफ्नो सिम्बोल नम्बर प्रयोग गरी नतिजा हेर्न सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ।